+
+

सुन्तला र पर्यटन : अरुणाचल प्रदेशबाट सिक्नुपर्ने विकास रणनीति

दिल्लीबाट सुदूरपूर्वमा रहेको, केन्द्रमा कुनै राजनैतिक पहुँच नभएको, रोजगारीका अवसर नभएको प्रदेशले आज सुन्तला र पर्यटनको रणनीतिले कसरी आफूलाई बदलिरहेको छ भन्ने अरुणाचल प्रदेशले देखाउँछ ।

नम्रता शर्मा नम्रता शर्मा
२०८० पुष १२ गते ८:०८
Photo Credit : Sarad Verma
९ किलोमिटर लामो डा.भुपेन हजारिका पुल ।

१२ पुस, अरुणाचल प्रदेश, भारत । ‘नेपाल र अरुणाचल प्रदेश बीच बुद्धको कनेक्सन छ त्यसैले हामीले बुद्धिस्ट सर्किट मार्फत पर्यटन विकास गर्न सक्छौं’, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खांडूले छोटो कुराकानीका क्रममा भन्नुभयो । १४-१८ डिसेम्बर २०२३ मा अरुणाचल प्रदेशको डाम्बुकमा भएको सुन्तला तथा पर्यटन महोत्सवको उद्घाटनका अवसरमा मैले मुख्यमन्त्री खांडूसँग छोटो संवाद गर्ने अवसर पाएकी थिएँ ।

मुख्यमन्त्री खांडूले प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिले भारतका ८ उत्तरपूर्वी प्रान्तको विकासमा धेरै मद्दत पुगेको बताए । अरुणाचल प्रदेशको भौगोलिक अवस्थिति र यहाँको सांस्कृतिक परिवेश थाइल्याण्ड, म्यानमार लगायत मुलुकसँग निकै मिल्ने भएको मुख्यमन्त्रीको भनाइ थियो । उनले दक्षिणपूर्वी एशियामा भारतको अरुणाचल प्रदेशले पर्यटन विकासका लागि अग्रसरता लिइरहेको पनि दाबी गरे ।

पर्यटन विकासकै क्रममा सन् २०१५ देखि सुन्तला महोत्सवको सुरुआत गरिएको र यसको प्रभाव अब देखिन थालेको उनको भनाइ थियो । प्रधानमन्त्रीको पर्यटन विकास योजना र दिनदयाल उपाध्याय योजनाबाट अरुणाचलमा धेरै कार्यक्रम गरिएका रहेछन् ।

यी योजनाबाट ‘होमस्टे’ लाई प्रोत्साहन दिइएको र त्यसले यो प्रदेशको सम्पूर्ण भाग र डाम्बुक जस्तो सानो ठाउँमा समेत आयआर्जनको स्रोत बढाएको स्थानीयवासीको भनाइ थियो । यसको व्याख्या गर्दै मुख्यमन्त्री खांडूले भने, ‘डाम्बुक पहिले कालापानी भनेर चिनिन्थ्यो, यहाँ आउन धेरै दिन लाग्थ्यो, हात्ती चढेर समेत आउनुपर्थ्यो ।’

वर्तमान प्रधानमन्त्रीको उत्तरपूर्व सम्बन्धी नीतिले अरुणाचलको सडक र भौतिक पूर्वाधारमा ठूलो परिवर्तन आएको मुख्यमन्त्रीको भनाइ थियो । प्रदेशको विकासमा केन्द्रबाट नै धेरै सहयोग पाउनुका साथै स्थानीयवासीले पनि अब लगानी गर्न थालेको उनले बताए ।

भाजपा सरकारका धेरै नीतिहरू मन नपराउने कलकत्ताकी एकजना पत्रकारका भनाइमा ‘उत्तरपूर्वी राज्यहरूको विकासमा केन्द्र र प्रदेश सरकारको कार्य सराहनीय छ । यसको कदर गर्न जरूरी छ ।’ प्रधानमन्त्री मोदीले सन् २०१७ मा ९ किलोमिटर लामो डा.भुपेन हजारिका पुलको उद्घाटन गरेर जनताको मन जितेका छन् र प्रदेशलाई बाँकी भारतको अर्थतन्त्रसँग जोडेका पनि छन् ।

