
काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउँदैछ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शन भैरहेको छ ।
यो अवसरमा निर्माताले रञ्जना हलमै केक काट्ने कार्यक्रम आयोजना गरेका छन् । कलाकार र मिडियाकर्मीको उपस्थितीमा ५१ दिन मनाइने निर्देशक बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार फिल्मले ५१ दिनसम्म १० करोड हाराहारीमा ग्रस कलेक्सन गरेको छ । तिहार छेकोमा यो फिल्म कात्तिक २४ गते देशब्यापी प्रदर्शन भएको थियो । नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ ।
निश्चल र अभिनेत्री स्वस्तिमा खड्का अष्ट्रेलिया प्रदर्शनको दौडाहा सकेर काठमाडौं फर्किसकेका छन् । फिल्मलाई अब भारतमा प्रदर्शन गर्न बाँकी रहेको जानकारी बस्नेतले दिए ।
फिल्मको ५१ औं दिनको अवसरमा निर्देशक बस्नेतसहित कलाकारले सामाजिक संजालमार्फत दर्शकलाई धन्यवाद दिएका छन् । यो फिल्मले व्यवस्थाविरुद्ध असन्तुष्ट आममान्छेको संघर्ष र शक्तिसम्मको यात्राको कथा पेश गर्छ ।
फिल्मको शीर्ष भूमिकामा निश्चलसहित खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, दयाहाङ राई लगायतले अभिनय गरेका छन् । सिनेमा आर्टको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मले दर्शकबाट सकारात्मक समीक्षा प्राप्त गरेको छ । राजनीतिज्ञले पनि फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4