+
+

कतारका प्रधानमन्त्रीले विपिन जोशी रिहा हुन्छन् भनेका छन् : परराष्ट्रमन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १८:३७

३० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् ।

कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले हमासले विदेशी नागरिक र गैरसैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त रहेको भन्दै नेपाललाई पनि आश्वस्त हुन आग्रह गरेको बताए ।

‘विदेशी र गैरसैनिक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल कुराकानी गरिरहेको, मुक्त हुनेमा आश्वस्त रहेको र नेपाली बन्धक पनि मुक्त हुने कुरामा आश्वस्त रहनुस् भन्नुभएको छ’, शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन भएका थिए । इजरायली सेनाले उनी हाल हमासको कब्जामा रहेको बताएको छ । तर उनको रिहा भएको छैन ।

हमाससँग राम्रो सम्बन्ध रहेका आधारमा नेपालले कतारलाई विपिन जोशीको रिहाइमा सहयोग गर्न आग्रह गरेको थियो ।

परराष्ट्रमन्त्री साउद कतार गएका बेला त्यहाँका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए । त्यस क्रममा उनले विपिन जोशी रिहाइमा सहयोग माग गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले रुसी सेना भर्नाका बारेमा नेपालले काठमाडौंस्थित रुसी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको धारणा स्पष्ट रुपमा राखेको बताए । नेपालले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन रुससँग आग्रह गरेको छ भने मृत्यु भएकाहरुको शव पठाउन पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?