
२१ मंसिर काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि तथा बास्कोटा कृषि तथा पशुपालन प्रालिका राजेश बास्कोटाले बैंकविरुद्ध गलत प्रचार गरेको बताएको छ ।
बिहीबार बैंकले एक विज्ञप्ति जारी गर्दै बास्कोटाको दुईवटा कर्जामध्ये एउटा कर्जा पूर्ण रुपमा प्रवाह भइसकेको जनाएको छ । साथै अर्को कर्जा परियोजना आधारित रहेको र आंशिक प्रवाह भएको अवस्थामा कर्जाको सर्तअनुसार ऋणीको परियोजनाको प्रगति नभएकोले स्वीकृत गर्दाका सर्तअनुसार नै थप कर्जा नभएको बैंकले जनाएको छ ।
राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिंदै आएको अनुदान रकमबाट वञ्चित गरिएको आरोप लगाएका थिए । उनले बैंकले व्यावसाय नै बन्द गराएको आरोप लगाउँदै १९ मंसिरमा फेसबुकमा निवेदन राखेका छन् ।
‘नेपाल इन्भेष्टमेन्ट बैंकको गलत नीति व्यवसायको कारण व्यवसाय पूर्ण रुपमा क्षति हुनुका साथै परिवारमा समस्या उत्पन्न गराइएको छ,’ उनले फेसबुकमा यस्तो व्यहोरा लेख्दै धम्कीपूर्ण शब्दहरु पोस्ट गरेका छन् ।
बैंकविरुद्ध विभिन्न आरोप लगाएपछि बैंकले भने बास्कोटाले लगाएको आरोप झुटो भएको भन्दै विज्ञप्ति जारी गरेको हो । ‘बैंकविरुद्ध प्रचारबाजी गर्दै, बैंकको कर्मचारीहरुलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमा नै गई अपहरणको शैलीमा उठाएर लग्ने, गालीगलौज तथा अपशब्द बोल्दै मानहानि गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरी देशको अत्यावश्यकीय सेवा अन्तर्गत राखेको बैंकिङ सेवा प्रवाहमा नै अवरोध पुर्याउने जस्ता कार्य गरेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ बैंकले भनेको छ ।
बैंकले बास्कोटाको दुईवटा ऋणको वास्तविकता समेत प्रष्ट्याउन खोजेको छ । बास्कोटाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि र बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा बैंक नेपाल)बाट विभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको बैंकले जनाएको छ । जसमध्ये बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भइसकेको बैंकको दाबी छ ।
भीरपाखा रिसोर्ट एण्ड फनपार्कको नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने सर्त रहेको बैंकले जनाएको छ । सोही अनुसार ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भइसकेको र बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुँदा रोकिएको बैंकले प्रष्ट पारेको छ ।
ऋणी बास्कोटाले बैंकले कर्जा स्वीकृत गरेर चार महिनासम्म कर्जा प्रवाह नभई किस्ता असुल गर्न थप कर्जा दिएको आरोपमा सत्यता नभएको बैंकको भनाइ छ । ‘ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजात बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा प्रवाह गर्न सुरु भएको हो । स्वीकृत गरे अनुसार कर्जा प्रवाहको सम्बन्धमा फनपार्कको हकमा ऋण स्वीकृति पत्रमा उल्लेखित भए अनुसार ऋणीलाई आंशिक रुपमा कर्जा प्रवाह भइसकेको छ । र, बाँकी कर्जा परियोजनाको प्रगति नभएपश्चात प्रवाह हुन नसकेको हो,’ बैंकले भनेको छ ।
कृषिको कर्जा नियमित नहुँदा ब्याज अनुदान काटियो
बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा सहुलियतपूर्ण कर्जा स्वीकृत भएको बैंकले जनाएको छ । तर नेपाल राष्ट्र बैंकको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि बमोजिम कर्जा स्वीकृत भएको तथा सोही कार्यविधिमा उल्लेखित व्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने व्यवस्था रहेको छ ।
सोही अनुसार ऋणीले किस्ता भुक्तानी नगर्दा ब्याज अनुदान काटिएको बैंकले स्पष्ट पारेको छ । ‘ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुन्छ,’ बैंकले विज्ञप्तिमा भनेको छ, ‘सोही बमोजिम ऋणीले उल्लेखित कार्यविधि बमोजिम ब्याज अनुदान रकम बाहेकको रकम चुक्ता भुक्तान नगरेपश्चात ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य नभएको अवस्था हो ।’
ऋणीले प्रचारबाजी गरे अनुरुप बैंकले स्वीकृत गरे अनुसारको कर्जा प्रवाह नहुँदा व्यवसाय बन्द भएको भन्ने आरोप झुटो भएको बैंकको दाबी छ । बास्कोटाको श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा स्वीकृत भए अनुरुप सम्पूर्ण कर्जा सुविधाको सीमा प्रवाह भइसकेको तर बैंकका प्रतिनिधिले व्यवसायको निरीक्षण गर्दा व्यवसाय अस्तित्वमा नै नरहेको पाइएको बैंकको दाबी छ ।
सोही कारण ऋणी खराब कर्जा अन्तर्गत समेत वर्गीकरण भइसकेको बैंकले बताएको छ । त्यति हुँदाहुँदै व्यवसाय सञ्चालनमा नरहेको तथा निर्माण भएका संरचनाहरु समेत जीर्ण हुन लागिसकेको अवस्थाले भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालिलाई पुनरुत्थान गर्न तत्काल व्यवसाय सञ्चालन गर्ने सर्तमा बैंकले हालै पेश्कीसहित केही कर्जा सुविधा चरणवद्ध रुपमा प्रवाह हुने गरी ऋण स्वीकृति पत्र जारी गरेको बैंकको दाबी छ । तर ऋणीले आवश्यक कानुनी कागजात पूरा नगरी अनावश्यक रुपमा सामाजिक सञ्जालमा बैंकविरुद्ध प्रचारबाजी गर्दै बैंकको कर्मचारीलाई निजी निवासबाटै अपहरण गर्ने जस्ता धम्कीको बैंकले भर्त्सना गरेको छ । ‘ऋणीको वास्तविक नियत आफ्नो व्यवसायको पुनरुत्थान गर्नेभन्दा पनि अन्य स्वार्थ पूर्ति गर्ने उद्धेश्यले प्रेरित रहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
ऋणी र बैंकबीच १९ भदौमा भद्र सहमतिसमेत भएको थियो । बैंकका अनुसार नियामकको नियमभित्र रही ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता जनाएर ऋणीले समेत सहमति जनाइसकेको जनाएको छ । त्यही पनि ऋणीले आफ्नो मनोमानी ढंगले बैंकलाई आफूले भनेजति कर्जा दिन दबाब दिने उद्देश्यले ऋणीले परियोजना आफ्नो योजना अनुरुप सञ्चालन गर्न नसकेपछि ऋणी आपू स्वयंको गल्ती तथा कमजोरी ढाकछोप गर्न पुनः सामाजिक सञ्जालहरुमा बैंक तथा बैंकका कर्मचारीका विरुद्ध विभिन्न नकारात्मक अभिव्यक्ति दिएकोमा बैंकले आपत्ति जनाएको छ ।
प्रतिक्रिया 4