+
+

छानबिनमा तानिएपछि महानगरका तीन कर्मचारी निलम्बित, प्रशासकीय अधिकृत बिदामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २३:५८

१७ पुस, काठमाडौं । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् ।

मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् । ‘छानबिन अघि बढ्ने भएपछि प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न भनिएको हो’, मेयरको सचिवालय स्रोतले भन्यो ।

महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएपछि मेयर आफैंले यसको छानबिन थालेका छन् ।

स्रोतका अनुसार कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि उनीहरु छानबिनमा तानिएका हुन् ।

सो स्वास्थ्य प्रवर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेकामा यसवर्ष सहायता बन्द भएको थियो । सेवा सञ्चालन गरिराख्न कार्यपालिका बैठकले ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, निर्णय लेखिँदा संख्या थप भएपछि मेयर शाहले नै यसबारे छानबिन थालेका हुन् ।

‘एक कर्मचारीको छोरीलाई जागिर दिलाउन मिलेमतोमा संख्या थपिएको पाइएको छ’, स्रोतले भन्यो, ‘कार्यपालिकाको निर्णय नै तोडमोड गर्ने अधिकार कसैलाई हुँदैन ।’

१९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले ५ जना मात्रै कर्मचारीलाई निरन्तरता दिन प्रस्ताव गरिएको र कार्यपालिकाले पनि त्यही निर्णय गरेको बताए । ‘तर, केही गडबडी भयो भन्ने सुनेको छु, के भयो भन्ने थाहा छैन’, उनले भने ।

महानगरका प्रवक्ता नवीन मानन्धरले स्वास्थ्य प्रवद्र्धन शाखासम्बन्धी विषय छानबिनकै क्रममा रहेकाले यसबारे बोल्न नमिल्ने बताए । ‘मेयरसा‘बले नै छानबिन अघि बढाउनुभएको छ’, उनले भने, ‘छानबिन नसकी यसबारे केही भन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?