४४ वर्षीय पेमा खांडूले सन् २०१६ यता यहाँको मुख्यमन्त्री छन् । पद सम्हाले यता उनले दुईपटक दल बदल गरेका छन् । पहिले इण्डियन न्याशनल कंग्रेस, त्यसपछि पिपल्स पार्टी अफ अरुणाचल, अहिले भारतीय जनता पार्टी (भाजपा) ।

खांडूलाई अरुणाचलको पर्यटन विकासमा बलियो साथ दिने अर्का व्यक्ति हुन्, अबु टायेंग । उनी प्रदेशको खेलकुद तथा युवा र पर्यटन विभागको सचिव हुन् । टायेंगलाई डाम्बुकको सुन्तला महोत्सवको थालनी र पर्यटन प्रगतिको श्रेय दिने गरिएको छ । अरुणाचल प्रदेशकै पहिलो आईएस अफिसरका पुत्र उनी आफू पनि आईएस अफिसर भएर प्रान्तको विकासमा लागेका छन् ।

भारतको चीनसँगको सीमा विवादको क्षेत्रमध्ये अरुणाचल प्रदेश पनि एक हो । अनि भारतकै आसामसँग पनि अरुणाचल प्रदेशको सिमाना विवाद छ । यस सम्बन्धमा मुख्यमन्त्री खांडू भन्छन्, ‘यी दुवै मुद्दा आ-आफ्नो ठाउँमा छन् । तर हाम्रो ध्यान विकासमा छ ।’

उनका भनाइमा, ‘जहाँसम्म सुरक्षाको कुरा छ तवांगमा तिब्बत चीनसँग सिमाना जोडिएको छ । सिमानाको सुरक्षा गर्न भारतीय सेना खटाइएको छ । तवांगमा अहिले चिन्ता गर्नुपर्ने विषय नभएकोले त्यो रमणीय ठाउँमा पर्यटक आकर्षण गर्न हामी केन्द्रित छौं ।’

भारतका धेरै प्रान्तमा प्रवासी नेपालीको उपस्थिति छ । अरुणाचल प्रदेशमा नेपालीलाई धेरैले मन पराउँछन् । यहाँका नेपाली विभिन्न पेशामा संलग्न छन् । महोत्सवमा खानपिनको व्यवस्था, होमस्टे जस्ता विषयको व्यवस्थापन र ‘इभेन्ट म्यानेजमेन्ट’को जिम्मेवारी लिनेमा अरुणाचल र आसामका नेपालीभाषी पनि छन् ।

यहाँको पर्यटन विकास र सुन्तलाको प्रचारप्रसारले विदेशी बजारसम्म पहुँच बनाउने मामिलामा नेपालले पनि सिक्न सक्ने ठाउँ देखिन्छ । डाम्बुक अरुणाचल प्रदेशको दिवांग उपत्यकामा पर्छ । जुन भारतकै कम जनसंख्या भएको जिल्ला हो । भारतको सबैभन्दा उत्तरपूर्वी टुप्पामा रहेको अरुणाचल प्रदेशको सिमाना चीन, भुटान र म्यानमारसँग जोडिएको छ ।

यो प्रदेशमा अहिले व्यापक मात्रामा सडक संरचना विकास गरिएको छ । सन् २०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीले डा. भूपेन हजारिका पुल उद्घाटन गरेपछि त्यो क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुगेको छ । ९.१५ किमी लामो यो पुलले आसाम र अरुणाचल प्रदेशको ढोला र सादिया घाटहरू जोड्छ ।

यसले दुवै राज्यको मतभेदलाई कम गर्नुको साथै त्यो क्षेत्रको विकासमा गति पनि थपेको छ । यो पुलको क्षमता भारतीय सेनाका युद्ध ट्यांकलाई धान्न सक्ने गरी बनाइएको छ । भारत र चीन बीचको विवाद र भावी द्वन्द्व समेतलाई विचार गरेर यो पुल बनाइएको यसबाट स्पष्ट हुन्छ ।

