२ पुस, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गर्ने महिला च्याम्पियनसिपसहित महिला यू-१६ र यू-१९ प्रतियोगिता गर्न नेपालले दाबी गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले साफका यी ३ प्रतियोगिताका लागि दाबी गर्ने निर्णय गरेको हो ।
बैठकले मध्यपुर युथ एसोसिएसनलाई विधान विपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्म फुटबलका गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको छ ।
यस्तै बैठकले शहीद स्मारक सी डिभिजन लिग फुटबल फागुन १५ गतेबाट गर्ने मिति अनुमोदन गरेको छ ।
बैठकले साफले सन् २०२४ बाट आयोजना गर्ने साफ क्लब च्याम्पियनसिपमा आवश्यक मापदण्ड पूरा गर्ने (शहीद स्मारक ए डिभिजन लिग विजेता) क्लबलाई सहभागी गराउने निर्णय पनि गरेको एन्फाले जनाएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक अल्बर्टो एनेसको कार्यकाल ३ महिना १५ दिनका लागि थप्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर र सहायक कोषाध्यक्षमा प्रविणकुमार यादवलाई नियुक्त गरेको छ ।
बैठकले ए डिभिजन तथा बी डिभिजन लिग, महिला लिग, जिल्ला लिगलगायतका अन्य प्रतियोगिताको मिति सम्बन्धित पक्षसँगको छलफलपछि एन्फा सचिवालयले तोक्ने छ ।
बैठकले एन्फाको विशेष साधारण सभा माघ ८ गते काठमाडौंमा र नियमित साधारण सभा फागुन १४ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4