
काठमाडौं । सामाजिक कथावस्तुलाई हास्यशैलीमा प्रस्तुत गर्ने टेलिभिजन सिरिज ‘सक्किगो नि’ दर्शकमाझ चर्चित छ । यसको नियमित प्रसारण हिमालय टीभीमा हुँदै आएको छ ।
बुधबार यो सिरिजको पछिल्लो एपिसोड छायांकन काभ्रेको पाँचखाल क्षेत्रमा भइरहेको थियो । त्यहाँको जैसिडिही गाउँमा केही घर भाडामा लिएरै सिरिजको छायांकन भइरहेको छ । त्यो गाउँमा सिरिज खिच्न थालिएको पाँच वर्ष भयो ।
निर्देशक समेत रहेका अर्जुन घिमिरे दर्शकलाई मनोरञ्जन दिने कुरामा आफूहरुले सम्झौता नगर्ने बताउँछन् । ‘कथाले मागेको कुरा पस्कन कुनै कम्प्रोमाइज गरेका छैनौं, जतिसुकै खर्च नै किन नलागोस्,’ उनले भने ।
कुमार कट्टेल ‘जिग्री ब्रो’सँग मिलेर घिमिरेले यसको कथा लेखन तथा निर्देशन गरिरहेका छन् । उनीहरु स्वयं कलाकार समेत हुन् । हरिश निरौला कक्रोच, दीपक आचार्य काकु र सागर लम्साल बले पनि सिरियलका कलाकार हुन् ।
‘सक्किगो नि’ समूहले माघमा फिचर फिल्म निर्माणको घोषणा गर्दैछ । बलेका अनुसार स्क्रिप्टले पूर्णता पाएको छ । दुईजना कलाकार तय छन् । केही महिना फिल्ममा बिताउनुपर्ने भएकाले अहिले स्टककै लागि भनेर पनि ‘सक्किगो नि’को धमाधम सुटिङ पनि भइरहेको छ ।
तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं
प्रतिक्रिया 4