
काठमाडौं । नबिल बैंकको वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
बैंककको सञ्चालक समितिले सेयरधनीलाई चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बिहीबार सम्पन्न बैंकको ३९ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड मुनाफा आर्जन गरेको थियो ।
साधारणसभामा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताए ।
‘देशको अर्थतन्त्रको पछिल्लो परिदृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवम् औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ,’ उनले भने ।
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन गरेको छ ।
समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँट गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पूँजी हालसम्म आउँदा ९६० गुणाले वृद्धि भएको बताए ।
प्रतिक्रिया 4