+
+

त्रिवि बल्खुका कर्मचारीलाई नेविसंघको फूलमाला

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १७:१७

१७ पुस, काठमाडौं । नेविसंघ केन्द्रीय समितिले परीक्षा नियन्त्रण कार्यालय, बल्खुका कर्मचारीलाई फूलमाला लगाइदिएका छन् ।

उनीहरुले त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राम्रो काम गर्नेलाई सम्मान सहित धन्यवाद तथा अझै राम्रो गर्न प्रोत्साहन गर्न अनुरोध गर्दै फूलमाला लगाइदिएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।

नेविसंघले परीक्षा सह-नियन्त्रक, विभाग प्रमुख तथा कर्मचारीको अध्यक्ष गरेर १० जनालाई माला लगाएर सम्मानसहित धन्यवाद दिएको जनाएको छ । नेविसंघका अध्यक्ष शेर्पाले भने ‘उहाँहरुलाई हामीले सम्मान तथा धन्यवाद दिएका छौं र आगामी दिनमा पनि प्रभावकारी काम गर्न प्रोत्साहन गरेका हौं ।’ यदि कोहीले सेवा प्रवाहमा अल्छि गरिरहेको भएपनि नेविसंघको यो कार्यले सकारात्मक प्रभाव पार्ने नेविसंघको दाबी छ ।

त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विभिन्न माग राख्दै एक हप्तादेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा धर्ना दिँदै आएको छ ।

स्ववियुले शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने, विद्यार्थीको प्रमाणपत्रहरु डिजिटलाइज हुनुपर्ने, विकेन्द्रीकरण हुनुपर्ने, त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डाको अन्त्य हुनुपर्ने, खाजा खाने समय आधा घन्टा मात्रै हुनुपर्ने लगायतका १० बुँदे माग राखेर ११ गतेदेखि आन्दोलन गर्दै आइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय सुधार सहित रूपान्तरण गर्ने उद्देश्यले रचनात्मक तथा सिर्जनात्मक अभ्यास मार्फत निर्णायक आन्दोलन सुरू गरेको स्ववियु अध्यक्ष श्यामराज ओझाले बताए । स्ववियुले १२ गते त्रिवि पदाधिकारी, कर्मचारीको सवारी साधनमा रोक लगाउँदै परीक्षा नियन्त्रण कार्यालयको मुल गेटमा ताला लगाएको थियो ।

१३ गते सम्पूर्ण पदाधिकारी, कर्मचारीहरुले स्ववियुलाई चावी दिएपछि ताला खोलिएको त्रिवि स्ववियु सदस्य गोमा राईले बताइन् । उनले भनिन् ‘उहाँहरुले हामीलाई चावी बुझाउनु भएको छ । व्यक्तिगत साधन हुनेहरु व्यक्तिगत चढिरहनुभएको छ नहुनेहरु कर्मचारी बसमा आइरहनुभएको छ ।’

पदाधिकारी तथा कर्मचारीलाई चुस्त, दु्रत र प्रभावकारी काम गर्न सवारी साधनको सुविधा दिइएपनि त्यसरी काम हुन नसकिरहेको भन्दै सवारी साधन चलाउनमा रोक लगाइएको स्ववियुको भनाइ छ ।

स्ववियुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने स्ववियु अध्यक्ष श्यामराज ओझा बताउँछन् । उनी भन्छन् ‘अब हाम्रो माग पुरा नभएसम्म यो आन्दोलन रोकिँदैन । त्रिवि सुधारको लागि हाम्रो मागहरु पुरा हुन जरुरी छ ।’

विश्वविद्यालय रूपान्तरणको अभियानमा देशभरको स्ववियुले ऐक्यवद्धता जनाइरहेका छन् । स्ववियुको आन्दोलनले विश्वविद्यालय, क्याम्पसबाट प्रवाह हुने सेवाहरूमा कुनैपनि बाधा सिर्जना नहुने गरी आन्दोलन भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?