+
+

रास्वपाको मिसन-८४ : धेरै सिट ल्याउने तिकडम कि जागरणको शब्द ?

 मिसन–८४ भनेको अहिले प्राप्त २१ जना सांसदहरूलाई निष्क्रिय राखेर ८४ को निर्वाचनमा ल्याएर देखाइदिन्छौं भनेर पर्खनु होइन, बरू समाजलाई सकारात्मक रूपमा उद्वेलित गर्दै ०८४ सम्म विश्वास जित्ने चुनावमा दुईतिहाइ ल्याएर अवस्था परिवर्तनका लागि वातावरण बनाउनु हो।

गणेश कार्की गणेश कार्की
२०८० पुष ३ गते १९:०६

राजनीतिक वृत्तमा मिसन-८४ अहिले ‘ट्रेन्डिङ टपिक’ रहेको छ। मिसन-८४ कसले कहिले सुरू गर्यो भन्ने ठ्याक्कै जवाफ पत्ता लगाउन गाह्रो छ। मिसन-८४ शब्दलाई अहिले लगभग सबै दलहरुले प्रयोग गरिरहेका छन्।

सायद राष्ट्रिय स्वतन्त्र पार्टीले अरूभन्दा बढी। र, सबैभन्दा पहिले पनि हो कि ! (यही लेखमा केहीपछि म रास्वपाले नै नेपाली राजनीतिमा मिसन–८४ सुरू गरेको हो भन्नेछु, जसको कारण हुनेछ।)

२०७९ को संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ ७ क्षेत्रमा मात्र निर्वाचित भएर ६ वटा निर्वाचन क्षेत्रमा दोस्रो र ५७ वटा निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा रहन सक्यो। भर्खरै जन्मिएको पार्टीका लागि यो उपस्थिति विस्फोटक र हस्तक्षेपकारी मानियो।

रास्वपाले जब उपनिर्वाचनमा झन् मत संख्या बढायो, तब मंसिर ४ को निर्वाचनमा रास्वपाको भोटलाई आँधीका रूपमा व्याख्या गर्नेहरू पनि झस्किए। रास्वपामाथिको प्रहार ह्वात्तै बढ्न थाल्यो। आफूले पाएको मतबाट रास्वपाको अभिभारा र महत्वाकांक्षा पनि बढ्यो। अनि सुरू भयो, मिसन–८४। यसैले रास्वपाका लागि मिसन–८४ को एक वाक्यको परिभाषा २०८४ को संसदीय निर्वाचनमा दुईतिहाइ ल्याउने अभियान हुनसक्ला। तर, मिसन–८४ वास्तवमा रास्वपाका लागि त्यति मात्र होइन।

रास्वपाका लागि मिसन–८४ के हो भन्ने जान्नुभन्दा अगाडि अहिलेसम्म आएका प्रतिक्रियाहरूको पहिचान र विवेचनाहरुको अध्ययन उपयोगी हुनसक्छ।

प्रतिक्रिया दिनेहरुका नजरमा मिसन–८४

राजनीतिक वृत्तमा कुनै अभियानका बारेमा निरपेक्ष मानिसहरू पाउन गाह्रो छ। अझ नेपाल जस्तो राजनीतिक चर्चा नै सबैभन्दा सहज, सुगम र परिचित विषय भएको मुलुकमा रास्वपा जस्तो पार्टीको अभियानका बारेमा निरपेक्ष रहने सम्भावना न्यून हुन्छ। स्वाभाविक हो, कोही आँखा चिम्लेर समर्थनमा छन्, कोही हातमुख धोएर विरोधमा छन्, कोही शंकासहित समर्थनमा छन्, कसैले सकारात्मक शंकाको सुविधा दिएका छन् र कोही राजनीतिले गलत लिक समात्ने हो कि भन्ने चिन्तामा छन्।

आँखा चिम्लेर समर्थन गर्नेहरूका बारेमा खासै धेरै चर्चा गरिरहनु नपर्ला। उनीहरूलाई मिसन–८४ को ठाउँमा अन्य कुनै मिसन भए वा कुनै मिसन नभए पनि केही फरक पर्दैन। तर यस्तो किसिमको परम्परागत राजनीतिक चेत बोकेका समर्थकहरू नै रास्वपाको पनि उत्पादन रहने कुरामा भने निकै लामो छलफल आवश्यक छ। रचनात्मक आलोचना सहितका विवेकपूर्ण समर्थकहरू बनाउन रास्वपाको भूमिका कम देखिनु तत्काल गर्नुपर्ने प्राथमिक कामहरूमा सबैभन्दा अगाडि हुनुपर्ने कुरा हो।

