+
+

डेरीको लापरबाही : दूधमा कपाल, माटो र बालुवाका कण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते २०:०२

२८ मंसिर, काठमाडौं । उपभोक्ताका लागि दैनिक उपभोग्य शक्तिवर्धक पेय पदार्थ दूधको गुणस्तरमा डेरी सञ्चालकहरुले गम्भीर लापरबाही गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको पछिल्लो एक सातामा गरेको बजार अनुगमनमा उपभोक्ताका लागि बजार पठाइने दूधमा कपाल, माटो र बालुवाका कणहरु पाइएको हो ।

यस्तै उपभोक्ताका लागि म्याद सकिएको दूध पुनः प्याक गरेर बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी एवम् प्रवक्ता आनन्द पोखरेलकाअनुसार बिहीबार ललितपुरको मिल्क टुडेको फ्याक्ट्री अनुगमनका लागि विभागको टोली पुगेको थियो ।

अनुगमनका क्रममा म्याद सकिएर बजारबाट उठाइएका दूधका प्याकेटलाई धुलो, हिलो र फोहोरसहित पुनः पास्चराइज्ड गर्न लागिएको अवस्थामा विभागले फेला पारेको थियो ।

‘करिब ७ सय लिटर हाराहारी दूधमा रौं, माटो, बालुवाको कण र दूधका फोहोर प्याकेटहरु थिए,’ पोखरेलले भने, ‘म्याद सकिएको खान नमिल्ने दूधलाई पुनः बजारमा पठाउन लागिएको अवस्थामा जफत गरेर नष्ट गरिएको छ ।’ डेरी उद्योगलाई पहिलो पटक भनेर ३ लाख रुपैयाँ जरिवाना गरिएको पनि पोखरेलले बताए ।

पोखरेलका अनुसार पछिल्लो समय बजार अनुगमनका क्रममा दुग्ध क्षेत्रमा मानव स्वास्थ्यमा असर पर्ने गम्भीर किसिमका हेलचेक्रयाइँहरु देखा परेका छन् ।

२७ मंसिरमा विभागले आधुनिक डेरी बालाजुमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा व्यवसायसँग सम्बन्धित कागजातहरू र चिज उत्पादनसँग सम्बन्धित विवरणहरूसहित तीन दिनभित्र वाणिज्य विभाग बबरमहलमा उपस्थित हुन भनिएको छ ।

यस्तै, २७ मंसिरमै भक्तपुरका थप ३ वटा डेरीले उस्तै प्रकृतिको कसुर गरेको वाणिज्यको अनुगमनमा फेला परेको प्रवक्ता पोखरेलले बताए ।

उत्पादन तथा उपभोग्य मिति उल्लेख नगरेको, पुरानो दूधलाई पुनः पास्चाइज्ड गरेर बजार पठाउन लागेको तथा पसल दर्ता समेत नगरी सञ्चालन गरेको कसुरमा डेरी उद्योग फेला परेका थिए ।

जसमध्ये २ वटा उद्योगले म्याद गुज्रेको तथा लेबल उल्लेख नगरेको दूध बजारमा पठाउने गरेको कसुरमा जनही २/२ लाख जरिवाना तिराइएको थियो । यस्तै, दर्ता विनै सञ्चालनमा रहेको एक उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?