+
+

छडको मूल्य घट्यो, सिमेन्टको स्थिर

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० मंसिर २५ गते २१:१०

२५ मंसिर, काठमाडौं । हिउँद लागेसँगै देशैभर निजी र सार्वजनिक निर्माण पूर्वाधारको मौसम सुरु भएको छ । गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घर, जग्गा, आवास निर्माण लगायतमा प्रवाह हुने कर्जा नीतिमा केही सहजीकरणको नीति लिएपछि निर्माण क्षेत्रको मनोबल बढेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

अर्थतन्त्र सुधारको प्रमुख आधारको रुपमा रहेको निर्माण क्षेत्रको उकासिएको मनोबल, बजार मूल्य र उपभोक्ताको क्रयशक्तिबीच समन्वय हुनसके पछिल्लो डेढ वर्षदेखि अर्थतन्त्रले भोगेको संकुचनको अवस्थामा सुधार आउने देखिन्छ ।

निर्माण सामग्री उत्पादन गर्ने र व्यापार गर्नेहरु बजारमा यस्ता सामग्रीको माग निकै कमजोर भइरहेको बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजारमा नयाँ माहोल सिर्जना गरिदिएपछि उपभोक्ताहरु निर्माणको चासो बढेको भन्दै केही उत्साहित भने देखिन्छन् ।

विगत एक डेढ वर्षमा फलामे छडको मूल्य घटेको छ भने सिमेन्टको मूल्य भने स्थिर देखिन्छ । डेढ वर्षअघि अर्थात् २०७८ को अन्तिमतिर छडको मूल्य प्रतिकिलो १२४ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि क्रमशः घटेको मूल्य अहिले ९२ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।

यही पृष्ठभूमिमा हामीले काठमाडौं उपत्यकाको बजारलाई आधार मानेर निर्माण सामग्रीको पछिल्लो मूल्य अवस्था यहाँ प्रस्तुत गरेका छौं ।

सिमेन्ट

सिमेन्ट उत्पादकहरुका अनुसार यतिबेला बजारमा सिमेन्टको न्यूनतम मूल्य ४४० रुपैयाँ प्रतिबोरा छ । त्यसभन्दा माथिको मूल्य सिमेन्ट कम्पनी अनुसार फरक–फरक छ । प्रतिस्पर्धी बजार भएका कारण धेरैजसो सिमेन्ट उद्योगले आफ्नो मूल्य सार्वजनिक रुपमा प्रस्तुत गर्दैनन् । तर केही मूल्य भने हामीले कम्पनी र त्यसका वितरकबाट लिएका छौं ।

काठमाडौंको नजिक रहेको ह्वासिनले सबैभन्दा सस्तो मूल्यमा अहिले सिमेन्ट बिक्री गरिरहेको छ । कम्पनीको पीपीसी सिमेन्टको मूल्य ४४० रुपैयाँ प्रतिबोरा छ । यस्तै सोही कम्पनीको ओपीसी सिमेन्ट ४३ ग्रेडको प्रतिबोरा मूल्य ५४० रुपैयाँ छ भने ५३ ग्रेडको मूल्य ५६० रुपैयाँ छ ।

बजारमा निर्माण सामग्रीको मागमा चहलपहल सुरु भएपछि होङ्सी सिमेन्टले केही दिनअघि मात्रै आन्तरिक निर्णयबाट सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँ घटाउने निर्णय गरेको वितरकहरुले बताएका छन् । तर यसबारे कम्पनीले स्वतन्त्र पुष्टि गरेको छैन । काठमाडौं उपत्यकामा अहिले होङ्सी सिमेन्टको मूल्य पीपीसीमा प्रतिबोरा ५२० बाट सुरु हुन्छ । यस्तै यो कम्पनीको ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६३० रुपैयाँभन्दा माथि छ ।

यस्तै, अर्को सिमेन्ट ब्राण्ड अर्घाखाँचीले काठमाडौंमा पीपीसी सिमेन्ट प्रतिबोरा ५२० र ओपीसी प्रतिबोरा ६४० रुपैयाँमा बिक्री गरिरहेको छ । युनाइटेड सिमेन्टले काठमाडौं उपत्यकामा पीपीसी सिमेन्टको मूल्य ५२० र ओपीसीको मूल्य प्रतिबोरा ६२० रुपैयाँ तोकेको छ । देशभर करिब ३७ वटा सिमेन्ट उद्योग अहिले सञ्चालनमा रहेका कारण ती कम्पनीको ब्राण्ड र उपलब्धताअनुसार निर्माण क्षेत्रका आधारमा मूल्यमा भने केही फरक पर्नेछ ।

