
१९ पुस, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका घर भई हाल पोखरा १३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्री छन् ।
०७९ माघ १५ गते काहुँखोलामा ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेका आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते उनलाई दोषी ठहर गरेको थियो ।
उनलाई अदालतले १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना सुनाएको छ । धरौटीमा रिहा भएका उनी अदालतबाट दोषि ठहर भएपछि फरार थिए ।
क्षेत्रीलाई बिहीबार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको हो । ‘फरार निजलाई पक्राउ गरी अदालतमा बुझाइसक्यौं । कारागार चलान भइसकेका छन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले भने ।
हत्यालाई ‘आत्मदाह’ देखाउन आफैंलाई पनि आगो लगाएका थिए !
पोहोर माघ १५ गते काहुँखोलामा एक महिलाले आफैंलाई पेट्रोल छर्केर आगो लगाएको खबर फैलिएको थियो । घटनालाई ‘आत्मदाह’ देखाउन घटनाका बखत उपस्थित रहेका क्षेत्रीले आफैंलाई पनि आगो लगाएका थिए ।
त्यतिबेला क्षेत्रीले ती महिलाले आफैंलाई आगो लगाउँदै गर्दा देखेको र बचाउन जाँदा आफूलाई पनि आगो लागेको बयान दिएका थिए । घटनामा घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । क्षेत्री संगीताकै घरमा भाडामा बस्ने गर्दथे ।
घाइते सापकोटाले उपचारकै क्रममा ज्यान गुमाइन् भने घाइते क्षेत्री निको भए । तर, सापकोटाका आफन्तले उक्त घटना आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनी पक्राउ परेको डीएसपी विकले जानकारी दिए ।
क्षेत्रीलाई जिल्ला अदालतले सुरुमा धरौटीमा रिहा गरेको थियो । त्यसपछि बाहिर आएका उनी फरार थिए । ‘यहीबीचमा दोषी करार भएको फैसला आयो । तर, निज फरार थिए,’ डीएसपी विकले भने ।
प्रतिक्रिया 4