
काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल यस वर्ष पनि आयोजना हुने भएको छ । ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले प्रतिस्पर्धाको १३ औं संस्करण गर्न लागेको हो ।
आयोजक संस्थाका अध्यक्ष अनुप सक्सेनाका अनुसार शनिबारदेखि अडिसन सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस एन्ड स्पामा अडिसन हुन लागेको प्रेषित वक्तव्यमा उल्लेख छ ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा ५.८ फुटको उचाइको हुनुपर्ने, १८ देखि ३४ वर्षको उमेर समूहको हुनुपर्ने र कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छन् । सक्सेनाका अनुसार विवाहित र अविवाहित दुवैले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
यसअघि चर्चित सेलिब्रिटीले समेत यो प्रतियोगिताको उपाधि जितेका छन् । अभिनेता प्रशान्त ताम्राकार, व्यवसायी सुऋत ज्योति, अभिनेता अनुपविक्रम शाही, मोडल समिन खान र आयुषमान देशराज, अभिनेता सुशील श्रेष्ठ र कान्जी कोइराला, टेलिभिजन प्रस्तोता सुदित श्रेष्ठ लगायतले उपाधि जितेका छन् ।
प्रतिक्रिया 4