डण्डी

नेपाल स्टील्स रोलिङ मिल एशोसिएसनका अनुसार बजारमा अहिले डण्डीको माग कम छ । कम मागका कारण डण्डीको मूल्य पनि घटेर सबैभन्दा तल्लो बिन्दुमा आइपुगेको छ । दर्जनौं कम्पनीले अहिले बजारमा डण्डी उत्पादन गरिरहेका छन् । तीमध्ये अधिकांशको मूल्य काठमाडौं उपत्यकामा प्रतिकिलो ९२ रुपैयाँ हाराहारीमा रहेको एशोसिएसनले जनाएको छ ।

ट्टा

नेपाल इँट्टा उत्पादक महासंघका अनुसार निर्माण घटेको असर अहिले इँट्टा बजारमा पनि परेको छ । बजारमा माग घटेका कारण व्यवसायीहरुले उद्योगमा नयाँ उत्पादनमा थप लगानी नगरेको उद्योगी एवं महासंघका पूर्वअध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउँछन् ।

उनका अनुसार घर र पूर्वाधार निर्माणका लागि सबैभन्दा धेरै प्रयोग हुने इँट्टा एक नम्बर हो । यसको मूल्य प्रतिगोटा १५ देखि १६ रुपैयाँ मात्रै पर्छ । यसको मूल्य त्यो भन्दा कम पनि हुन सक्ने भएकाले सो भने बिक्रेता र खरिदकर्ता बीचमा भर पर्छ । यस्तै उच्च गुणस्तरको मेसिनबाट बनाइने विशेष प्रकारको इँट्टाको मूल्य २० देखि २२ रुपैयाँ पर्ने र त्यसभन्दा पनि उच्च गुणस्तरको चाइनिज इँट्टाका लागि उपभोक्ताले २४ रुपैयाँसम्म तिर्नुपर्न सक्ने महासंघले जनाएको छ ।

गिट्टी-बालुवा

काठमाडौंमा दर्जनौं संख्याका गिट्टी, बालुवा र रोडा सप्लायर्सहरु छन् । धादिङ, नुवाकोट, मकवानपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकदेखि उपत्यकामा गिट्टी र बालुवा आपूर्ति गर्छन् ।

आपूर्तिकर्ताहरुका अनुसार काठमाडौंको कुन ठाउँमा उपलब्ध गराउने भन्नेमा यी वस्तुको मूल्य तोकिएको छ । काठमाडौंको मध्यभाग बानेश्वरमा गिट्टी र बालुवा आपूर्ति गर्न पर्‍यो भने न्यूनतम मूल्य बालुवामा २१ हजार प्रतिट्रक सुरु भएर २६ हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् ।

काठमाडौंमा रोडा आपूर्ति गर्नेमध्येको एक कम्पनी पञ्चकुमारी कन्ट्रयक्टिङका अनुसार न्यूनतम गुणस्तरको बालुवा २१ हजारमै उपलब्ध हुन्छ भने उच्च गुणस्तरको बालुवा प्रतिट्रक २६ हजार रुपैयाँसम्म पर्ने दाबी गरिएको छ । यस्तै गिट्टी भने कालो र सेतो गरी २ प्रकारमा उपलब्ध हुने र कालोको मूल्य २५ हजारबाट सुरु भएर २९ हजार रुपैयाँसम्म प्रतिट्रक पर्ने आपूर्तिकर्ताहरुको दाबी छ ।

यस्तै, सेतो गिट्टी भने २३ हजार रुपैयाँ प्रतिट्रकबाट सुरु भएर २७ हजार रुपैयाँसम्म पर्ने अनुमान छ । निर्माण सामग्रीहरुको लागत अनुमान र मूल्य अनुगमन सरकारी निकायबाट नभएका कारण हाल बजारमा उत्पादकले तोकेको मूल्य नै अन्तिम मूल्य हो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?