
काठमाडौं । पुस २७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘पर्खिबसें तिमीलाई’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा कृष्णहरि बरालको शब्द, महेश खड्काको संगीत तथा प्रमोद खरेल र अन्नु चौधरीको स्वर छ ।
हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा यसै फिल्ममार्फत डेब्यु गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड छन् । यसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
गीतमा यी दुईको प्रेम र समर्पणलाई चित्रण गरिएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा हाँसो, रोदन, एक्सन, विछोडजस्ता तत्व मिश्रण छ । श्रेष्ठले ‘पर्खिबसें’ मार्फत राजबल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यु गराएका थिए ।
गीतमा देखिएका किरण र रक्षाले शीर्ष गीतको छायांकन रमाइलो भएको सुनाए । ‘पहाडी भेगमा दृश्य हेर्दा निकै मनोरम लाग्थ्यो तर हामीले निकै मेहनत गरेर ती दृश्यलाई पर्दासम्म ल्याएका छौं । किनकि त्यहाँ जति मनोरम दृश्य थियो, कैद गर्न त्यति नै गाह्रो,’ किरणले भने ।
रक्षाले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताइन् । ‘गीतमा देखिएको दृश्यले पनि हाम्रो मेहनत झल्काउँछ । प्रेम कथानक फिल्ममार्फत दर्शकसामु आउँदैछु । उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएकी छु,’ रक्षाले भनिन् । निर्माता राजाराम बुढाथोकीले खर्चमा कन्जुस्याइँ नगरी फिल्म तयार गरिएको बताए ।
रोमन फिल्म्स र तपश्री फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अनिषा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रतिक्रिया 4