हातमुख धोएर विरोध गर्नेहरू प्राय:जसो पुराना पार्टीका परम्परागत कार्यकर्ताहरू छन्। तिनका बारेमा गरिने चिन्तन पनि चिन्ताको विषय बन्न सक्छ। जानकारी र सही सूचनाको एउटा दह्रो पर्खाल ती र समाजको बीचमा निर्माण गर्नु आवश्यक छ।

तेस्रो प्रतिक्रिया हो, शंकासहित समर्थन। यी पनि हुन चैं उही ड्याङका हुन् तर हेरौं न के गर्दा रहेछन् भनेर पर्खिनेहरूको ठूलो संख्या छ। उनीहरू रास्वपाका कार्यक्रमहरूप्रति यसकारणले मात्र सकारात्मक छन् कि उनीहरूले च्यात्ने गरिको पातलो भेटिसकेका छैनन् र रास्वपाको मिसन–८४ को उचित विकल्प देखिसकेका छैनन्। आफ्ना गतिविधिबाट यिनको मत जितिरहनु रास्वपाको लागि थप ऊर्जा खर्च गर्नुपर्ने ठाउँ हो।

चौथो प्रतिक्रिया छ, सकारात्मक शंकाको सुविधा दिनेहरू। सबै त कहाँ उस्तै होलान् र ? यी फरक छन् कि त भन्ने आधारमा समर्थन गर्नेहरू। एकपछि अर्कोलाई विश्वास गर्दै तर नथाकेकाहरूको समूह हो यो। यो अलि बढी सचेत, आशावादी र सकारात्मक समूह पनि हो। यिनीहरुलाई काम गर्ने पार्टी र नेता चाहिएको छ। रास्वपाले आफूलाई पटक–पटक पुष्टि गरिरहनुपर्ने समूह पनि हो यो।

र, अर्को प्रतिक्रिया समूह छ, मिसन–८४ को कारणले राजनीतिले गलत लिक समात्ने हो कि भन्ने चिन्ता। यो समूहलाई २१ सांसदहरू नै केही सकारात्मक काम गर्न पर्याप्त संख्या हो भन्ने लाग्छ। उनीहरू मिसन–८४ भनेर रास्वपा लागिरहँदा अहिले प्राप्त भूमिका खेर फाल्ने र रास्वपासँगै प्रतिस्पर्धामा लागेर अन्य दलहरू पनि काम गर्नमा भन्दा आगामी चुनावका गतिविधिमा ऊर्जा र समय सक्ने हुन् कि चिन्ता छ। यसले २०८४ सम्मको समय उसै खेर जानेमा चिन्तित छन्। मिसन–८४ को स्पष्टता सबैभन्दा बढी आवश्यकता यही समूहलाई छ।

प्रतिक्रिया जस्तै बहुआयामिक छ रास्वपाको मिसन–८४

न्यूनतम ५ किसिमका प्रतिक्रियाहरुले रास्वपाको मिसन–८४ लाई बेग्लाबेग्लै किसिमले परख गरिरहेका छन्। यो केवल आँखा नदेख्नेहरूले हात्ती छामेको कथा जस्तो होइन। मिसन–८४ बहुआयामिक नै छ।

रास्वपासँग अहिले नै २१ जना सांसदहरू छन्। २१ जना सांसदले संसद्मा र निर्माण हुँदै गरेको पार्टी संगठनले समाजमा पार्नुपर्ने फरक र गर्नुपर्ने हस्तक्षेपका कार्यक्रमहरु हुनै पर्छ।

नेपालमा सांसद वा भनौं नेता, त्रिकालदर्शी र सर्वज्ञानी हुनुपर्ने सोच देखिन्छ। जान्दिनँ वा गर्दिनँ भन्ने नेता नै हुँदैन भन्ने भावनाले जरा गाडेर बसेको छ। वडा सदस्यदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मको भूमिका एउटा सांसदले नै गर्नुपर्ने धारणा देखिन्छ। त्यही धारणाले किचिएर सकी–नसकी सांसदहरू दिनरात यताबाट उता र उताबाट अन्तै दौडिरहेका देखिन्छन्। तर त्यसले न परिणाम ल्याएको छ, न सांसदलाई संस्थाका रूपमा बलियो बनाएको छ।

सांसद व्यक्ति होइन, राज्यको संस्था हो र यसको भूमिका निश्चित छ भनेर बलियोसँग भन्न सक्ने र आफूले प्राप्त कार्यक्षेत्रमा बलियो उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता छ। रास्वपाको मिसन–८४ त्यो पनि हो, जसले सांसद र अन्य राजनीतिक पदहरूमा फरक छ भनेर उदाहरण प्रस्तुत गर्छ। संसद्मा संकल्प प्रस्ताव, बजेटको निगरानी, संसदीय समितिमा नीतिगत हस्तक्षेप, सरोकारवालाको विश्वास सहित नीति परिवर्तन वा निर्माणसँगै राष्ट्रिय नीतिनिर्माणमा लोकतन्त्रीकरण, गैरसरकारी विधेयकहरू मार्फत नीति–निर्माणमा उदाहरण पस्किन सक्छ।

