+
+

आगलागीमा ३ जनाको मृत्यु भएपछि महानगरले भन्यो- कवाडी व्यवसायका लागि ठाउँ तोक्छौं

हरि अधिकारी हरि अधिकारी
२०८० मंसिर २१ गते १९:५२

२१ मंसिर, विराटनगर । विराटनगरको मुख्यबजारमा रहेको कवाडी पसलमा आगलागी भएर ३ जनाको मृत्यु भएपछि महानगरपालिकाले कवाडी पसल नियमन गर्ने भएको छ । बुधबार दिउँसो कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ३ जना गम्भीर घाइतेको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

मुख्यबजार सातघुम्तीस्थित कवाडी पसलमा आगलागी घटनाको भोलिपल्ट बिहीबार विराटनगर महानगरपालिकाले विज्ञप्ति जारी गर्दै कवाडी पसल र गोदाम घर राख्नका लागि निश्चित स्थान तोक्ने बताएको छ ।

मेयर नागेश कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘भविष्यमा यस्ता विपद नआओस् भनेर महानगरपालिका गम्भीर छ, त्यसका लागि महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिनेछ ।’

संवेदनशील व्यवसायको सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गरिने पनि उनको भनाइ छ ।

कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाउनेको परिवारलाई महानगरपालिकाले जनही १ लाख रुपैयाँ दिने भएको छ । त्यस्तै घाइतेको उपचारका लागि जनही ५० हजार रुपैयाँ दिने मेयर कोइरालाले बताए ।

विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डल र कामतको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनामा घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रीता सरदार, ६५ वर्षीया सुनिता कामत र कटहरी–६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधबार साँझ काठमाडौं लगिएको थियो । सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको थियो ।

दमकल ढिलो आएको भन्दै प्रदर्शन

सातघुम्तीमा भएको आगलागीमा महानगरपालिकाको दमकल ढिलो आएको भन्दै बिहीबार युवाहरूको समूहले महानगरपालिका अगाडि प्रदर्शन गरेको छ । मेयर कोइरालाविरूद्ध युवाहरूको समूहले महानगर अगाडि प्रदर्शन गरेको हो । महानगरले भने समयमा नै दमकल गएको दाबी गरेको छ ।

प्रदर्शन गर्ने समूहले समाचार संकलनका लागि पुगेका पत्रकार प्रेम देवानमाथि आक्रमण गरेको थियो । माओवादी केन्द्र निकट वाइसिएलका कार्यकर्ताले आवर विराटनगर डटनेटका पत्रकार देवानमाथि आक्रमण गरेको हो । पत्रकार देवानमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ र पत्रकार सम्वद्ध संघ संस्थाले आपत्ति जनाएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?