
१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब पूर्वाधारहरूको ब्यारेक मोडेलमा काम गर्ने बताएका छन् । पूर्वाधार निर्माण समयमा सम्पन्न नहुँदा अर्थतन्त्रको लागत बढेको भन्दै उनले यस्तो बताएका हुन् । ‘पूर्वाधारमा कम्तीमा दुई सिफ्टको काम हुनेगरी प्रत्याभूति हुने र ब्यारेक मोडेलमा लैजाने गरी मैले नीतिगत र व्यवहारिक छलफल गरिरहेको छु’, उनले भने । ८० को दशकलाई तीव्र विकासको दशक बनाउने संकल्प गरिएको भन्दै उनले पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्ने दाबी गरे ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यस वर्ष ७७६. ६१ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ भने ५८७.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा १८१.२९ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ’ उनले भने ।
थप १ लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको उनले बताए । ‘यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन । नारायणगढ–बुटवल खण्ड वा मुग्लिन–पोखरा खण्डकै उदाहरण लिउँ, जनताले बाटो भत्केको व्याख्या गरिरहेका छन् जबकि बाटो त बनिरहेको छ। समयमा आयोजनाहरू पूरा नहुँदा यस्तो नकारात्मक भाष्यमात्र बनेको छैन, लागत बढेको छ, जनताले ठूलो सास्ती खेप्नुपरेको छ,’ उनले भने ।
प्रतिक्रिया 4