
२० पुस, काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।
प्रहरीका अनुसार, यो विवाद टुटलसँगै सम्बन्धित छ । भट्टका साथीहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको थियो ।
‘साथीहरुबीचकै विवाद जस्तो देखिएको छ, अर्को पक्षलाई बोलाएका छौं’, काठमाडौं प्रहरीका अर्का एक अधिकृतले भने ।
राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल अहिले अर्कै कम्पनीले पुन: सञ्चालनमा ल्याएको छ ।
अहिले टुटल सञ्चालन गरिरहेको कम्पनी जाम सर्भिसेस प्रा.लि.का प्रबन्ध निर्देशक रुबिक जोशीले अहिले भट्ट टुटलसँग सम्बन्धित नरहेको बताए ।
‘अहिले झण्डै साढे ३ महिनादेखि टुटल ब्राण्ड हाम्रो कम्पनीले सञ्चालन गरिरहेको छ, त्यसैले यो टुटलसँग जोडिएको विषय होइन’, उनले अनलाइनखबरसँग भने, ‘यो उहाँहरुको आन्तरिक विवाद हो ।’
प्रतिक्रिया 4