
काठमाडौं । अमेरिकन च्याम्बर अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको संगठनका रुपमा दुई वर्षअघि एमच्याम स्थापना भएको थियो । संस्थापक अध्यक्ष अजितविक्रम शाहको दुईवर्षे कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति चयन भएको हो ।
सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका असिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्नेछ ।
एमचयामको स्थापनामा शाहको योगदानलाई सम्मान गर्दै शाहलाई संस्थापक अध्यक्षको रुपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी अभिनव ल च्याम्बरका सेमन्त दाहाल पनि मानार्थ सदस्यको रुपमा कार्यसमितिमा रहनेछन् ।
एमच्याममा ४५ व्यवसायहरु आवद्ध भइसकेका छन् । स्थापनाको दुई वर्षमै एमच्यामले अमेरिकन च्याम्बर अफ कमर्सको आवद्धता प्राप्त गरेको छ ।
प्रतिक्रिया 4