
भारतमा लामो समयदेखि नेपालीहरू गएर काम गर्ने र बसोबास गर्ने गरिरहेका छन् । सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि अनुसार नेपालीले भारतमा बसोबास, नोकरी तथा व्यवसाय गर्न पाउँछन् । उनीहरूले यहाँ आधार कार्ड बनाउन पाउँछन्, बैंकमा खाता खोल्न पाउँछन् । त्यति मात्रै होइन, नेपालीहरूले भारतमा जग्गा किन्न पनि पाउँछन् । त्यो सुविधा भारत सरकारले दिएको छ ।
भारतीयहरूले नेपालमा गएर घरजग्गा जस्ता अचल सम्पत्ति खरिद–बिक्री गर्न पाउँदैनन् । नागरिकता लिन पाउँदैनन् । उनीहरूले नेपालमा काम र व्यवसाय गर्न पाउँछन् । तर, नेपालीले भने नागरिकता बाहेक घरजग्गा खरिद–बिक्री लगायत अन्य सबै आर्थिक र सांस्कृतिक अधिकार भारतमा पाउँछन् । त्यस हिसाबले नेपालीलाई भारतमा विशेष सुविधा छ ।
दुई मुलुकबीचको यस किसिमको सन्धिका कारणले पनि नेपालीलाई भारतमा काम, व्यवसाय गर्न सजिलो छ । तर, इतिहासलाई हेर्ने हो भने भारतमा नेपाली भन्ने बित्तिकै मजदुरी गर्ने, सुरक्षा गार्डको काम गर्ने तथा अन्य श्रममूलक काम गर्नेहरू हुन् भन्ने छवि थियो ।
तर, पछिल्लो १५ देखि २० वर्षयता भने नेपालीको स्तर र पहिचानमा धेरै परिवर्तन आएको छ । ३०–४० वर्षअघिदेखि भारतमा आएर काम गरेर नेपाल फर्कन चाहने नेपालीहरू पनि यही अवधिमा फर्किए । उनीहरूमध्ये कोही नेपाल नै गए, कोही तेस्रो मुलुक गए । कोही–कोही अवकाश पाएर भारतमै पनि बसेका छन् ।
तर, अहिले जो भारतमा बसिरहेका छन्, उनीहरूले भने उद्यमशीलता तथा रोजगारीमा निकै राम्रो प्रगति गरिरहेका छन् । भारतमा आएका नेपालीहरूको दोस्रो तथा तेस्रो पुस्ताले पनि काम गर्न थालिसकेका छन् ।
उनीहरूले अहिलेका नयाँ क्षेत्रहरूमा लगानी गरेका छन् । रोजगारीका दृष्टिले पनि सीपयुक्त र आकर्षक मानिने कर्पोरेट क्षेत्रमा उनीहरू काम गरिरहेका छन् । मिहिनेती र इमानदार पनि भएको हुनाले भारतमा नेपालीले रोजगारी वा व्यवसाय जे गरे पनि विश्वास जित्ने गर्दछन् । र, उनीहरूले चाँडै प्रगति गर्ने गरेको देखिएको छ ।
व्यवसाय गर्नेहरूको संख्या पछिल्लो समय बढेर गएको छ । खासगरी होटल तथा रेस्टुरेन्ट जस्ता कर्पोरेट क्षेत्रमा लगानी गर्ने नेपालीको संख्या निकै धेरै पुगेको छ । नेपालको रैथाने खाना मोमो भारतमा ठेलामादेखि ब्रान्डिङ गरी ठूला–ठूला आउटलेटहरूमा पनि बिक्री गरिन्छ ।
लजिस्टिक तथा कार्गो, इभेन्ट, गार्मेन्ट, माइन्स, आर्किटेक्ट लगायत व्यवसायमा नेपालीले ठूलो स्केलमा काम गरिरहेका छन् । भारतमा २७ विधाका व्यवसायमा नेपालीले लगानी गरेको एभरेष्ट चेम्बर अफ कमर्सको अध्ययनले देखाएको छ । त्यसमध्ये सबैभन्दा धेरै हस्पिटालिटी क्षेत्रमा छ ।
