+
+

ओम्नी प्रकरणको पुनः छानबिन गर्दै लेखा समिति, स्वास्थ्यसँग माग्यो विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १६:०७
सार्वजनिक लेखा समितिको फाइल तस्वीर ।

१९ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग गरेको छ ।

समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि अध्ययन गरिरहेको छ । सोही क्रममा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको सचिव एकराम गिरीले जानकारी दिए ।

पत्रमा यथाशीघ्र विवरण उपलब्ध गराउनू भने पनि स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको समिति सचिवालयले जनाएको छ । नेपालमा कोरोना महामारी फैलिन नदिन २०७६ साल चैतमा सरकारले लकडाउन गरेको थियो ।

त्यही बेला सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो । तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफलसमेत गरेको थियो । तर टुंगोमा पुगेको थिएन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिद प्रक्रिया कानुनविपरीत भएको प्रतिवेदन समेत दिएको थियो । लेखा समितिले ३ पुस २०७७ मा ओम्नी प्रकरणमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।

२०७९ मंसिरको चुनावपछि गठन भएको संसदको सार्वजनिक लेखा समितिले यो विषयमा पुनः छलफल अघि बढाउन खोजेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?