
काठमाडौं । दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसें तिमीलाई’का दुई पोस्टर सार्वजनिक भएका छन् । पुस २७ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको पोस्टरले कथावस्तुबारे जानकारी गराउँछ । प्रेमभाव र त्यसले निम्त्याउने संवेदनालाई पोस्टरमा चित्रण गरिएको छ ।
श्रेष्ठको अघिल्लो फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीले अभिनय करिअर थालेका थिए । उनको यो २७ औं फिल्मबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । ‘यो विशुद्ध प्रेम कथानक फिल्म हो । त्यसैले यसमा दुई नयाँ कलाकारलाई प्रवेश गराएका छौं । उहाँहरुलाई उद्योगले स्वागत गर्नेछ भन्ने आशा छ,’ नयाँ कलाकारबारे श्रेष्ठले भने ।
डेब्यु कलाकार रक्षाले प्रेमकथाको फिल्मबाट अभिनय यात्रा थाल्न पाउँदा खुसी लागेको बताइन् । किरणले आफू सहाउँदो भूमिकामा फिल्ममा प्रस्तुत भएको बताए ।
चर्चित गीत ‘कालो चस्मा लाऊ है मैया’लाई रिमेक गरेर फिल्ममा समावेश गरिएको छ । फिल्म ‘बादलपारि’मा समावेश उक्त गीतमा सुरेन्द्र रानाको शब्द र शम्भुजीत बासकोटाको संगीत छ । प्रमोद खरेल र मिलन नेवारको स्वर छ ।
निर्माता राजाराम बुढाथोकीले फिल्ममा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण रहेको बताए । अहिलेको पुस्तालाई फिल्म मनपर्ने उनको दाबी छ । रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम)को ब्यानरमा बनेको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको छायांकन नेपालसँगै सिक्किममा गरिएको छ ।
प्रतिक्रिया 4