+
+

‘प्रश्नहरूबाट जोगिन मिसन–८४ भनिएको हो भने त्यो राम्रो होइन’

२०८४ को तयारी नयाँ–पुराना सबैले गर्नुपर्छ । गरिराखेकै होलान् । अहिले नगरेको २०८४ मा गएर के गर्लान् भन्ने त साधारण प्रश्न हुन् नि ! त्यो प्रश्नको उत्तर नभएसम्म २०८४, २०८९, अनि २०९४ त आउँछन् तर केका लागि ल्याउने भन्ने प्रश्न मुख्य हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते २०:३०

राजनीतिक विश्लेषक विष्णु सापकोटाले भर्खरै ‘अडिएका पाइला’ नामक उपन्यास सहित साहित्य क्षेत्रमा समेत आफ्नो स्थान बनाइसकेका छन् । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका प्राध्यापक रहिसकेका सापकोटासँग अनलाइनखबरले पछिल्लो राजनीति र समाजसँग जोडिएका मामिलाबारे ६ प्रश्नहरू गर्यो :

व्यवस्था विरोधी आवाज बढ्न थालेको हो ?

अहिले सडकमा जुन नाराहरू लागे, त्यसलाई प्राविधिक रूपमा व्यवस्था विरोधी आवाज भन्न सकियो । तर राजनीतिक रूपमा मलाई त्यस्तो लाग्दैन । यस्ता मुद्दा कुन पात्रले उठायो भन्ने पनि अर्थ हुन्छ । व्यवस्था सञ्चालक भन्दा अविश्वसनीय छन् व्यवस्था विरोधीहरू । यसले त उल्टै व्यवस्थालाई पो फाइदा हुने देखिन्छ । यस्ता पात्रले विरोध गर्दैछन् भने त अहिलेकै पो ठिक रहेछ भन्ने पर्न गएको छ जनतालाई ।

अरू प्रकरण झैं एनसेल प्रकरणमा पनि राष्ट्रिय सहमति गरेर आयोगतिर पन्छाउने सम्भावना कति देख्नुहुन्छ ?

पहिलो संविधानसभा चुनावयताका विगत १५ वर्षमा सबै दल मूलभूत रूपमा एउटै छन् । सबै सत्ताधारी छन् । विपक्षी भएको दाबी गरे पनि उनीहरू सत्तापक्ष नै हुन् । दलाल पूँजीवादको विरोध गर्नेहरू नै दलाल पूँजीवादका संरक्षक छन् । १५ वर्ष राज्य चलाउने नाममा, आफूले आफू र परिवारलाई चलाउने नाममा, पार्टीलाई चलाउने नाममा, कार्यकर्तालाई चलाउने नाममा जस्ता सम्झौता गरेका छन् कि यिनले जति राम्रै कुरा गरे पनि त्यसको विश्वसनीयता छैन ।

एनसेल प्रकरणमा शीर्ष तहका राजनीतिक पात्र को को मुछिएका छन् भन्ने प्रश्न होला । केही त छँदै छन् । अनुसन्धान गर्ने, समिति बनाउने कुराले जनताको तहबाट विश्वास आर्जन गरेको देखिंदैन । वैधानिक छानबिन हुनुपर्छ । तर यिनीहरूको विश्वसनीयता यसरी क्षयीकरण भयो कि पहिला त विश्वास नै जगाउन आवश्यक देखियो ।

प्रधानमन्त्री प्रचण्डको एक वर्ष पुग्न लाग्यो । कसरी विश्लेषण गर्नुहुन्छ ?

प्रचण्ड यसपल्ट प्रधानमन्त्री हुँदा मैले यति चेतें कि अब राम्रोसँग काम गर्छु भनेर धेरै दोहोर्याउनुभयो । उहाँले धेरै दोहोर्याउँदा नै शंका थियो । अर्को चाहिं उहाँले प्रधानमन्त्री हुनुलाई यति ठूलो प्राप्ति ठान्नुभयो कि केका लागि प्रधानमन्त्री हुने भन्ने नै भएन । देश, जनता खुसी हुनुपर्छ किनभने दाहाल प्रधानमन्त्री भए भन्ने किसिमको सन्देश दिन खोज्नुभयो । यति सानो दल भएर पनि प्रम हुन सकिंदो रहेछ भन्ने सन्देश दिनुभयो ।

मान्छेको जात पाठ सिक्ने खालको होइन भन्ने पनि उहाँले देखाउनुभयो । अर्थात् उहाँ प्रम हुनलाई जानुभएको थियो, हुनुभयो । त्यसैले प्रत्येक कटेको दिन उहाँको उपलब्धि हो भने देशका लागि चाहिं गुमेको मौका ।

