
२ पुस, काठमाडौं । चालु आर्थिक वर्षको ५ माहिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागकाअनुसार गत साउदेखि मंसिर महिनासम्मको ५ महिनाको अवधिमा १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै, २१ वटा उद्योग/प्रतिष्ठानहरुले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौतामा लागानी भित्र्याएका छन् ।
चालु आर्थिक वर्षको मंसिरसम्म भित्रिएको लगानीबाट कुल १० हजार १२० जनालाई रोजगारी सृजना हुने विभागले जनाएको छ ।
तथ्यांकअनुसार मंसिर महिनामा मात्रै २१ वटा नयाँ उद्योगमा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । मंसिरसम्म लगानी प्रतिबद्धता जनाएकामध्ये ३ वटा उद्योग ठूलो, ७ वटा मझौला र १८९ वटा उद्योग साना छन् ।
विभागकाअनुसार लगानी प्रतिबद्धताको सबै भन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रमा छ । दोस्रो ठूलो आर्कषणको क्षेत्र सेवा क्षेत्र छ भने तेस्रोमा उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4