+
+

बुटवल र पोखरा जोड्ने सडकको दुर्गति देखेपछि प्रधानमन्त्रीले भने- म पनि फिल्डमा आउँछु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १६:५९

२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारस्थित ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन् । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ वटा सडक खण्डको भर्चुअल निरीक्षण गरेका हुन् । उनले एक्सन रुमबाटै आयोजनाका अधिकारीहरुसँग कामको प्रगति, समस्या र चुनौतीबारे कुराकानी गरे ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, यातायात सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल र गणेप्रसाद पाण्डेय तथा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल समेत ‘एक्सन रुममा उपस्थित थिए ।

२०७९ साउनसम्म सबै काम सकिनुपर्ने बुटवल–नारायणगढ सडक खण्डको काम अहिले करिब ३९ प्रतिशत मात्रै सकिएको छ । थपिएको म्यादअनुसार महिनामा औसत ४ प्रतिशत प्रगति हासिल गर्नुपर्ने यो आयोजनामा एक प्रतिशत पनि प्रगति हासिल भइरहेको छैन । खाल्डैखाल्डा भएको यो सडकखण्ड भएर यात्रा गर्ने हजारौं यात्रु दैनिक प्रभावित भइरहेका छन् भने धुलो/हिलोबाट स्थानीय पीडित छन् । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले  कामको गति बढाएको छैन ।पश्चिम खण्डतर्फ त स्थानीय तहहरुले ढुंगा गिट्टी बालुवा उपलब्ध गराउन आनाकानी गर्दा पनि समस्या भएको छ । हालको म्याद अनुसार आगामी २०८१ जेठसम्म सकिनुपर्ने यो आयोजना अहिलेकै गतिमा आगामी ५ वर्षमा समेत सक्न मुस्किल हुने देखिएको सम्बद्ध अधिकारीहरुले  बताएका छन् ।

पर्यटकीय नगरी पोखरालाई जोड्ने मुग्लिन–पोखरा सडक खण्डको हालत पनि उस्तै छ । अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का लिएको ४८ किलोमिटरको पश्चिम खण्ड (पोखरातर्फ) मा हालसम्म ७० प्रतिशत काम सकिनुपर्नेमा ११ प्रतिशत मात्रै काम भएको छ । यो सडकको पूर्व खण्डतर्फ पनि कामको गति लक्ष्यअनुसार छैन । यिनै समस्या प्रधानमन्त्रीले एक्सन रूमबाट सुनेका थिए ।

‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन,’ प्रधानमन्त्रीले आयोजनाहरुको दुगर्तिबारे भने,‘यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।’
गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा सरकारको काबुमा रहेको भन्दै उनले त्यो जिम्मेवारी पूरा गर्नुर्पो बताए । फिल्डका कार्यालयले समयमै सम्वन्धित ठाउँमा नियमित प्रतिवेदन दिनुपर्नेमा जोड छ ।

‘समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ,’ उनले भने,‘अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ । तोकिएको समयमा नै काम सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन ।’

दुबै महत्वपूर्ण परियोजना समयमै सकिनुपर्ने भन्दै उनले भने,‘म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’

‘यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक अवसर लिऔं । अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन,’ उनले भने,‘राष्ट्रिय गौरबका योजनामा काम २ सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?