उहाँ सातामा एक दिन पनि भाषण गर्न नआए हुन्छ । भाषण गर्नुको के तुक छ ? आउनै पर्ने देशलाई सम्बोधन गर्नु छ भने मात्रै देशको कार्यकारी प्रमुख बोल्नुपर्छ । नत्र रटान लगाउन उहाँ नआए हुन्थ्यो । उहाँलाई अहिले काम गर्ने वातावरण पनि थियो । प्रधानमन्त्री पहिलो पटक होइन, तेस्रो पटक भएको हो । उहाँले नै भन्नुभयो पहिलाबाट मैले जानिनँ, अहिले जानेको छु । राज्यको सिस्टम चिनेर, परिचित भएर आउनुभएको स्थितिमा पनि काम गर्न नसक्दा उहाँ र उहाँ जस्ता अरूले मौका पाउनुको देश र जनतालाई कुनै अर्थ छैन । त्यो उहाँले थप प्रमाणित गर्नुभयो ।

तिमीहरूले गर्न खोजेको के हो ? भनेर प्रश्न उठ्न थालिसके नि जनताबाट । त्यसमा सजिलो के भयो भने अहिले त हामी अलि साना छौं, २०८४ बाट गर्ने हो भनेर अहिले दुई–तीन वर्षका प्रश्नलाई स्थगित गर्न अथवा त्यसबाट जोगिन मिसन–८४ भनेको हो भने त्यो राम्रो होइन ।

एमालेको मध्यपहाड यात्रालाई कसरी हेर्नुभएको छ ?

एमालेको यो अभियानमा शीर्ष तहका धेरैजसो नेताहरू एकैठाउँमा जानुभएको छ । रमाइला–रमाइला फोटा आएका छन् । त्यो हेर्दा त रमाइलो लागेको छ । एउटा खालको राजनीतिक पर्यटन जस्तो, मठ–मन्दिर धार्मिक, राजनीतिक, व्यक्तिगत भ्रमणजस्तो पनि छ । तर त्यसको सन्देश अथवा उहाँले के भन्न खोज्नुभएको रहेछ भनेर मैले गम्भीर रूपमा बुझ्न खोजेको छु तर पाएको छैन । के हो त यो अभियान ? कुनै पनि राजनीतिक दल जनतामा जानु त स्वाभाविक हो । उनीहरू सधैंभरि सँगै हुन्छन् । अहिले संगठनात्मक रूपमा शीर्ष तहको निर्णयबाट परिचालित भएरै जानुभएको छ । तर यसको स्पष्ट सन्देश छैन । सायद सन्देश केही नभएर राजनीति गर्ने मान्छे बाह्रै महिना के गर्ने त ? एक दुइटा केही गरेको त हुनुपर्यो, जाऔं न त जिल्ला, प्रदेशतिर घुम्न पनि हुन्छ भनेर गए जस्तो देखियो ।

गएको कुरालाई मैले नकारात्मक नभन्दा नभन्दै पनि कल्पना गरौं, कोही मानिस एउटा जिम्मेवारीमा हुन्छ, उसको काम हुन्छ । संसद् चलेको छ भने यसो कहिले–कहिले जाने गर्छन् यद्यपि सधैं जाँदैनन् । त्यहाँ गएर बोल्ने, पढ्ने, विधेयक बारे कति तयारी गर्छन् अलग कुरा भयो, बाह्रै महिना केही न केही त गर्नुपर्यो । त्यस हिसाबमा अहिले निस्कौं भनेर वर्षा सकियो, हिउँदको समय छ, चाडबाड सकिए, तत्काल गर्ने केही छैन भनेर गएको जस्तो लाग्छ ।

नयाँ पार्टीहरूका सुरुवाती गतिविधि र उनीहरूको मिसन–८४ तयारीलाई कसरी हेर्नुभएको छ ?

नयाँ पार्टीहरूले पुराना दललाई केही न केही दबाब सिर्जना गरेकै हुन्, त्यसैले नयाँलाई यसको जस जानैपर्छ । यद्यपि नयाँ भनेर वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुरा गर्दा उसले आफ्नो राजनीतिक चरित्र धारण गर्नै सकेको थिएन । पहिलो पटक केही हप्ता पहिला राजनीतिक रूपमा हामी यहाँ छौं भनेर उसले बल्ल एउटा दस्तावेज ल्याएको छ । त्यो ठिकै छ । यद्यपि त्यहाँ अझै पनि धेरै प्रश्न अनुत्तरित छन् । केही केही मात्रै आएका छन् । त्यसैले उहाँहरू त यो एक–दुई वर्ष नै आफू को हौं भनेर थप परिभाषित हुँदै जानुपर्दा त्यतिञ्जेल उहाँहरू नयाँ रहिरहनुहुन्छ कि अथवा २०८४ आइपुग्दासम्म अर्को नयाँ भएर आउने हो कि ? यसका केही स्पष्ट लक्षणहरू देखिइसकेका छन् । बालेन शाहले नयाँ पार्टी खोल्ने नै देख्छु । उहाँलाई रास्वपा वा अरू कुनै यो दुनियाँमा आफूभन्दा ठूलो कोही छ भन्ने नै लाग्दैन । उहाँ आउँदा त स्वतः नयाँ नै हुने हुनुभयो होला ! अरू अरू खालका नयाँ पनि आउन सक्ने भइहाले । यसरी अहिलेका नयाँ २०८४ सम्म नयाँ हुन्छन् कि हुँदैनन् एउटा प्रश्न रहिरहन्छ ।