आसाम, मेघालय, त्रिपुरा, मिजोरम, दार्जीलिङ, देहरादुन, दिल्ली एनसीआर, महाराष्ट्र तथा दक्षिण भारतमा पनि नेपालीले काम गरिरहेका छन् । कन्याकुमारीदेखि काश्मिरसम्म नेपालीको उपस्थिति छ । उत्तराखण्डतिर केही मजदुरी पनि गरिरहेका छन् । तर, ठूला शहरहरूमा बस्नेहरूले जीवनस्तरमा निकै नै प्रगति गरेको हामीले देखेका छौं ।
पहिला नेपालीले खानीमा मजदुरी गर्थे, अहिले आफ्नै खानी चलाएका छन् । पहिला होटलमा खाना बनाउने र भाँडा माझ्ने काम गर्थे, अहिले आफ्नै होटल चलाएका छन् । पहिला सुरक्षा गार्ड र वाचम्यानको काम गर्थे, अहिले सेक्युरिटी कम्पनी चलाएका छन् । यसरी विगतमा ‘बहादुर’ र ‘दरबान’का रूपमा रहेको नेपालीको छवि विस्तारै उद्यमीका रूपमा परिवर्तन भइरहेको छ ।
अहिले नेपालीले पाँच अर्ब भारतीय रुपैयाँभन्दा बढी वार्षिक कारोबार हुने व्यवसायसम्म चलाएका छन् । नेपालीका एउटै कम्पनीले हजारौंलाई रोजगारी दिएको छ । उदाहरणका लागि कोलकाताबाट सुरु भएको वाउ मोमो, मुम्बईमा कृष्ण तामाङजीहरूले चलाएको चाइनागेट रेस्टुरेन्ट भारतमा नेपालीका ठूला कम्पनीहरू हुन् । नेपाली उद्यमी व्यवसायीले सम्भव भएसम्म नेपालीलाई नै रोजगारी दिएका छन् ।
नेपालबाट आएर काम गर्नेहरूलाई भारतका जनता र सरकारले पनि धेरै नै माया र सम्मान गर्ने गरेको पाइएको छ । तर, भारतमा व्यवसाय गर्ने तथा काम गर्ने नेपालीलाई नेपाल सरकारले नै विभेद गरेको छ । तेस्रो मुलुकमा बस्ने नेपालीलाई सरकारले गैरआवासीय नेपालीका रूपमा अनेकन् सुविधा दिएको छ । अब त दोहोरो नागरिकता समेत दिन थालेको छ । अनि लगानीकर्तालाई विभिन्न अवसर दिने गरेको छ ।
जबकि भारतमा काम गर्ने नेपालीले नेपालमा धेरै रेमिट्यान्स पठाउँछन् । उनीहरूले सबैभन्दा धेरै लगानी गर्न सक्छन् । तर, उनीहरूलाई नेपाल सरकारले कुनै पनि सुविधा दिएको छैन । कुनै प्रोत्साहनका कार्यक्रम छैनन् । भारतमा बस्ने नेपालीलाई सरकारले ‘सौताको छोरो’ जस्तो व्यवहार गरेको छ ।
त्यसले गर्दा भारतमा राम्रो काम गरिरहेका नेपालीले आफ्नो देशमा गएर लगानी गर्न सक्ने अवस्था छैन । सरकार मात्रै होइन, नेपालका राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू पनि भारतमा बस्ने नेपालीहरूप्रति हेपाहा प्रवृत्ति देखाइरहेका छन् ।
नेपालमा गएर कसैले केही काम थाल्यो भने उसको कलकारखाना बन्द गराउने, चन्दा माग्ने गरेर आतंकित बनाइने गरेको छ । त्यसो हुँदा नेपालमा गएर लगानी गर्न थालेका धेरैले आफ्नो उद्यम–व्यवसाय बन्द गरिसकेका छन् ।
नेपालको वस्तुस्थिति र परिस्थिति बुझ्ने भारतमा भएका नेपालीले नै हो । भारतको बजारलाई हेरेर त्यहाँ निर्यात गर्न सक्ने पनि भारतमै बसेका नेपालीले हो । किनभने उनीहरूले यहाँ वर्षौंसम्म बसेर काम गरेका हुन्छन्, यहाँका उपभोक्ताको रोजाइ थाहा पाएका हुन्छन् ।
