+
+
सिनेमा सन्दर्भ :

‘एनिमल’को पाठ : नेपाली समाजलाई रोमान्टिकभन्दा तार्किक फिल्म जरुरी

मनोज पण्डित मनोज पण्डित
२०८० मंसिर २५ गते १८:३३

संसारमा सम्बन्धमाथि बनेका फिल्म शक्तिशाली हुन्छन् । फिल्ममा हिंसाको चित्रण आधारभूत पक्ष हो तर, ‘एनिमल’को केन्द्रिय कथावस्तु पारिवारिक द्वन्द्व हो । जहिल्यै पनि बुझ्नुपर्ने कुरा के हो भने- एकले अर्को मान्छेलाई किन मान्छ ? किनभने संसारमा कोही पनि मान्छेलाई स्वीकार्ने भनेको त्यसको उद्देश्यको कारणले हुन्छ ।

माध्यम र साधन फरक होला तर, उद्देश्य प्रमुख हुन्छ । सिनेमा भनेको हिंसा छ कि छैन भन्दा पनि पात्रको उद्देश्य के हो भन्ने कुरामा निर्भर हुन्छ । नेपाली फिल्मले पात्रको उद्देश्य नै पेश गर्न सक्दैनन् । यसकारण महत्वपूर्ण पक्ष भनेको पात्रको लक्ष्य हो । ‘एनिमल’ बक्स अफिसमा सफल हुनु भनेको पात्रले लक्ष्यका लागि गरेको संघर्ष सफल भएको हो । यो पात्रभन्दा उसको खोजीको बारे हो ।

माध्यमको प्रयोग गलत हुनसक्छ भन्ने बहस हुनसक्छ । संसारभर यस्तो भैरहेको पनि छ । मुख्य कुरा उद्देश्य के हो भन्ने कुरा पनि हो । यदि त्यो फिल्मको उद्देश्य शक्तिशाली नभएको भए त्यो फिल्म चल्ने थिएन ।

संसारमा सबैभन्दा बढी गलत सन्देश दिने राजनीतिले हो । ‘एनिमल’ले गलत सन्देश दिने भन्दा पनि यसले भन्ने खोजेको कुरा स्पष्ट छ । मान्छे जब एनिमल बन्छन्, तब तिनीहरुले सबै आदर्श तोडेर आफ्नो मूल्य रक्षाका लागि भयंकर संघर्ष गर्छन् भन्ने प्रस्तुत यसले गर्छ । यसर्थ यो फिल्मले आफ्ना छोराछोरीलाई एनिमल बन्न नदेऊ भन्ने राम्रो सन्देश दिन्छ ।

भोलि कुनै बाउले छोराछोरीलाई समय दिन सकेन भनेर सन्तान एनिमलजस्तै बन्छन् भन्ने सन्देश सकारात्मक छ । यसको केन्द्रिय अवधारणा त्यो हो । यो फिल्मले छोरीछोरीलाई होइन, बा-आमालाई सन्देश दिएको हो । यो फिल्मलाई हिंसाको कोणबाटै मात्र बुझ्नु अर्को समस्या हो । यस्तो भन्नेले किन मानवीय सम्बन्धको कोणबाट हेर्दैनन् ? बाले त्यसरी व्यवहार गर्दा बच्चा एनिमल जसरी हुर्कन्छन् भन्ने परिस्थितीलाई मजाले दर्शाइएको छ ।

मानसिकरुपमा विक्षिप्त पात्रले गर्ने प्रक्रिया सहज हुँदैन । के तिमीले यस्तै सन्तान उत्पादन गर्न खोजेको हो भनेर हिंसालाई चित्रण गर्नु जरुरी थियो । समकालिन समयमा निर्देशकले आजको समाज र आर्थिक पुँजीवादलाई प्रश्न गरेका छन् । हिंसा मात्र भयो भन्ने कुरा एउटा आदर्शवादी कोणबाट मात्र भनिएको कुरा हो । दृश्य हेरेर मात्र हुँदैन, दृश्य पछाडिको उद्देश्य हुनुपर्छ ।