मिसन–८४ को कुरा सुन्दा त आकर्षक जस्तो नै हो, २०८० को कुरा भइरहेको छ मान्छेले २०८४ सालको सोच्न थाले भनेर । त्यसलाई पनि सकारात्मक रूपमा लिऔं । कतिपय पश्चिमा देशहरूमा, अमेरिकाकै भनौं एउटा चुनाव सकिएको हुन्छ अर्को चुनावको क्याम्पेन सुरु गरेका हुन्छन् । त्यसैको प्रभावले पनि अर्को सोचौं भन्ने आएको होला । त्यतिसम्म ठिक छ । तर मलाई शंका के छ भने अहिले गर्ने खासै केही पनि थाहा पाइएन ।

जनताले प्रश्न गर्न थालिसके । पहिला पो तिमी नयाँ थियौ अहिले सांसद र केही समय मन्त्री पनि भइसक्यौ । फेरि हौला अझै चार वर्ष छ । तिमीहरूले गर्न खोजेको के हो ? भनेर प्रश्न उठ्न थालिसके नि जनताबाट । त्यसमा सजिलो के भयो भने अहिले त हामी अलि साना छौं, २०८४ बाट गर्ने हो भनेर अहिले दुई–तीन वर्षका प्रश्नलाई स्थगित गर्न अथवा त्यसबाट जोगिन मिसन–८४ भनेको हो भने त्यो राम्रो होइन ।

ठिक छ, २०८४ को तयारी नयाँ–पुराना सबैले गर्नुपर्छ । गरिराखेकै होलान् । अहिले नगरेको २०८४ मा गएर के गर्लान् भन्ने त साधारण प्रश्न हुन् नि ! त्यो प्रश्नको उत्तर नभएसम्म २०८४, २०८९, अनि २०९४ त आउँछन् तर केका लागि ल्याउने भन्ने प्रश्न मुख्य हो ।

नेपालमा राजा फर्केर आउँछन् ?

हुन त हामी ८ अर्ब मानिस छौं र ८ अर्बै थरीका छौं । मान्छेको विविधतालाई त म स्वीकार्छु । राजा आउन् भनेर चाहनेहरूको विवेक, बौद्धिक क्षमता प्रति भने मलाई वास्तवमा टिठ लाग्छ । राजा भएको बेला जो फाइदा लिएका, पारिवारिक विरासत भएका वा राजतन्त्र आइदियो भने आफूले केही ठाउँ पाउँला भनेर आशा गर्नेहरूलाई म बुझ्न सक्छु । त्यो भन्दा बाहेक ठूलै पार्टी कांग्रेस, एमालेमा रहेका केहीले कुनै खालको राजतन्त्र आउँछ कि भन्ने लगायत पार्टी बाहिरका पनि समाजमा केही मानिसहरूलाई चाहिं अलि कठोर रूपमा भन्नुपर्छ । यो अलिकति उहाँहरूको चेतना नै पिछडिएको भएर हो । यी राजावादीहरूले दिने बेलायत, युरोपका राजतन्त्र हेर भन्ने कतिपय उदाहरण छन् नि त्यस्तो राजतन्त्र नेपालमा सम्भव नै छैन । त्यहाँको तीन–चार सय वर्षको अनुभवबाट सांकेतिक खालको राजतन्त्र बसेको छ त्यसलाई उदाहरण दिन्छन् ।

दोस्रो, विचरा राजा, राजतन्त्र भनेको सबै मानिस बराबर छन् भन्ने एउटा लोकतन्त्रको आधारभूत मान्यता विरुद्ध त हुँदै हो त्यसमाथि मानौं कुनै सांकेतिक रूपमा, परम्परागत ऐतिहासिक हिसाबमा कुनै देशमा राजतन्त्र छ रे ! अथवा नेपालमा पनि राजा हुनको लागि केही त योग्यता चाहिने होला नि ! राजतन्त्र निरन्तर भइराख्दा जन्मेको राजकुमारलाई समेत सानैदेखि तालिम दिएर, गुरुहरू दरबारमै बोलाएर पढाएर, एउटा ठिकठिकै खालको मानिस बनाउन जरूरी थियो नि ! हाम्रा राजा भएका तिनका सन्तानहरू हेर्दा एउटा औसत रूपमा ठिकठिकै मानिस त हुनुपर्यो नि ! त्यस्तो पनि नभएको ठाउँमा यिनै सम्झेर राजतन्त्र भन्ने मान्छे देखेर मलाई वास्तवमा अल द बेस्ट, तर जिन्दगीमा अलि धेरै सुन्दर कुराहरू छन्, त्यो सोच्न थाले हुन्थ्यो जस्तो लाग्छ ।

फोटो/भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?