
३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउनेदेखि रिकल (प्रतिआह्वान) को व्यवस्था गर्नुपर्ने समेत प्रस्ताव आएको छ ।
उपाध्यक्ष वेदुराम भुसाल संयोजकत्वको विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि नेताहरुले पदाधिकारीलाई समेत फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
‘केन्द्रीय पदाधिकारी र केन्द्रीयहरुलाई कार्य सम्पादनका आधारमा फिर्ता बोलाउन सक्ने समेतको व्यवस्था गरेर जाऔं भन्ने प्रस्ताव आएको छ’, उपमहासचिव गंगालाल तुलाधरले भने ।
उनका अनुसार, पाँच सय सदस्यसम्मको केन्द्रिय परिषद् बनाउने र त्यही परिषदले नेताहरुलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको छ । ‘वर्षमा एकपटक केन्द्रिय परिषदको बैठक बोलाउने र त्यो बैठकले कार्य सम्पादनको आधारमा अध्यक्षलाई समेत फिर्ता बोलाउन सक्ने व्यवस्था गरौं भन्ने पनि छ’, उनले भने ।
तर केही नेताहरुले भने केन्द्रीय कमिटी र पदाधिकारी हलबाटै निर्वाचित हुने व्यवस्था गर्दा रिकलको आवश्यकता नपर्ने समेत तर्क गरेका छन् । कतिपयले भने हलबाट केन्द्रिय कमिटी चयन गर्ने र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने मत राखेका छन् ।
तुलाधरका अनुसार, पदाधिकारीदेखि केन्द्रिय सदस्यहरुले पनि कार्यकर्ताबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने प्रस्तावमा भने लगभग सहमति जुटेको छ । तर अध्यक्ष माधवकुमार नेपालले बोल्न बाँकी रहेकाले कुनैपनि निर्णय भने बैठकले गरेको छैन ।
छलफलमा नेताहरुले पदाधिकारी संख्या घटाउनुपर्ने प्रस्ताव समेत ल्याएका छन् । ‘अध्यक्ष र महासचिव मात्रै राख्ने अथवा केही संख्या थप गर्ने भन्नेबारे छलफल चलिरहेको छ’, उपमहासचिव तुलाधरले भने ।
प्रतिक्रिया 4