नेपालमा मात्र होइन, पछिल्लो समय दर्शकको रुचि चरमतातर्फ झुकेको देखिन्छ । हामीले पछिल्लो समयमा ‘मेडियोक्रिटी’ (मामुली र औषत) फिल्म मात्र बनायौं जहाँ कुनै पात्रले हासिल गर्न खोजेको उपलब्धि र संघर्ष कुनैपनि चरम तहमा थिएन । ‘एनिमल’को चरमताले मान्छेलाई इन्गेज गरेको हो । दर्शकले त्यसमा इन्जोय गरेका हुन् ।

यसकारण नेपाली फिल्ममेकरले के कुराले बुझ्नुपर्छ भने- नेपाली दर्शकले चरमतामा आनन्द लिन्छन् । संसारभर चरमता भनेको इन्जोय गर्छन् । यसकारण चरमतामाथि फिल्म बनाऊ । यसकारण कुनै पनि सन्दर्भमा फिल्म बनाउछौं भने त्यसको चरमतामा जाऊ भनेर भन्न खोजेको हो । नेपाली फिल्मलाई यसको राम्रो सन्देश के हो भने- ‘गो टु एक्स्ट्रिम’ अर्थात चरमतातर्फ अघि बढ ।’ यो विशेषता भनेको मनोरञ्जनका लागि महत्वपूर्ण कुरा हो ।

जसरी बन्जी-जम्प गर्नु भनेको चरम जोखिम काम हो । नेपाली सिनेमाले अब कामचलाउ र मध्यमता भन्ने प्रवृत्तिलाई तोड्नुपर्छ भन्ने सन्देश यसले दिन्छ । भारतमा बलिउडमा साउथले चरमता ल्याइदियो । चरम एक्सन ल्यायो । पात्रको आयामलाई चरम तुल्याइदियो । उसले जेमा पनि त्यो ल्याएको छ । यसकारण ‘चरमता सिक’ भन्ने कुरा यो फिल्मले सिकायो ।

समाजले मान्छेलाई कसरी हिंसात्मक बनाइरहेको छ भन्ने कुरा देखाउन पनि हिंसात्मक चित्रण फिल्म चाहिन्छ । एनिमल चल्नु त्यो कुराको ‘भ्वायलेन्स’ होइन कि, मान्छे यो किसिमको हिंस्रक बन्ने कुराको विकास चाहिँ समाजले गर्दैछ भन्ने कुरा बताएको छ । यसकारण यो सामाजिक चेतावनी हो कि समाजले हिंसात्मक मानिस बनाउन उद्दत छ । समाजले हेरेक व्यक्तिलाई हिंसात्मक बनाएको छ ।

आदर्शको कुराले सिनेमामा हिंसा हुनुहुँदैन भन्ने हो तर, आदर्शको कुरा त समाजले व्यक्तिलाई हिंसात्मक बनाउनु हुँदैन भन्ने पनि त हो नि । यसकारण यस्ता फिल्मले आदर्शको जिम्मेवारी पुरा गरेका छन् । तिमीले हिंसात्मक मानिस उत्पादन गरिराख्या छौ भनेर फिल्मले समाजलाई भनेको छ । यसकारण सिनेमाले आफ्नो जिम्मेवारी पुरा गरेको छ । कतिपय फिल्मलाई समाजले विशेष कारणले स्वीकार्छ । तर, अधिकांश फिल्मलाई धेरैले आदर्शको आँखाबाट महसुष गर्छन् ।

अहिलेको नेपाली समाजलाई एकदमै आदर्श वा रोमान्टिक फिल्म होइनन्, तार्किक सिनेमाको आवश्यकता छ जसले मानिसलाई समाजले कसरी हिंसात्मक बनाएको छ भनेर प्रश्न सोध्छ । फिल्ममेकरको समाजसँग जहिले पनि द्वन्द्वात्मक सम्बन्ध हुन्छ । फिल्ममेकरको रुपमा हामीलाई यो समाजले गरेको ढोंगी व्यवहार जुन छ त्यसलाई चुनौति दिने मनोविज्ञान निर्माण हुन्छ । थोरै मान्छेले मात्र यो कुराको प्रयत्न गर्छन् । त्यो फिल्ममेकरले पनि चुनौति दिएको हो ।

