
४ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिकमा वैदेशिक सहायता प्रतिबद्धतामा ठूलो गिरावट आएको छ ।
अर्थ मन्त्रालयका अनुसार कात्तिक मसान्तसम्म वैदेशिक सहायता ४० अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्र रहेको छ । यो गत आवको यसै अवधिको तुलनामा ६०.८ प्रतिशत कम हो । सो आवमा १ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । अर्थ मन्त्रालयले यस आवमा औचित्यका आधारमा मात्र वैदेशिक सहायता परिचालान गर्ने नीति लिएको बताउँदै आएको छ ।
प्राप्त भएको वैदेशिक सहायतामध्ये अनुदान सहायता ३५.१ प्रतिशत र ऋण सहायताको हिस्सा ६४.९ प्रतिशत रहेको छ । यसमध्ये सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा वैदेशिक सहायताको प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।
वैदेशिक सहायता प्रतिबद्धता जनाउने निकायमध्ये विश्व बैंक, एशियाली विकास बैंक, युरोपेली युनियन छन् । जसले क्रमशः ३३.७ प्रतिशत, ३२.४ प्रतिशत र २६.१ प्रतिशत हिस्सा ओगटेका छन् ।
प्राप्ति झनै कमजोर
वैदेशिक अनुदान प्रतिबद्धताको तुलनामा प्राप्ति झनै कमजोर देखिन्छ । यस आवको पहिलो चौमासिक अवधिमा सरकारले २ अर्ब ७६ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।
अघिल्लो आवको सो अवधिमा ३ अर्ब ४२ करोड अनुदान आएको थियो । यस अवधिमा बाह्य ऋण १५ अर्ब ८५ करोड रुपैयाँ बराबर भएको छ ।
प्रतिक्रिया 4