
पाइतलालाई सोध्छु
कता डोर्याउँदै छस्
खिसिक्क हाँस्छ छाती
आँखा अल्मलिएको देखेर
एक झोक्का हावा चल्छ
यत्तिकै खस्छ र फुट्छ
पर्खालको डिलबाट ।
भोड्काको खाली सिसी
रित्तिएको सिसीमा आँसु हुँदैन
शिकारीको जालोमा कठै एउटा सुँगा
अरु सबै उडेर जान्छन् ।
बथानमा उसका
आमा, बा, काका, मामा
थिए कि थिएनन् कुन्नि
ठुँड उद्याएर ठुँग्न चाहिं आएनन् ।
मन ओछ्याउन
अनेक छ
शक्तिको रंगमञ्चमा
चलिरहन्छन् केही चलचित्रहरू
ब्ल्याक एण्ड ह्वाइटबाट थ्रीडी
निचोरिएको कागतीले
सिङ्गो डल्लो भएको सम्झ्यो
पत्रिका छापिएकै छन्
अक्षरका थुप्राहरूमा
युद्धभूमिका भग्नावषेश गुटमुटाएर
इच्छाविहीन मस्तिष्कमा
इतिहासको लामो पाठको के काम
समयको अनन्त सीमामा
हराउने एक दिनको पर्खाइमा
पर्खनुको कुनै मकसद छैन
केवल छ
इच्छाविहीन जिन्दगी
एक आदिम पहाडमा
आँखा मिच्दै
चियाउँदै
फुङ्ग-फुङ्ग उड्ने धुलोभित्र ।
म्याग्दे -६, तनहुँ
प्रतिक्रिया 4