+
+

गठबन्धनका दलहरु चिढिने डरले कांग्रेसले सार्‍यो महासमिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते २०:४९

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक तेस्रो पटक सारेको छ । अब आगामी फागुन ७ देखि १० सम्म महासमिति बैठक हुने छ ।

शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकमा को छलफलको मुख्य एजेण्डा महासमिति बैठकको एजेण्डा थियो । पार्टी कार्यालय सानेपामा बसेको बैठकले महासमिति बैठकको नयाँ मिति फागुन ७ देखि १० लाई तोकेको छ ।

सुरुमा कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक राखेको थियो । त्यसपछि मंसिर २९ देखि पुस २ गते गर्ने निर्णय गरेको थियो । फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको थियो ।

यो पटक राष्ट्रिय सभा निर्वाचनलाई हेरेर बैठक सारिएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए ।

कांग्रेसका ४ चारसहित १९ र राष्ट्रपतिबाट मनोनित एक गरी २० जना राष्ट्रिय सभाका सांसदको कार्यकाल फागुन २० मा सकिँदैछ । १९ पदका लागि माघ ११ मा निर्वाचनको मिति तोकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले तालमेल गरेर निर्वाचन लड्ने तयारीमा छन् । कांग्रेसले १० जना उम्मेदवार आफूले पाउनुपर्ने दाबी गरेको छ ।

राष्ट्रियसभा निर्वाचनअघि महासमिति बैठक राख्दा गठबन्धन गर्न सहज नहुने नेताहरुको बुझाइ छ । किनकी कांग्रेसमा गठबन्धन विरोधी मत बढ्दै गएको छ । १६ देखि १९ पुसमा महासमितिको बैठक गर्दा गठबन्धन विरोधी आवाजहरु आउने र त्यसले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गर्न सहज नहुने कांग्रेस नेताहरुको बुझाइ छ ।

‘गठबन्धनको विरोध गर्ने संख्या धेरै हुन्छ । अरु दललाई गाली गर्ने र त्यसको २/३ पछि तालमेलको बलमा उम्मदेवारी दर्ता गर्ने कार्य अस्वभाविक हुन्छ,’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्, ‘गठबन्धनको विरोध गर्ने र तालमेल गरेर जाने कुरा सँगसँगै हुने जस्तो भएपछि बैठक सारिएको हो ।’

शुक्रबारको बैठकमा महासमिति बैठक सार्न नहुने पक्षमा मत राख्नेमा एक मात्रै पात्र अर्जुनरसिंह केसी थिए । जवाफमा उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा दलका उम्मेदवार निर्वाचित गराउन पनि महासमिति बैठक सार्न उपयुक्त हुने बताएका छन् ।

सभापति देउवाले शुक्रबारको बैठकमा माघ १६ र २४ का लागि दुई मिति प्रस्ताव गरेका थिए । महासमिति बैठकका लागि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र बुक गरेको छ । तर प्रस्तावित मितिमा सम्मेलन केन्द्र बुक भइसकेकाले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक तोकिएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?