२९ मंसिर, काठमाडौं । बलियो टीम पाकिस्तानलाई सेमिफाइनलमा रोक्दै युएई यू–१९ एसियाकपको फाइनलमा पुगेको छ ।
एसोसियटतर्फ अलराउण्डर क्रिकेटरका रुपमा उदाएका आयान अब्जल खान नेतृत्वको युएईले पाकिस्तान शुक्रबार ११ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको युएईले अलआउट हुँदै १९३ रनको औसत लक्ष्य तयार पारेको थियो ।
औसत लक्ष्य तयार पार्न कप्तान खानले ५५ रनको अर्धशतक बनाएका थिए । तर जवाफी ब्याटिङमा पाकिस्तानलाई युएईले बलियो दबाव सिर्जना गरे ।
तेस्रो विकेटका लागि ८३ रनको साझेदारी बनाउन बाहेक पाकिस्तानी ब्याट्सम्यानलाई युएईले जम्न दिएन ।
अन्तिम ६ बलमा पाकिस्तानलाई १२ रन चाहिएको थियो । तर लगातार दुई विकेट गुमाएर अलआउट हुँदै पाकिस्तान ११ रनले पराजित भयो ।
पराजयसँगै समूह एको विजेता बनेर आएको पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । तर समूह बीको उपविजेता बनेर आएको युएई भने पहिलोपटक फाइनलमा पुगेको छ ।
सेमिफाइनल आउन पनि युएईले श्रीलंकाविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो । तुलनात्मक कमजोर जापानलाई सजिलै हराए पनि श्रीलंका हराउनु युएईलाई सजिलो थिएन ।
अझ पहिलो खेलमै बंगलादेशसँग नराम्रोसँग पराजित भएको थियो । बंगलादेशसँग २२८ रनको लक्ष्य पछ्याएको युएई १६७ रनमै अलआउट भएको थियो ।
तर दोस्रो खेलमा युएईले श्रीलंकालाई हरायो । यो जित चानचुने थिएन । श्रीलंकाले स्कोर पनि राम्रै बनाएको थियो । तर २२३ रनको लक्ष्य पछ्याएको युएईले श्रीलंकालाई २ विकेटले हरायो ।
समूह चरणको अन्तिम खेलमा जापानलाई हराउँदा अरु खेलको नतिजाहरुले पनि युएईलाई नै साथ दियो । श्रीलंका र बंगलादेश जस्तो बलियो टोलीलाई पञ्छ्याउँदै युएई सेमिफाइनल आइपुगेको थियो ।
सेमिफाइनललाई अझ रोचक र सनसनी बनाउँदै युएई पहिलोपटक फाइनल पुगेको छ । अर्को सेमिफाइनल झनै रोचक बन्यो । आठ पटकको च्याम्पियन भारतलाई हराएर बंगलादेशल फाइनल पुगेको छ ।
अब आइतबार उपाधिका लागि बंगलादेश र युएईबीच खेल हुनेछ ।
प्रतिक्रिया 4