त्यहाँ उनीहरूले आफ्नै सम्पर्क र बजार सिर्जना गरेका हुन्छन् । त्यसको उपयोग गर्ने गरी नेपालमा लगानी ल्याउन सक्ने पनि उनीहरू नै हुन् । तर, भारतमा बस्ने नेपालीलाई आफ्नै देशमा लगानी गर्न सरकारले कुनै प्रोत्साहन दिन सकेको छैन ।
उदाहरणका लागि नेपालको सबैभन्दा ठूलो पर्यटक आगमनको स्रोत मुलुक भारत हो । नेपालमा उचित पूर्वाधार, होटल तथा पर्यटकीय प्रडक्ट नहुँदा भारतबाट जति पर्यटक नेपाल जानुपर्ने हो, त्यसको एकदमै सानो हिस्सा मात्रै गइरहेको छ ।
भारतमा हस्पिटालिटी क्षेत्रमा नेपालीको लगानी निकै ठूलो बनिसकेको छ । भारतीय पर्यटकको चाहना र रुचि यहाँ त्यो काम गरिरहेकालाई नै धेरै थाहा हुन्छ । तर, त्यो लगानी नेपाल लैजान सकिएको छैन । किनभने नेपाल सरकारले त्यस्तो वातावरण नै बनाउन सकेको छैन । त्यति मात्रै होइन, भारतबाट जाने पर्यटकलाई नेपालीले राम्रो व्यवहार नगर्ने गरेको उदाहरण पनि पाइएको छ । त्यसमा पनि सुधार हुन जरूरी छ ।
यति हुँदाहुँदै पनि भारतस्थित नेपाली दूतावास तथा नियोगहरूबाट यहाँ काम र व्यवसाय गरिरहेका नेपालीले राम्रो सहयोग पाएका छन् । भारतका लागि वर्तमान नेपाली राजदूत अर्थशास्त्री नै भएको हुँदा व्यवसायीका समस्या बारेमा उहाँ जानकार हुनुहुन्छ । समस्या समाधानमा पनि लाग्नुभएको अनुभव छ ।
भारतभर छरिएर रहेका नेपाली व्यवसायी, नेपाली मूलका भारतीय व्यवसायी समेत संगठित भई एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज गठन भएको छ । यो संस्थाको प्रमुख उद्देश्य भनेको भारतमा भएका नेपालीमाझ उद्यमशीलता प्रवद्र्धन गरी उनीहरूलाई दासबाट मालिक बनाउने हो ।
हामी अब नोकरी गर्ने होइन, आफूले रोजगारी दिने हो भन्दै नेपालीमाझ विभिन्न अभियान चलाइरहेका छौं । भारतका १४ राज्यमा भएका १२०० भन्दा बढी व्यवसायी हाम्रो संगठनमा जोडिएका छन् ।
नेपालीले भारतमा लामो दासताको युग झेलेका छन् । अब त्यसलाई उद्यमशीलताको युगमा परिवर्तन गर्ने हाम्रो उद्देश्य छ । ‘मित्सुविसी’ कुनै बेला दासता झेलेको गरिब परिवारले सुरु गरेको कम्पनी हो । तर आज मित्सुविसी भन्नेबित्तिकै जापानले गर्व गर्ने ब्रान्ड बनेको छ । त्यसो हुँदा भारतमा बसेका नेपालीले ठूला–ठूला कर्पोरेटहरू जन्माउन सक्छन् भन्ने विश्वासका साथ हामी काम गरिरहेका छौं ।
(भारतका नेपाली तथा नेपाली मूलका भारतीय व्यवसायीको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका अध्यक्ष बरालसँग अनलाइनखबरका लागि जनार्दन बरालले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4