
१० पुस, विराटनगर । दश महिनाअघि कारागार चलान भएका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनी सोमबार कारागारबाट छुट्दै थिए । उनका छोराछोरी बुबालाई लिन बिहान साढे ९ बजे कारागार जाने तयारीमा थिए ।
बुबा आउने भएपछि छोरी पूजासहित परिवारका सदस्य खुसी थिए । तर सोमबार बिहानै सहनीको मृत्युको खबर घरमा पुग्यो । छोरी पूजा दौडिएर कोशी अस्पताल गइन् । अस्पतालको शव गृहमा लास राखिएको थियो । सुरुमा प्रहरीले हेर्न दिएनन्, रोइ कराइ गरेपछि बल्ल मुख हेर्न दिए ।
मंगलबार दिउँसो अस्पतालमा भेटिएकी पूजाले भनिन्, ‘बिरामी भएको र अस्पताल ल्याएको पनि जानकारी दिएनन्, हामीलाई लास मात्रै देखाए ।’
सहनीको मृत्यु शंकास्पद भन्दै परिवारले शव बुझ्न मानेको छैन । मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की कोशी अस्पतालमा आफन्त बिरामी हेर्न जाँदा बाटोमा रोकेर पूजाले न्यायका लागि हारगुहार गरिन् । बुबालाई मारिएको शंका गर्दै छानबिन गरिदिन आग्रह गरिन् । पूजाको रोइकराई सुनेपछि मुख्यमन्त्री म हेर्छु भन्दै फर्किए ।
घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गरेपछि मात्रै बुबाको शव बुझ्ने उनको अडान छ । ‘बुबालाई तीन दिनदेखि अस्पतालमा हुँदा जानकारी दिएनन्’, उनले भनिन्, ‘घरको चारवटा नम्बर राखेको थियो, तर मृत्युपछि मात्रै फोन गरे ।’
जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले अस्पताल लगेपछि परिवारलाई जानकारी गराउन नसक्नु कमजोरी भएको बताए । मृतकले परिवारका सदस्यको भनेर दिएको नम्बर गलत परेका कारण समयमा नै जानकारी गराउन नसकेको उनको भनाइ छ ।
‘श्वासप्रश्वासमा समस्या देखिएपछि हामीले उहाँलाई अस्पताल लगेका थियौं, आफन्तलाई जानकारी गराउन खोज्दा उहाँले (मृतकले) दिएको नम्बरमा फोन लागेन ।’
‘अटो र टिभी खोसेर जेल हालियो’
छोरी पूजाका अनुसार बुबा चण्डेश्वर ठेला कुदाउने मजदुर हुन् । उनका एक छोरी र दुई छोरा छन् । ठेला चलाएर जसोतसो गुजारा गरिरहेका उनलाई विराटनगर शान्ति चोकका दुर्गीनारायण साहले अटो किनेर चलाउनु भन्दै करिब पाँच वर्षअघि दुई लाख रुपैयाँ ऋण दिएका थिए ।
ऋण लिएर अटो किनेका उनले पटक पटक पैसा तिरे । तर एक वर्ष नपुग्दै साहले अटो खोसेर लगेको चण्डेश्वरको परिवारको दाबी छ ।
सँगै अटो किन्दा चिट्ठामा परेको ४२ इन्चको कलर टिभी पनि खोसे । अटो खोसेपछि चन्डेश्वरले फेरि ठेला चलाएर गुजारा गर्दैथिए ।
पटक पटक गरेर लिएको सबै ऋण बुबाले तिरेको पूजाको दाबी छ । उनका अनुसार तिरिसकेपछि ऋण दिदाको कागज च्यात्न आग्रह गर्दा च्यात्छु भनेका दुर्गी भनिने दुर्गानारायणले पाँच लाख तिर्नु भन्दै दबाब दिइरहे । उनैले अदालतमा लेनदेन मुद्दा दायर गरे । चार लाख विगो दाबी गरिएको मुद्दामा साहकै पक्षमा फैसला आयो ।
मुद्दा दर्ता र अदालतको फैसला आउँदासम्म चण्डेश्वरलाई कुनै जानकारी थिएन । २०७९ माघ १७ गते घर पुगेका दुई प्रहरीले उनलाई पक्राउ गरेर ल्याएका थिए । प्रहरीले पक्राउ गर्दा भोलि जिल्लामा आउनु भनेको थियो । भोलिपल्ट जिल्लामा आउँदा चण्डेश्वर भेटिएनन् ।
आफन्तले खोज्दै जादा कारागारमा भेटिए । उनी साहसँगको लेनदेन मुद्दामा कारागार परेको जानकारी पाए । ‘बुबाले तिरिसकेको ऋणको उसले कागज च्यातेको थिएन, पछि अदालतमा मुद्दा हालेछ’, पूजाले भनिन्, ‘कारागारमा पुगेपछि मात्रै ऋणका बारेमा थाहा भयो ।’
त्यसपछि भने पूजाको परिवार बुबा छुट्ने आशमा थियो । तर छुट्ने दिन नै शंकास्पद मृत्यु भएपछि आफन्त आक्रोशित छन् ।
प्रतिक्रिया 4