भ्रातृ संगठन, राजनीतिक भागबन्डा, नियुक्ति लगायत कार्यहरूमा राजनीतिक दलहरूको अनुचित तवरको उपस्थितिका विरुद्धमा जनमत सिर्जना गर्दै राजनीतिक र अराजनीतिक क्षेत्रहरूको पहिचान र भिन्नता प्रष्ट पार्ने उद्देश्यका लागि छुट्याइएको अवधि पनि हो, मिसन–८४।

राजनीतिक दलहरूको परम्परागत अस्वस्थ प्रतिस्पर्धा र गठबन्धनको बोझ बोकिरहेको प्रणालीका बारेमा भण्डाफोर अभियान पनि हो, मिसन–८४। त्यस्तै, परम्परागत वादहरुको धङ्धङीबाट बाहिर निकालेर लोककल्याणकारी राष्ट्रको उद्देश्यका लागि जुनै वादसँग समदुरी बनाउन सक्ने वातावरण बनाउन सक्नु पनि हो, मिसन–८४।

मिसन–८४ भनेको अहिले प्राप्त २१ जना सांसदहरूलाई निष्क्रिय राखेर ८४ को निर्वाचनमा ल्याएर देखाइदिन्छौं भनेर पर्खनु होइन, बरू समाजलाई सकारात्मक रूपमा उद्वेलित गर्दै अहिले हस्तक्षेपकारी राजनीतिक अभ्यास गरेर २०८४ सम्म विश्वास जित्ने र २०८४ को निर्वाचनमा दुईतिहाइ ल्याएर अवस्था परिवर्तनका लागि वातावरण बनाउनु हो।

रास्वपाको मिसन–८४ को अर्थ सही गर्न नसके रास्वपा पनि विस्थापित हुनसक्छ भन्ने सत्यलाई स्वीकार्दै अन्य दलहरूलाई यो सप्रिने वा सकिने अन्तिम विकल्प हो भन्ने नम्र चेतावनी पनि हो। त्यो सँगसँगै सुशासन र अवस्था परिवर्तनका एजेन्डा र आदर्शहरूलाई अन्य दलहरुमा पनि संक्रमण गरेर त्यसको राजनीतिक नेतृत्व लिने रणनीति पनि हो, मिसन–८४।

यसैले, रास्वपाको मिसन–८४ ले पार्टीभित्र गर्नुपर्ने कर्तव्य, पार्टीले समाजमा देखाउनुपर्ने आदर्श, पार्टीको चरित्र निर्माण र सांसदहरुले संसद्मा निभाउनुपर्ने भूमिकासँगै २०८४ को संसदीय निर्वाचनमा प्रस्तुत हुने उम्मेदवारहरूको छनोट र त्यसपछि राष्ट्रिय राजनीतिमा ल्याउने परिवर्तनको खाका लगायत सबैको एकीकृत गृहकार्य र अभियानको सन्देश प्रवाह गर्दछ।

र, रास्वपाको मिसन–८४ सबैले स्वीकारिसकेका छन्

सामाजिक सञ्जालमा होस् या चियापसलमा, संसदमा होस् वा सबैजसो नेता तथा अभियन्ताहरूको दृष्टिकोणमा होस्, मिसन–८४ भन्ने बित्तिकै रास्वपाको सन्दर्भ आउँछ। सायदै कसैले फरक मत राख्ला कि मिसन–८४ ले रास्वपाको अभियान बुझाउँदैन। यो नेपाली राजनीतिक वृत्तमा सर्वमान्य भइसकेको अवस्था छ। रास्वपाका लागि मिसन–८४ लाई सबैको नजरमा आफ्नो अभियान बनाउन सक्नु पहिलो सफलता हो।

यसपछि अनेकन् यस्ता कामहरू छन्, जसले आम मानिसलाई बुझाउनुपर्छ कि मिसन–८४ को अर्थ के हो ! त्यसपछि बल्ल बन्छ मिसन–८४ अर्थात् जागरणको शब्द। अर्थात् सत्तासीन तथा प्रतिपक्षमा रहेका अन्य दलहरुका लागि विनम्र चेतावनी। कुशासनमा अल्मलिएको राज्य प्रणालीका लागि सत्याग्रहको शब्द। २०८४ को चुनाव मार्फत गरिने गत निर्वाचनको पाठको परीक्षा।

गणेश कार्की रास्वपा नेता हुन् ।

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?