
काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘मेयर’को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । बुधबार निर्माता र अभिनेता लामिछानेबीच लिखित सहमति भएको छ ।
खगेन्द्रले यो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्नेछन् । यो फिल्म मेयर थापाको जीवनमा आधारित हुने जनाइएको छ ।
माघदेखि सर्लाहीमै यो फिल्मको छायांकन सुरु हुनेछ । अभिनेत्री भने तय हुन बाँकी छ । ‘भरतकुमार थापाको आनीबानी, हुलिया र स्वभावसँग खगेन्द्रजीको धेरै कुरा मिल्छ । खगेन्द्रजी पनि पर्दाबाहिर हक्की स्वभावको हुन्छ । यसबाहेक उहाँ कुशल अभिनेता हो,’ खगेन्द्रको कास्टिङबारे निर्देशक खनालले भने ।
खगेन्द्रले केही दिनदेखि मेयर थापाको आनीबानी र स्वभाव सिकिरहेका छन् । फिल्ममा खगेन्द्रले तन्नेरी अवस्थाका मेयर थापा र अहिलेको उमेरको थापा गरेर दुई चरणको पात्रको अभिनय गर्नेछन् ।
दुई चरणमा चरित्र निर्वाह गर्नुपर्ने भएकाले केही मेकअप सामग्री विदेशबाट ल्याउने तयारी भएको दीपेन्द्रले बताए । पशुपतिप्रसाद, धनपति र भष्मे डनपछि दीपेन्द्र र खगेन्द्रबीच यो चौथो सहकार्य हो । फिल्म ‘मेयर’लाई सागर मैनाली र अरविसा थापाले निर्माण गर्न लागेका हुन् ।
मेयर थापाको कुरा गर्दा उनी गत वर्षको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए ।
पहिलो कार्यकालमा मेयर थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले । ठूलो कृत्रिम तालको निर्माण गरी पर्यटक आकर्षणदेखि आम्दानी गर्नेसम्मको बनाएका छन् ।
प्रतिक्रिया 4