
अहिले यो संसारमा कुनै किसिमको व्यापारले दिन दुई गुणा, रात चौगुणा प्रगति गरेको छ भने त्यो हो– ‘आशा बेच्ने व्यापार।’
कुरा उनै हाम्रा प्रिय रवि लामिछानेजीकै हो। उनी हामी बीच धेरैका अहिलेका आशाका केन्द्र हुन्। भरोसाको भित्तो हुन्। साँच्चिकै भन्नु पर्दा धेरैका अहिलेका नायक हुन् भन्दा फरक नपर्ला। हाम्रा धेरै आशाहरू उनीसँग जोडिएका छन्। भ्रष्टाचारको, सदाचारको, नैतिकताको, भलाइको, उत्कृष्टताको, इमानदारीको, शुद्धताको, विश्वासको, निष्ठाको, क्षमताको अनि सफलताको आशा।
हाम्रो जस्तो समाजमा केही जनताका आवाजहरू ठूलो-ठूलो आवाजले कराउँदा जनताबीच चर्चित त बनिन्छ तर, सामान्यतया एक सच्चा नेता हुन उसमा केही थान साधारण गुणहरू जरुरी हुन्छ। ती हुन्- राष्ट्रप्रतिको प्रेम, आत्म-जागरुकता, दूरदर्शिता, सत्य निष्ठा र नैतिकता, दर्शन, साहस, लचिलोपन, आर्थिक सुझ-बुझ, पारदर्शिता आदि। उनी कुरा अनुसार काममा कति अब्बल निस्कन्छन्, समयले बताउँदै जानेछ। यद्यपि, विगत केही समय यताका क्रियाकलापहरूले उनीमाथि प्रश्न उठाउन थालिएको छ।
के उनी साँच्चिकै सच्चा नायक हुन आएका हुन् कि अन्य धेरै जस्तै समयका सफल व्यापारी? कतै उनी पनि अन्यले जस्तै तपाईंको भावना, मेरो सपना, हाम्रो आशामा व्यापार त गर्न लागेका हैनन् ?
उसो त, हाम्रो समाजभित्र समय-समयमा जन्मिरहने ‘नायक’हरूको बारेमा मेरो बुझाइ भने फरक छ।
हामीभित्रको कमजोरीको फाइदा उठाउँदै नायकको रूपमा धेरै खलनायकहरू जन्मिरहेका छन्। तितो यथार्थ, वास्तवमा हामी आफैंले उनीहरूलाई जन्माइरहेका छौं।
प्रश्न उठ्न सक्छ, कसरी ? हाम्रा मुख्य कमजोरी मुख्यत: दुई भाग लगाउन सकिन्छ- कथित कथन ‘सतीले सरापेको देश’ र ‘अर्को जस्तै बन्ने तीव्र अभिलाषा।’
अधिकांश हामी विश्वास गर्दछौं कि यो देशमा कुनै भविष्य छैन। यो देशमा बसेर केही गर्न सकिन्न, आफ्नो सपना कहिल्यै प्राप्त गर्न सकिंदैन। यहाँ सजिलो छैन, यहाँ नागरिकमैत्री कानुन छैन र भएकाको पनि कार्यान्वयन भइरहेको छैन, यहाँ दुःख छ, पीडा छ, वेदना छ। सदाचारिता, नैतिकता र इमानदारी छैन। यहाँ रोजगारी छैन, यहाँ सफलता छैन, यहाँ गरिखाने वातावरण छैन। यहाँ केवल भ्रष्टाचार छ, झन्झट छ, असमानता छ, थिचोमिचो छ।
अर्कोतिर हामीलाई तुरुन्तै चाहिएको छ, नेपालभित्रै युरोप, अमेरिका, अनि अस्ट्रेलिया। त्यहाँको सुविधासम्पन्न जीवनशैली। तब हाम्रा सबै इच्छा, चाहना र आवश्यकतालाई पूरा गर्न, सजिला सजिएका उपाय सिकाउँदै, जन्म लिन्छन् नक्कली मोटिभेसनल स्पिकर, अभियन्ता हुँदै नायकहरू।
