+
+

लुम्बिनी सरकारलाई एमालेको १३ प्रश्न : किन बढिरहेछ बेथिति र मनपरी ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १७:४०

२५ मंसिर, बुटवल। नेकपा एमालेले कांग्रेस–माओवादी गठबन्धन सरकारका कारण बेथिति, विसंगति र मनपरी बढेको भन्दै लुम्बिनी सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लीला गिरी नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १३ प्रश्न समावेश ज्ञापनपत्र बुझाएको छ । जसमा सरकारको कामकारबाहीका कारण जनतामा निराशा र आक्रोश बढेको जिकिर गरिएको छ । ‘वर्तमान सरकारको कार्यशैलीका कारण जनतामा देखिएको निराशा, अन्यौल र आक्रोशको शिकार संघीयता कहिलेसम्म भइरहने ?’ ज्ञापनपत्रमा प्रश्न गरिएको छ ।

सरकारको काम गराई र शैली अपारदर्शी र असन्तुलित रहेको भन्दै एमालेले प्रदेश सरकारको सेवा प्रवाह पनि प्रभावकारी नभएको टिप्पणी गरेको छ ।

२०७४ सालमा एमाले नेतृत्वको सरकारले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सकिने आधार तयार गरेको र २०७९ मंसिरको चुनावलगत्तै बनेको सरकारले त्यसलाई कार्यान्वयन सुरु गरेका बेला सत्ता गठबन्धन फेरिएपछि योजनाहरु अलपत्र परेको एमालेको दाबी छ ।

दीर्घकालीन सोचका साथ सञ्चालन गरिएका योजनाहरु गठबन्धन सरकारले रोकेको पनि ज्ञापनपत्रमा उल्लेख छ । दीर्घकालीन योजना रोकिदा कयौं महत्वपूर्ण योजनाहरु प्रभावित भएको, अति संवेदनशील क्षेत्रमै बजेट विनियोजन रोकिएको, खानेपानी, स्वास्थ्य जस्ता अति जरुरी क्षेत्रमै बजेट कटौती गरेको, पूर्वाग्रहका आधारमा बजेट रोकेको, योजनाहरु प्रभावित बनाउने र विचौलिया पोस्नेगरी बजेटको दुरुपयोग गएको पनि एमालेको आरोप छ ।

प्रदेश सभाका विषयगत समितिहरु हालसम्म गठन नै नगरिएको, समितिका नाम मात्रै घोषणा गरेर सरकारले त्यसै रोकिराखेको, संसदीय समितिहरुलाई नेतृत्वविहीन बनाइराख्दा राम्रो सन्देश नगएको एमालेको धारणा छ ।

सरकारले प्रतिपक्षी दलसंग विगतमा गरेका समसामयिक विषयका सहमतिहरुको कार्यान्वयन गर्न पनि एमालेले खबरदारी गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहभागी भएको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसंग सम्बन्धित नेपाली भूमिबारे भ्रम फैलाउने सामग्री पनि रहेको भन्दै एमालेले विरोध जनाएको छ ।

एमालेले ज्ञापनपत्रमा सरकारलाई सोधेका १२ प्रश्न पढ्नुहोस्

१) किन बढिरहेछ बेथिति र मनपरी ?

२) किन प्रभावकारी छैनन् सरकारका सार्वजनिक सेवा प्रवाह ?

३) संसदीय समितिहरुलाई किन पूर्णता दिइएको छैन ?

४) प्रमुख प्रतिपक्षी दलसंग गरिएका सहमतिको किन कार्यान्वयन भएन ?

५) अति जरुरी तहका क्रमागत योजना समेत किन निश्प्रभावी बनाइयो ?

६) खानेपानीजस्तो अति संवेदशील योजनाहरु किन रोकिएका छन् ?

७) विगत आर्थिक वर्ष ०७८÷७९ को बाँकी बक्यौताको भुक्तानी हालसम्म किन भएन ?

८) बेथिति र भ्रष्टाचारमा बारम्बार वर्तमान गठबन्धन सरकार नै किन जोडिन्छ ?

९) वर्तमान सरकारको कार्यशैलीका कारण जनतामा देखिएको निराशा, अन्यौल र आक्रोशको शिकार संघीयता कहिलेसम्म भइरहने ?

१०) योजना छनौट, बजेट विनियोजन र कार्यान्वयमा पूर्वाग्रह र मनपरी किन ?

११) सरकार विस्तारका नाममा मन्त्रालयको संख्या बढाउने कुराले सुशासनको प्रत्याभूतिलाई कहाँ टेवा पु¥याउँछ ?

१२ लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था किन अलपत्र पारिएको छ ?

१३) बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसंग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमको हामी घोर विरोध गर्दछौं र यस बारेमा सरकारको धारणा यथाशीघ्र आओस् भन्ने चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?