
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताएका छन् । बुधबार कांग्रेसको शेखर-गगन पक्षको भेलामा उनले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीले मापदण्ड बनाउनुपर्ने बताएका हुन् ।
राष्ट्रियसभा चुनावमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ उम्मेदवार बन्ने चर्चा छ । उनीहरुप्रति लक्षित गर्दै घिमिरेले चुनाव हारेकाहरुलाई राष्ट्रियसभामा लैजान नहुने बताएका हुन् । गत वर्ष भएको आम निर्वाचनमा सिटौला झापा-३ मा पराजित भएका थिए भने श्रेष्ठ समानुपातिक पद्धतिको उम्मेदवार सूचीमा भए पनि सांसद चयन हुन सकेका थिएनन् ।
नेता घिमिरेले कोशीका मुख्यमन्त्रीले दुई महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकामा आपत्ति जनाए । शेखर पक्षकै नेता कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीले पार्टीको ओखलढुंगा जिल्ला सम्मेलनमा बोल्ने क्रममा आफू मुख्यमन्त्री भएका पार्टीकै नेताहरुलाई चित्त नबुझेको बताएका थिए । उनले पार्टीका महामन्त्रीहरुमा परिपक्वता नदेखिएको पनि टिप्पणी गरेका थिए ।
बुधबार शेखर गगन पक्षको भेलामा नेता घिमिरेले मुख्यमन्त्रीले दुई महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्ने तर महामन्त्रीबारे टिप्पणी गर्न नसुहाउने बताए । ‘आफू मुख्यमन्त्री भएको दुई महिनासम्म मन्त्रिपरिषद बनाउन नसक्ने ? हामीलाई सुशासन सिकाउन सुहाउँछ ? मुख्यमन्त्री बनाएको महामन्त्रीलाई गाली गर्न हो ?’ घिमिरेले प्रश्न गरे ।
प्रतिक्रिया 4