अभावले जहिले पनि वस्तुको मूल्यहरू बढाउँछ। जति ठूलो अभाव त्यति धेरै मूल्य। यो अर्थशास्त्रको अकाट्य नियम हो।
हाम्रा हिरोहरूलाई राम्रोसँग थाहा छ कि बजारमा त्यस्तो अफर राख्नुपर्छ जसको साँच्चिकै अभाव छ। जुन कुरा पाउन समाज पूर्ण रूपमा प्रताडित भएका हुन्छन्, उनीहरू त्यसैको विज्ञापन बजाउँछन्। तपाईं हाम्रो माग अनुसार नै उनीहरू आएका हुनाले, धेरैलाई उसको व्यापार बारे जानकारी हुँदैन। आफ्नो अनि आफू जस्तै धेरैको भलाइ हुने नाममा तपाईं, हामी उसको समूहमा भर्ती हुन पुग्छौं, तुरुन्तै। र अनुमान लगाउनुहोस् त्यसपछि के हुन्छ ? सामान्यतया, अब उहाँलाई आँखा चिम्लेर पछि दौडनुको विकल्प हुन्न।
प्रचण्डले (कुनै समयका धेरैका ‘नायक’) के गरे, के गर्दैछन् ? उनले हाम्रो समाजभित्रको असमानताको, थिचोमिचोको, अन्याय–अत्याचारको, क्रुरताको, निरंकुशताको, दमनको, शोषणको, एकपक्षीयताको, विभेदको विषय उठाएर हजारौं हजार युवालाई सपना बेचे। युवाले पनि सपना पूरा गर्ने बाटो भेट्यो, केही आशा धेरै सपना पूरा गर्न प्रचण्डको पछि लाग्यो, पछि लागेपछि खाल्टोमा जाकियो। आँखा चिम्लेर पछि कुद्नुको विकल्प हुन्नथ्यो।
अन्ततोगत्वा के भयो त? धेरै युवाहरूको सपना मारिए, छोपिए, पुरिए, वा विलाए। उनी सम्धी भेट गर्न आर्मीको हेलिकप्टरमा उड्न सक्ने भए, तर ती युवाको सपना जहाँको त्यहीं, जमिनमै छुट्यो।
उनीहरूको कहानी यही सकिंदैन: यी नक्कली नायकहरूले हाम्रो असुरक्षामा पुन: लगानी गर्ने गर्छन्। कोरियाको रोजगारी गर्न पाऊँ भन्ने जनता किन मारिए, यसैको एउटा उदाहरण हो।
हामी जति धेरै असफल र दुःखी हुन्छौं उनीहरूलाई धेरै लाभदायक अह्रोटे, भरौटे, ग्राहक मिलिरहन्छ। हामी जति कमजोर भयौं, उनीहरूको त्यति धेरै लाभ, किनकि हामीलाई उनीहरू अझ धेरै आवश्यक हुन्छ। तब नायकको मूल्य झन् बढ्दै जान्छ। उनी आरामको जीवन बाँचिरहन्छन्।
तपाईं ढुक्क हुनुहोस् कि – तपाईं, हाम्रो अभाव, इच्छा, चाहना र आवश्यकता हटाएर उनीहरूले आफ्नो मूल्य घटाउन चाहँदैनन्।
भगवान् (हिरो) पाइरहने समाज हो हाम्रो। हामीले ढुङ्गामा परमेश्वरलाई भेट्टाउँछौं। ढुङ्गाभित्रका परमेश्वरले हामीलाई सहयोग गर्नुहुने कुरामा विश्वास गर्छौं। परमेश्वरलाई खुसी पर्न आरती गर्छौं। ती भगवानको आरतीले हामीलाई भएन भने अर्को देवता खोज्दछौं। प्रार्थना गर्ने खुसी बनाउने अनि प्रभुको बरदान/आशिषमा आफ्नो आवश्यकता पूरा गर्ने। हाम्रो परम्परा यही हो।
