
२४ मंसिर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले अझै सदस्य सचिव पाउन सकेको छैन ।
कार्यकारी पद रिक्त हुँदा कर्मचारी सरुवा, बढुवा तथा दैनिक कामहरुमा समेत प्रभाव परिरहेको परिषद्ले जनाएको छ । सीटीईभीटीको कार्यकारी अधिकार सदस्य सचिवमा निहित रहेकाले उक्त पद रिक्त हुँदा दैनिक कार्यसञ्चालनमै समस्या परेको उपाध्यक्ष खगेन्द्र भण्डारीले बताए ।
गत ४ साउनमा तत्कालीन सदस्य सचिव जीवनारायण काफ्लेले उमेर हदका कारण अवकाश पाएका थिए । मन्त्रिपरिषद्ले चार वर्षका लागि आफूलाई नियुक्त गरेकाले उक्त अवधिभर काम गर्न पाउनुपर्ने माग राख्दै काफ्लेले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनले थप दुई महिना काम गरेका थिए । तर असोजमा सर्वोच्चले तोकिएको समयावधि बाँकी रहेपनि उमेर हदका कारण सदस्य सचिवको रुपमा काम गर्न नमिल्ने फैसला गरेपछि उनी बाहिरिएका थिए ।
त्यसपछि रिक्त रहेको सदस्य सचिव खोजीका लागि राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनेको थियो ।
उक्त समितिले ८ मंसिरमा आवेदन परेकामध्ये ८ जनाको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो । तर अहिलेसम्म समितिले मन्त्रिपरिषद्मा पठाउनको लागि तीन जनाको नाम सिफारिस नगरेको कारण ढिला भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
सिफारिस समिति संयोजक रमेशचन्द्र पौडेलले व्यवहारिक पक्ष मिलाउँदा केही ढिलाइ भएको बताए । उनले भने ‘अबको केही दिनभित्र सबै प्रक्रिया पूरा हुन्छ ।’ परिषद्मा निमित्त सदस्य सचिवको रुपमा महेश भट्टराईले काम गरिरहेका छन् ।
प्रतिक्रिया 4