+
+

अस्ट्रियाका आमाछोरीले देखेको हिमाली जनजीवन

‘विकासमा नाममा हिमाली भेगमा कंक्रिटका घर ठडिन थाले, विकासलाई रोक्न सकिँदैन । तर, ध्यान दिन सकिन्छ ।’

विकास रोकामगर विकास रोकामगर
२०८० मंसिर २३ गते १७:१३

२३ मंसिर, पोखरा । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा. इरिका हुबाचेकले आफ्नो जीवनकाल हिमाली जीवनशैली अध्ययनमै बिताइन् ।

अस्ट्रियाका हिमाली क्षेत्रको जनजीवन बुझेपछि उनी आइपुगिन्, नेपाल र भारतीय हिमाली क्षेत्रमा । डा. इरिका व्यवसायिक फोटोग्राफर त थिइनन् । तर, जहाँ पुग्थिन्, त्यहाँको अझ त्यसमा पनि विशेष गरी महिलाको जीवनशैली क्यामेरामा कैद गर्थिन् ।

नेपाल र भारतका थुप्रै हिमाली भेगमा पुगेपछि उनले ‘संसारका जुनसुकै कुनाका हिमाली भेगका मानिसहरुको जीवनशैली एउटै रहेछ’ भन्ने निष्कर्ष निकालिन् ।

‘आमाको राम्रो बानी थियो । उहाँ जहाँ पुग्नुहुन्थ्यो, त्यहाँका गाउँलेकै लुगा लगाएर उहाँहरुजस्तै काम पनि गर्नुहुन्थ्यो’, डा. इरिकाकी छोरी इर्मट्रड हुबाचेकले भनिन्, ‘यसले उहाँलाई हिमाली भेगको जीवन बुझ्न झनै सजिलो बनाइदियो । गाउँलेहरु पनि मज्जाले खुल्थे ।’

इरिकाले आफ्नो ‘रिसर्च’को समयमा हजारौं किलोमिटर दूरीका हजारौं किसानसँग लामालामा कुराकानी गरेको छोरी इर्मट्रडले सुनाइन् ।

डा. इरिकाले खिचेका फोटो म्युनिख, बर्लिन, मिलान, न्यूयोर्कलगायत देशमा प्रदर्शन भइसकेको छ । सन् २०१० मा उनको मृत्यु भयो । त्यसपछि छोरी इर्मट्रडले आमाको सपना पछ्याउँदै क्यामेरामा हिमाली जीवन कैद गर्न सुरु गरिन् ।

‘म व्यवसायिक फोटोग्राफर होइन । खास भन्ने हो भने म संगीतकर्मी हुँ । लेख्छु पनि’, सन् १९७१ मा काठमाडौं र कलकत्तामा कन्सर्ट गरेको सम्झिँदै भनिन्, ‘तर, आमाको सपना पछ्याउँदै म पनि हिमाली जनजीवनबारे फोटो खिच्न सुरु गरें ।’

तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन र रहनसहन उतारेका छन् । उनीहरुले झन्डै ५ दशक अवधिमा फरक फरक भूगोलका हिमाली भेगमा खिचेका तस्वीरमा एउटै रहनसहन र उस्तै जीवनशैली भेटिन्छ ।

‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्’, इर्मट्रडले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४÷१५ जनासम्म एकै परिवारमा बस्छन् ।’

पोखरामा जारी आठौं पर्वतीय महोत्सवमा भाग लिन इर्मट्रड अस्ट्रियादेखि नेपाल आएकी थिइन् । आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’

यो इर्मट्रडको आठौं नेपाल भ्रमण हो । पहिलो पटक सन १९८९ मा नेपाल आएकी उनी पहिलो भ्रमणमै नेपालले मोहनी लगाएको बताउँछिन् ।

‘संसारका सबै हिमाली जीवनशैली र मानिसहरु एकै प्रकारको भए पनि नेपालीहरु साह्रै इमान्दार छन् । पहिलो पटक आउँदा नै म प्रभावित भएँ’, उनले सुनाइन्, ‘यो मेरो आठौं नेपाल भ्रमण हो । तर, अझै अरु वर्षहरु पनि आइरहन पाऊँ भन्ने लागेको छ ।’

फोटोग्राफीकै दौरान इर्मट्रडले नेपालका लाङटाङ, आमादब्लम, मुस्ताङलगायत थुप्रै हिमाली क्षेत्रमा लामो समय बिताएको सुनाइन् । ‘नेपाल र सिक्किमका हिमाली जनजीवनको फोटो खिच्न यहाँ मैले लगातार २ वर्ष पनि बिताएको छु’, उनले भनिन्, ‘मुस्ताङ मलाई साह्रै महंगो लाग्यो ।’

हुबाचेक आमाछोरीले लामो समय लगाएर फरक–फरक मितिमा खिचेका फरक–फरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएका छन् ।

इर्मट्रड अर्को वर्ष नेपालको पश्चिमी भूगोलका हिमाली क्षेत्रमा जाने योजना बनाइरहेकी छन् । डोल्पा, हुम्ला, जुम्लालगायतका हिमाली क्षेत्र पुग्ने उनको धोको छ । तर, त्यसभन्दा अगाडि आफूले लेखिरहेको किताबलाई मूर्तरुप दिने तयारीमा छिन् ।

‘फ्रेन्च भाषामा पहिल्यै प्रकाशित भइसकेको छ । अब अरु भाषामा अझै धेरै सम्पादन गरेर प्रकाशन गर्नुछ । अर्को वर्षसम्म सक्ने गरी योजना बनाएको छु’, इर्मट्रडले भनिन्, ‘यसमा नेपाललगायत हामी पुगेका हिमाली क्षेत्रका किसानहरुको सबै जीवनशैली देखाउने प्रयास गर्नेछु ।’

बद्लिँदै हिमाली जीवनशैली

पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएका तस्वीर नियाल्ने हो भने अस्ट्रियाका तस्वीर प्रायः आमा डा. इरिकाले ९० को दशक वरिपरि खिचेकी देखिन्छ भने छोरी इर्मट्रडले त्यसपछिको समयमा । उनी यसअघि सन् २०१६ मा नेपाल आएर हिमाली महिलाहरुको फोटो खिचेकी थिइन् ।

तस्वीरमा तत्कालीन समयमा अस्ट्रियाका हिमाली क्षेत्रमा जुन जीवनशैली थियो, झण्डै ५० वर्षपछि नेपाल र भारतका हिमाली क्षेत्रको जीवनशैली ठीक त्यही ठाउँमा छ । तर, आफूहरुले समयको फरक भन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् ।

जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् ।

‘पहिले हामी पुग्नेबेला अर्कै थियो । घरहरु पनि फरकफरक भइसके । हुन त विकासको क्रमलाई रोक्न सकिँदैन । तर, यसमा ध्यान दिन भने जरुरी छ’, उनले भनिन्, ‘अहिले त हिमाली भेगका महिलाहरुको हातहातमा मोबाइल छ । इन्टरनेटमा भुल्न थालिसके ।’
नेपाल पर्वतारोहण संघले बर्षेनी आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारबाट सुरु भएको हो । महोत्सवमा पर्वतीय

जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् ।

उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे प्रकाश पारेको थियो ।

किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र काला पत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ ।

आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी आदि खेल पनि समावेश गरिएको छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?