
६ पुस, धनगढी । कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर भएको दुर्घटनामा मृत्यु भएका भनिएका युवकलाई ठक्कर दिएको आरोपमा प्रहरीले कार चालकलाई पक्राउ गरेको छ ।
गत मंगलबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिकाको जंगल रिसोर्ट नजिकै मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका २९ वर्षीय धोजबहादुर शाहीलाई ठक्कर दिएको भन्दै कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले मोटरसाइकल अनियन्त्रित भएर सडकमा शाही खसेको अवस्थामा ठक्कर दिएको भन्दै जाहेरी परेपछि कार र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार बागमती प्रदेश ०१ ०२९ च ३८८७ नम्बरको कार र सो कार चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय गणेशबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार शाहीले चलाएको सुदूरपश्चिम प्र ०१ ००१० प ५०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा खसेको अवस्थामा खड्काले चलाएको कारको अगाडिको दायाँतर्फको चक्काले ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ ।
घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मंगलबार राति नै मृत्यु भएको थियो ।
प्रतिक्रिया 4