
१९ पुस, काठमाडौं । संसदीय समितिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उत्पन्न समस्याका बारेमा छानबिन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले केएमसीले आवासीय चिकित्सक डा. विशद दाहाललाई प्रवेश निषेध गरेको र आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएको विषयमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
यसअघि बैठकमा डा. तोसिमा कार्कीले मेडिकल कलेजले करिकुलम भन्दा बाहिर काम लगाएको बारेमा प्रश्न उठाउँदा आवासीय चिकित्सक डा. दाहाललाई कारबाही गरिएको र अस्पतालमा बाउन्सर परिचालन गरिएको भन्दै बैठकमा ध्यानाकर्षण गराएकी थिइन् ।
कलेज प्रशासनले कलेजको नीति विरुद्ध एक विज्ञप्तिमार्फत डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको घोषणा गरेको थियो ।
तर त्यसको विरोध भएपछि काठमाडौं विश्वविद्यालयले डा. दाहालको निलम्बन स्थगन गर्दै ३ दिनभित्रमा कलेजसँग राय मागेको थियो ।
तर कलेजले डाक्टर दाहाललाई प्रवेश निषेध गरेको छ । जसको विरोधमा आवासीय चिकित्कसहरु आन्दोलनमा छन् ।
आवासीय चिकित्सकहरुले डा. दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा धर्ना दिंदै आइरहेका छन् ।
प्रतिक्रिया 4