
४ पुस, काठमाडौं । शरीरमा हुने रोग वा कमजोरीका बारेमा थाहा पाउन हामीले धेरै पटक रगत परीक्षण गराएका छौं, तर के त्यस्तो कुनै परीक्षण छ, जसले शरीरको कुन अंग चाँडो बुढो हुँदैछ भनेर पत्ता लगाउन सक्छ ?
रगत परीक्षण गरेर मात्रै मानिसको शरीरका भित्री अंगहरु कति छिटो बुढो हुँदै गएको थाहा पाउन सकिने वैज्ञानिकहरुको दाबी छ । शरीरको कुन अंग बिग्रने सम्भावना छ भन्ने पनि पत्ता लगाउन सकिने उनीहरुको भनाइ छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयको टोलीले मानव शरीरका मुटु, मस्तिष्क र फोक्सोलगायतका ११ अत्यावश्यक अंगको परीक्षण गरेर यस्तो तथ्य पत्ता लगाएको दाबी गरेका हुन् ।
उनीहरुले अनुसन्धानमा संलग्न गरएका व्यक्तिहरू मध्यम उमेरका वा वृद्ध व्यक्तिहरू थिए ।
यस अनुसन्धानको नतिजाले ५० वर्षभन्दा माथिका प्रत्येक पाँच जनामा कम्तीमा एउटा अंग आफ्नो उमेरभन्दा छिटो बुढो हुने गरेको देखाएको छ ।
वैज्ञानिकहरूका अनुसार १०० जना मध्ये कम्तिमा एक वा दुई जनाको शरीरका धेरै अंगहरू उनीहरूको उमेर भन्दा बुढो हुन सक्छन् ।
शरीरका अंगहरूको उमेरमा भिन्नता
‘शरीरको कुन अंग चाँडो बिग्रँदै गएको छ भनेर थाहा पाउँदा भविष्यमा स्वास्थ्यमा गिरावट आउने अनुमान गर्न सकिन्छ,’ अनुसन्धानकर्ताहरूले नेचर जर्नलमा भनेका छन् ।
उदाहरणका लागि मुटु चाँडै बुढो हुँदा हृदयघातको जोखिम बढाउँछ, जबकि मस्तिष्कले डिमेन्सियाको जोखिम बढाउँछ ।
शरीरको कुनै अंग तीव्र रूपमा बुढो भएमा १५ वर्षमा निश्चित रोग र मृत्युको जोखिम हुने पनि अनुसन्धानले देखाएको छ ।
कसरी भयो अध्ययन ?
हाम्रो शरीर विभिन्न अंगहरुको समूह मिलेर बनेको हुन्छ । कोशिकाहरू शरीरको विकास र राम्रो कार्यका लागि आवश्यक छन् । यी कोशिकाहरू प्रोटिनबाट बनेका हुन्छन् र यो प्रोटिन एमिनो एसिडबाट बनेको हुन्छ ।
वास्तवमा, कुनै पनि अंगको उमेर पत्ता लगाउन रगत परीक्षण गर्दा शरीरमा उपस्थित हजारौं प्रोटिनको स्तर नापिन्छ, जसले शरीरको कुन अंग कुन गतिमा बुढो हुँदैछ भनेर थाहा पाउन मद्दत गर्छ ।
अनुसन्धानकर्ताहरूले आफ्नो नतिजा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर, धेरै रगत परीक्षणको नतिजा र अन्य बिरामी डेटा प्रयोग गरेर निकालेका थिए।
अनुसन्धानकर्ताहरूमध्ये एक डा. टोनी वाइस-कोरले भनेका छन्, ‘जब हामीले ठूलो संख्यामा गम्भीर रोग नभएका मानिसहरूको शरीरका अंगहरू र तिनीहरूको जैविक उमेरको तुलना गर्यौं, हामीले पत्ता लगायौं कि १८.४ प्रतिशत मानिसको ५० वर्षभन्दा माथिको उमेरमा कम्तिमा एउटा अंग उनीहरूको उमेरभन्दा बुढो भइसकेको थियो रचाँडै बुढो हुँदै गइरहेको थियो ।’
अध्ययनबाट अर्को १५ वर्षमा ती व्यक्तिको शरीरको त्यो अंगमा रोगको जोखिम बढेको पनि पत्ता लागेको उनले बताए ।
प्रतिक्रिया 4