अरुणाचल प्रदेशको यो कार्यक्रममा नेपाल र नेपालीप्रति सम्मान व्यक्त भएको अनुभूति भयो । नेपालीलाई जिम्मा दिए त्यो काम पाको हुन्छ भन्ने मान्यता रहेछ । ‘नेफा’ भन्ने सुन्तला खेतीको बगानमा म पुग्दा त्यहाँका मालिक टोकबोम बोरांग खुसी भएर मलाई एउटा नेपाली गीत पनि सुनाए ।

कुराकानीका क्रममा उनले भने ‘यस्तो कठिन भौगोलिक क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ । म अवसर खोज्न अरू ठाउँ जान सक्थे तर यहाँ सरकारले सुन्तला खेती गर्न प्रोत्साहन गरेको छ ।’ सरकारले सहुलियत दिन थालेपछि आफूले यहाँ सुन्तला फार्म खोलेर काम गर्न थालेको उनको भनाइ थियो । उनी भन्छन्, ‘पोहोर साल मात्रै मैले ४५ लाख फाइदा गरें ।’

अरुणाचल प्रदेशमा अहिले ५० भन्दा बढी सुन्तला बगान छन् । डाम्बुक लगायत कामेंग, लोहित र सुयांगमा पनि सुन्तलाको उत्पादन राम्रो हुन्छ । यस्ता महोत्सवले त्यहाँको सुन्तलालाई विदेशसम्म प्रख्यात बनाउन सहयोग पुर्‍याएको छ ।

सुन्तला निर्यात र पर्यटन विकास गर्न यो महोत्सवमा अफ रोड ड्राइभिङ, जीप लाइन, ग्याँस बेलुन, र्‍याफ्टिङ, ट्रेकिङ जस्ता आकर्षक कार्यक्रमहरू पनि राखिएका थिए । सँगै महोत्सवमा राज्यको सांस्कृतिक झलकको साथै ‘लाइभ ब्याण्ड’ सांगीतिक कार्यक्रम पनि समावेश थियो ।

‘पर्यटकलाई मन पर्ने र्‍याफ्टिंग, रोड मोटर र्‍यालीहरू यहाँ प्रचलित हुँदैछन्’ अरुणाचल प्रदेशको मोटर स्पोर्टस् क्लबका उपाध्यक्ष आनन्द सिरिंग भन्छन् । सिरिंग आसामवासी नेपाली मूलका भारतीय हुन् । उनी एक सफल ‘फास्ट कार रेसर’ र च्याम्पियन पनि हुन् । अनि त्यो महोत्सवको एक महत्वपूर्ण खम्बा पनि ।

भारतमा सन् २०२४ मा निर्वाचन हुँदैछ । भर्खरै भएका ५ राज्यको निर्वाचनमा तीन राज्यमा भाजपाको सफलताले भाजपाले फेरि पनि अग्रता पाउने विश्लेषण भइरहेको छ । अरुणाचल प्रदेशमा विभिन्न समुदायका व्यक्तिहरूसँग छलफल गर्दा पनि यसको झल्को मिल्छ ।

नेपालमा पनि गोरखाको सुन्तला र जुम्लाको स्याउलाई अरुणाचलको शैलीमा अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ । त्यहाँको नेतृत्वले जनताको मन र भोट राज्यको विकास गरेर जितेको छ । पर्यटकहरू बस्ने एउटा पनि होटल नभएको डाम्बुकमा अहिले स्थानीय घरहरू नै ‘होमस्टे’ मा बदलिएका छन् । हाम्रा गोरखा र जुम्लाले पनि यसबाट सिक्न सक्छन् ।

दिल्लीदेखि सुदूरपूर्वमा रहेको, केन्द्रमा राजनैतिक पहुँच नभएको, रोजगारीका अवसरहरू नभएको प्रदेशले आज ठिक रणनीति अपनाएर कसरी आफूलाई बदलिरहेको छ भन्ने अरुणाचलले देखाउँछ । निजी क्षेत्रलाई समेत विश्वासमा लिएर स्थानीय स्रोत-साधन प्रयोग गरेर नेतृत्वले कसरी उत्पादन र रोजगारी बढाउने अभियान चलाउन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?