हामी अहिले पनि आफ्नो आफ्नो अभावको, अपर्याप्तताको, सीमितताको जीवन जिउनु परेको छ। हामी यस्तो बाध्यताबाट छुटकारा चाहन्छौं। जसका लागि हामी सधैं त्यस्तै भगवान (हिरो) खोजी गरिरहन्छौं। जसले समाजका सबै दानवहरूको बध गरोस् अनि विजयोत्सव मनाउन पाइयोस्। हाम्रा सबै नयाँ-पुराना नायकहरूले हाम्रो अभावको जीवनलाई सपनाको जीवनतर्फ धकेल्ने प्रण गरिरहेका छन्। तिनीहरूले रोमाञ्चक र आकर्षक कथा मार्फत हाम्रो भावना जितिरहेका छन्।
यस्तो लाग्छ कि, हाम्रा प्रत्येक नयाँ नायकसँग हाम्रा हरेक समस्याको समाधान हुन्छ। उनीहरूले भनिरहेका हुन्छन्, तपाईं सफल हुनको लागि जन्मनुभएको हो। हाम्रो सफलताको लागि ऊ जन्मिएको हो। हरेक मानिससँग उसले चाहेको जीवन जिउने उसले मात्र बनाउन सक्छ। देशको गरिबी, पछौटेपन, बेरोजगारीको उसँग अचूक समाधान छ।
हाम्रो देश पछाडि पर्नु र अरु देश अगाडि जानुको सबै अर्थ बुझेको छ। इतिहास सबै कण्ठै छ, संसार जानेको छ, दुनियाँको सफलता उसले मात्र बुझेको छ। समस्याको समाधान उसलाई जति राम्ररी अरुलाई थाहा छैन। सपनाको देश बनाउने सूत्र उसलाई थाहा छ।
अब हामी पनि तिनीहरू जस्तै हुनलाई केही सरल चरणहरू (मात्र केही कुराहरू) पार गर्नुपर्नेछ, त्यो उसले मात्र गर्न सक्छ। अरु के चाहियो त ? ढुंगा खोज्दा देउता मिल्यो। देशले खोजेको त्यो एक मनिष पायौं हामीले। अनि हामी हो–मा–हो भन्दै, उसलाई भगवानको रूपमा आरती र भजन लगाउन थाल्छौं।
हामीलाई थाहा नहुन सक्छ – ऊ केही थान राम्रा पुस्तकहरूबाट, महान् विचारधाराबाट, उत्तम इतिहासबाट वा समाजको आवश्यकताबाट चोरेका केही सामग्रीबाट हाम्रो मस्तिष्क ओभरलोड गरिरहेको छ भनेर। र जब हामी उसका हरेक कुरामा विश्वास गर्दै अभावबाट रोमाञ्चकतामा अघि बढ्ने चाहनामा हुन्छौं। उसका असाधारण गुणहरू र ईश्वरीय ज्ञानको ठानेको ऊ, जब उसका कमजोरी र मानवीय त्रुटिहरू पनि देख्न थाल्छौं, जब उनले उसको लागि काम गरेको थाहा हुन्छ, आफू प्रयोग भएको थाहा हुन्छ, हाम्रा सपना त्यहीं तुहिन्छन्।
हामी हीन महसुस गर्न थाल्छौं उनीप्रतिको आस्था मर्छ। त्यसपछि हाम्रो आशा मर्छ। हामी मानसिक रूपमा विचलित, भावनात्मक रूपमा कमजोर महसुस गर्न थाल्छौं। अनि फेरि उही कथित कथन ‘सतीले सरापेको देश’को भाष्यमा पुग्दछौं।
तर चिन्ता नगर्नुहोस्। त्यही मौका कुरिरहेको अर्को महा-मानव अर्को कुनाबाट झोलाभरी आशा बोकेर व्यापार गर्न निस्कन्छ। फेरि हामीलाई बधाई छ, समाजले फेरि अर्को नायक पायो।
व्यक्तिको होस् वा राष्ट्रको ‘सफलताको रहस्य यो हो कि त्यहाँ कुनै रहस्य छैन’। सफलताको रहस्य हुन्थ्यो भने, एमबीए गर्ने बित्तिकै सबै कुशल प्रशासक भइहाल्नुपर्ने हो। स्टक ट्रेडिङको कोर्स लिएकाहरू सबैको सम्पत्ति दोब्बर हुनुपर्ने हो।