सन्दीप रेड्डी भांगाले पनि चुनौति दिने आँट गरेको हो । मैले ‘बधशाला’मा चुनौति दिने आँट गरेँ । केही आँटिला फिल्ममेकरले हिंसालाई यसरी प्रस्तुत गर्छन् कि समाजले मान्छेको मनोविज्ञानलाई हिंसात्मक बनाएको छ भनेर देखाउन पनि यस्ता फिल्म बनाउनुपर्छ । कलात्मकरुपमा पनि यस्ता फिल्म बनाउनु आवश्यकता हो । यस्ता फिल्मले कहिलेकाहिँ औषधिको रुपमा काम गर्छन् । मानिसभित्र दबिएको हिंसात्मक कुरालाई पर्दामा हेर्दा बाहिर पनि ल्याइदिन्छ ।

हामीले सांस्कृतिकरुपमै ‘अल्फा मेल’को अवधारणालाई अघि बढाएका छौं । रणवीर कपुरले अल्फा मेललाई पर्दामा प्रतिविम्वित गरेको छ । साथै, यस्तो पुरुषले कस्तो परिस्थिती सिर्जना गर्छन् भन्ने पनि देखाइदिएको छ । के देखायो भन्ने होइन, त्यसको कारणले कस्तो परिणती निम्तिन्छ भन्ने पनि देखाएको छ । एनिमलको महत्वपूर्ण पाटो भनेको- यो फिल्म सम्बन्धको गजबको पाटो पनि हो । हरेक बाले आफ्नो छोराछोरीको सुरक्षा गर्छ भन्ने एउटा अवधारणा छ ।

फिल्मले नाटकीयरुपमा भन्छ- हरेक छोराछोरीले बाआमाको पनि सुरक्षा गर्न सक्छ । बाको सुरक्षा गर्न ऊ जुनसुकै हदमा जान सक्छ भन्ने कुरा छ । हाम्रो समाजमा छोराको मनभित्र जुन इगो तत्व छ, त्यो एलिमेन्टलाई पनि उसले प्रतिनिधित्व गरेको छ । बा र छोराको सम्बन्धको यो गजबको पाटो हो । बाको सम्बन्धमा छोरा सुरक्षित हुने जुन मनोविज्ञान छ, फिल्मले त्यो मात्र होइन- छोराको संरक्षणमा बा पनि सुरक्षित हुन्छ भन्ने कुराको अप्रोच हो । फिल्मको शक्तिशाली पक्ष हो । अहिले फिल्म चल्नुको सबैभन्दा ठूलो हतियार नै यही हो । ‘एनिमल’ हिंसाको आधारमा चल्यो भन्नु एकदमै सतही प्रतिक्रिया मात्र हो ।

यो सिनेमा सम्बन्धको आधारले चल्या हो । अनि त्यो सम्बन्ध यति धेरै युनिभर्सल छ कि यो सम्बन्धमा हरेक छोराले बाको सुरक्षा गर्ने सामथ्र्य बोकेको व्यक्ति बन्न चाहन्छ । त्यो चाहनालाई फिल्मले प्रतिनिधित्व गरेको हो । हामीले के बुझ्नुपर्छ भने- कुनै पनि सिनेमा चल्नु पछाडि केही न केही तत्व हुन्छ । त्यो तत्व पहिचान गर्न समय लाग्ला त्यो तत्व हुन्छ । ‘एनिमल’ भन्ने फिल्मले समाजमा बढेको कुरुपतालाई गजबको व्यंग्य गरेको छ । त्यसकारण पनि यो फिल्म चलेको हो ।

फिल्म निर्देशक तथा विश्लेषक मनोज पण्डितसँग संवादमा आधारित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?