२२ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक सी डिभिजन लिग आगामी फागुन १५ गतेदेखि आयोजना गर्ने भएको छ ।
बुधबार सी डिभिजनका क्लबहरुसँगको छलफलपछि एन्फा फागुन १५ देखि सी डिभिजन आयोजना गर्ने निर्णय गरेको हो ।
एन्फाले सी डिभिजन लिगलाई उपत्यका बाहिर लगेर सञ्चालन गर्ने तयारी समेत गरेको छ । तर कुन ठाउँमा र कुन मैदानमा गर्ने भन्ने निर्णय भइसकेको छैन ।
‘हामीले सबै सम्भावनाको खोजी गर्ने विकल्प सहित उपत्यका बाहिर लैजाने कि भनेर क्लबहरुसँग पनि कुरा राखेका छौँ । उहाँहरु सकरात्मक हुनुभएको छ’, एन्फा प्रवक्ता सुरेश शाहले अनलाइनखबरसँग भने, ‘खेल्नका लागि वातावरण भयो भने जाने भन्ने विषयमा छलफल भएको छ । तर अन्तिम निर्णय भएको छैन ।’
उपत्यका बाहिर लिग गर्नका लागि खेल्ने, प्रशिक्षण गर्ने बस्ने सबै कुराको राम्रो व्यवस्था हुनुपर्ने शाहले बताए । ‘बाहिर गर्नका लागि मैदान मापदण्ड अनुसार हुनुपर्छ । खेलाडीहरुलाई प्रशिक्षण गर्ने उहीँ बस्ने स्थान पनि मिल्नुपर्छ । त्यसैको लागि तयारी गरिरहेका छौँ । केही दिनभित्रै यसबारेमा निर्णय हुन्छ ।’
यस्तै सी डिभिजन क्लबहरुसँगको छलफलमा क्लब लाइन्सेन नियम लागु गर्ने विषयमा पनि छलफल भएको थियो ।
गत वर्ष ए डिभिजन लिग आयोजना गरेपनि एन्फाले बी र सी डिभिजन लिग आयोजना गर्न सकेको थिएन । पछिल्लो पटक सी डिभिजन लिग २०७९ जेठमा सम्पन्न भएको थियो । जसमा झापा एफसी च्याम्पियन बनेको थियो । झापासँगै प्लानिङ ब्वाइज सी बाट बी डिभिजनमा बढुवा भएका थिए । हाल सी डिभिजनमा १४ क्लब छन् ।
केही दिनअघि बी डिभिजन लिगका क्लबहरुसँग पनि एन्फाले छलफल गरेको थियो । तर बी डिभिजन लिग सुरु गर्ने मिति भने निर्णय हुन सकेन ।
एन्फा प्रवक्ता शाहले बी डिभिजन क्लबहरुसँग पहिलो चरणको छलफल भएको र फेरि एक पटक छलफल गरेर मिति टुङ्ग्याउने बताए ।
उनले सी डिभिजन लिग काठमाडौं वा उपत्यका बाहिर जता भए पनि फागुन १५ देखि नै हुने बताए । साथै बी डिभिजन लिग त्यसअघि नै सुरु गर्ने सम्भावना रहेको समेत बताए ।
अहिले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) २०२३ भइरहेको छ । एनएसएल आगामी पुष १४ गते सकिनेछ ।
त्यसपछि बीचमा दुई महिनाको समय खाली हुनेछ ।
प्रतिक्रिया 4