यदि यस्तो हुन्थ्यो भने बीपी कोइरालाको पछि लाग्नेहरू, प्रचण्डका लागि ज्यान दिन तयार हुनेहरू, मदन भण्डारीको आदर्शमा पछि कुद्नेहरूको जीवन अर्कै हुनुपर्ने हो।
न लामिछाने, न प्रचण्ड, न मदन, वा बीपीहरू देवता नै थिए वा दानव नै हुन्। उनीहरू केवल हाम्रो समाजका हिस्सा हुन्। हामी जस्तै। सबै सकारात्मक तथा नकारात्मक गुणहरूले भरिएका, यही समाजका मान्छे।
उनीहरूसँग फरक छ त केवल तपाईं, हाम्रा भावना, सपना र आशासँग खेल्ने कला। न उनीहरूले वा अर्को नायकले ‘सपनाको देश’ बनाउने नै छन् वा हुने नै छ।
त्यसोभए समाधान के हो? स्नातक हुनु र शिक्षित हुनु बीच धेरै ठूलो भिन्नता छ। यसलाई अझ यसरी भनौं, शिक्षित हुनु र सचेत हुनु फरक हो।
हामीसँग हजारौं मानिस छन् जो स्नातक तर शिक्षित छैनन्। हामी स्नातकहरू अझै पनि कसैले जादु गरिदिएर ‘सपनाको देश’ हुने कुरामा विश्वास गर्दछौं। जादु गरिदिने मान्छे खोज्नु भन्दा, सबैले आ–आफ्नो ठाउँमा राम्रो गर्ने कोसिस गरौं।
कसैले भनेका थिए रे- ‘जीवनको सबैभन्दा कठिन पक्ष आफैंलाई बुझ्न नसक्नु हो र संसारमा सबैभन्दा उपयोग नभएको स्रोत भनेको आफैंमा भएको क्षमता हो।’ आफूभित्रको क्षमताको उपयोग गरौं। सर्वगुण सम्पन्न गुणकारी नेता नपाउनु मात्र मुख्य समस्या हैन, हामी सबैले सफलतामा पुग्ने गरी धैर्यपूर्वक आ-आफ्नो काम गर्न नसक्नु पनि मुख्य समस्या हो।
सबैले आफ्नो ठाउँबाट परिश्रम गरे मात्र यो देश एक दिन हामी सबैले सोचे जस्तो सपनाको देश बन्नेछ। कडा परिश्रम गरौं, वास्तविक सीप/कौशल विकास गरौं। उद्यमशील बनौं, साना व्यवसायमा जोड दिऔं। समुदाय-नेतृत्व विकास र सामाजिक उद्यमशीलतामा जोड दिऔं। जवाफदेहिता र नागरिक संलग्नताको संस्कृतिलाई बढावा दिऔं। सिकेको सीपको भरपुर उपयोग गरौं। कथित कथन ‘सतीले सरापेको देश’ लाई विसर्जन गरौं। तुरुन्तै ‘अर्को जस्तै बन्ने अभिलासा’ त्यागौं।
हामीले निरन्तर यो देश कस्तो हुनुपर्छ भनेर तर्क–वितर्क गरेका छौं तर हामी अहिले त्यसको लागि आफ्नो तर्फबाट के गर्नुपर्ने छ भन्ने विचारमा भने मौन छौं। जबसम्म हामी सपना बोकी गुणकारी नेताको खोजीमा निस्किरहन्छौं, तबसम्म हामी आशा बेच्ने व्यवसाय बोकेका नेता मात्र पाइनै रहनेछौं। देशले के दियो हैन, देशलाई के दिए भन्ने कुरामा सबैले विचार गर्नैपर्ने बेला आइसकेको छ।
नेता र पार्टीको लागि हैन, अब आफ्नो लागि जुटौं, असल कर्मको लागि जुटौं, उद्यमशीलताका लागि जुटौं। तब मात्र हामी सबैका अधुरा सपनाहरू पूरा हुनेछन्। सपनाको देश एकजना आएर बनाइदिने होइन, हामी सबै मिलेर सिर्जना गर्ने हो।
प्रतिक्रिया 4