+
+

काठमाडौंमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरू

रासस रासस
२०८० मंसिर १६ गते १०:१८

१६ मंसिर, काठमाडौं । काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा कूल ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे ।

उक्त समारोहमा उनले कलाले मुलुकको पहिचान विश्वसामु पुर्याउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु जरुरी रहेको बताए । मन्त्री लिम्बूले कला क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले निजी क्षेत्रबाट ३९ देशका कलाकार र उनीहरुका कृति समेटेर कला प्रदर्शनीसहित महोत्सव गर्नु आफैँमा नमूना कार्य भएको बताए ।

कार्यक्रममा भारतबाट आएका मास्टर्स आर्टिष्ट एवम् अन्तरराष्ट्रिय जलरङ समाजका उपाध्यक्ष अमित कपुरले कला सिर्जनाकै लागि आफू पटकपटक नेपाल आएको र यहाँको सुन्दरताले आफूलाई लोभ्याएको बताए ।

कार्यक्रममा कला समीक्षक रमेश खनाल, मदन चित्रकार, अन्तरराष्ट्रिय जलरङ समाजका कोषाध्यक्ष, भीम श्रेष्ठ, महासचिव दीपेन्द्रमान बनेपाली लगायतले कलाको महत्वबारे प्रकाश पारेका थिए ।

पत्रकार ढुङ्गाना पुरस्कृत

कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिएको थियो ।

यस्तै राससकर्मी नारायण ढुङ्गानालाई रु १० हजार राशिसहित अन्तरराष्ट्रिय जलरङ पत्रकारिता अवार्डबाट सम्मान गरिएको थियो । जलरङको माध्यामबाट कला सृजनाको विकासमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै ढुङ्गानालाई पुरस्कृत गरिएको कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए ।

सो क्रममा वाटरकलर ‘योङ आर्टिष्ट अवार्ड’बाट जीवन पौडेल र ‘इन्टरनेसनल आर्ट प्रमोसनल अवार्ड’बाट चर्चित श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागी कलाकारहरुको चित्र प्रतिस्पर्धाबाट म्यान्माका कलाकार मयन्ट नइङलाई तीन सय डलरसहित स्वर्ण अवार्डबाट पुरस्कृत गरिएको छ भने एक सय ५० डलरसहित भारतका सिलम्ब्रासन के लाई कास्य अवार्ड प्रदान गरिएको छ । यस्तै बङ्गलादेशका अरिफर रहमान टोप्पु, मेक्सिकोका बेत्रिज एएचअर्टेजा र नेपालका थमन सिंह सुनारलाई उत्कृष्ट अन्तर्राष्ट्रिय वाटरकलर अवार्ड प्रदान गरिएको छ ।

बबरमहलमा मास्टर र अतिथि कलाकारबाट कला डेमोस्ट्रेसन भइरहेको छ । कार्यक्रममा झन्डै विदेशीसहित दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहेको छ ।

जलरङ महोत्सवअन्तर्गत काठमाडौं,  ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारहरुलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गराई कला सिर्जना गराइने छ ।

धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्रहरु जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवर्द्धननमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको आयोजक अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले बताए ।

यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभिन्न क्षेत्रमा यसैगरी कार्यक्रम गरिसकेएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?