
८ पुस, काठमाडौं । संकथन सामयिक म्यागजिन विमोचनमा मुख्य वक्ता भएर पुगेका समाजशास्त्री चैतन्य मिश्रले शनिबार गाउँ-सहरमाथि बोल्ने क्रममा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सम्झँदै आफ्ना तर्कहरु दिए ।
कोइरालाले नेपाल गाउँ नै गाउँले भरिएको देश भनेर आफ्ना योजनाहरु सुनाउने गरेको सम्झँदै मिश्रले यो परिस्थितिमा गाउँ नै परिवर्तनशील बन्न पुगेकाले पुरानै धारणा पालिनराख्न आग्रह गरे ।
‘हाम्रो राजनीतिक नेतृत्व अनि नीति निर्माताहरुले कोइरालाझैं गाउँ नै गाउँले भरिएको देश भने पनि गाउँ-सहर दुवै पहिलेजस्तै छैनन्, यी आ-आफ्नै तवरले बदलिँदै गएका छन्,’ मिश्रले भने, ‘नेपालमात्रै होइन, विश्वको गैरग्रामीणिकरण भइरहेको छ । अनि खेतीकिसानीबाट बाहिर आउने समुदाय पनि बढ्दै गएको छ । आफ्नो बारीमा आफैं गरिखाने मान्छेहरु कम हुँदै गएका छन् ।
मिश्रले एक ठाउँबाट सम्भावना खोज्दै अर्को ठाउँ पुग्नु मानव जातिको स्वभाव नै भएकाले त्यसलाई पलायन भयो भनी नबुझ्न आग्रह गरे । अर्को देश जाँदैमा कोही पलायनवादी नहुने भन्दै उनले सहरका मानिसहरु समेत युरोप, अमेरिका, अष्ट्रेलिया वा खाडी मुलुक पुगेर भए पनि श्रम सिर्जनाका लागि पुगेको यथार्थबोध गर्न मिश्रको भनाई छ ।
‘बाहिर जाने मान्छेहरुलाई आदरपूर्वक हेर्दैनौं, काठको बाकसको विम्ब देखाएर नकारात्मक चित्रण मात्रै हुने गर्छ, जबकि यहाँ श्रम गर्ने क्रममा बित्नेहरुको संख्या पनि धेरै छ,’ मिश्र भन्छन्, ‘पलायन– एउटै शब्दले धेरै कुरा भन्छ । शब्दकोशले पलायनको शब्दार्थ अर्कै भन्छ, तर हामी जेसुकै कुरालाई पनि पलायन भन्दिन्छौं । डराउनु, परिस्थितिसँग भाग्नु, सुइँकुच्चा छाप्नु पलायन हो, तर हातखुट्टा नंग्रा खियाउन तयार हुनु पलायन होइन ।’
मिश्रले गाउँ छाड्नेहरुलाई पलायनवादी नभन्न आग्रह गरे । गाउँ–सहर एक आपसका विरोधीजस्तो नभएको बरु परिपुरकका रुपमा देखिने उनको भनाई छ ।
मिश्रले भाग्यवादका कारण नेपालको विकास हुन नसकेको भन्ने भाष्यलाई पनि चुनौती दिँदै नेपालमा कर्मशील मानिसहरु बढ्ता रहेको अध्ययन र अवलोकनले देखाएको तर्क गरे । जहाँसुकै पुगेर पनि काम गर्न तयार हुने, भीरपहरा फोरेर भए पनि बस्ती बसाल्ने मानिसहरुलाई भाग्यवादी भनिनु गलत रहेको उनको भनाई छ ।
समाजशास्त्रीले गाउँको खेतीयोग्य जग्गालाई यत्तिकै राख्न नपाइने भन्दै खेती प्रयोजनका जमिन त्यसै राखेको पाइए सरकारले कर लगाउनुपर्ने बताए । त्यसो गर्न सके अहिलेको गाउँलाई अझै राम्रो स्तरमा लैजान सकिने भन्दै राजनीतिक वर्गहरुले यस्तो विषयलाई प्राथमिकता दिनुपर्ने भनाई राखे ।
गाउँ र सहरबारे भुगोलविद् प्रा. पीताम्बर शर्माको लामो आलेखसहित प्रकाशित २ सय पृष्ठको संकथन मन्थनमालाका सम्पादक रविन गिरी हुन् । नीरज भारीले प्रकाशन गरेको पहिलो अंकमा ५५ लेखकका रचना छन् । प्रकाशक भारीले म्यागजिनहरुको खडेरीमा आफूहरुले गरेको प्रयासलाई निरन्तरता दिन कोसिस गर्ने बताए ।
प्रतिक्रिया 4