+
+

‘धरान अस्थिर छ तर यो अस्थिरता अर्थपूर्ण छ’

धरान परिवर्तन खोज्ने विद्रोही शहरका रूपमा चिनिन्छ । तर, मेरो बुझाइमा यो परिवर्तन र विद्रोह योजनाबद्ध रूपमा भएको होइन । एक किसिमको लहडबाट हुने गरेको देख्छु म । यो एक खालको अस्थिरता हो तर धरानको यो अस्थिरता पनि अर्थपूर्ण चाहिं छ ।

इन्दिरा राई, अध्यापक इन्दिरा राई, अध्यापक
२०८० पुष २० गते २०:४०

पछिल्लो समय धरानमा सामाजिक रूपमा धेरै परिवर्तन भएको देखिन्छ । विश्वव्यापीकरणले पनि सामाजिक, आर्थिक परिवर्तन स्वाभाविक हुन्छ नै । तर धरानको परिवर्तन केही फरक किसिमको छ ।

धरानलाई पहिला लाहुरेको शहर भनेर चिनिन्थ्यो । त्यसबेला धरानको शान–मान बेग्लै थियो । बेलायतबाट पाउण्डमा आउने लाहुरेको तलब र पेन्सन यहाँको समाज, अर्थतन्त्र र राजनीतिका लागि निक्कै आकर्षणको विषय थियो ।

यसको पहिलो असर यहाँको बजार महँगो बन्यो । व्यापारीहरूमा लाहुरेसँग टन्न पैसा छ, जति पनि खर्च गर्छन् भन्ने मानसिकता थियो । लाहुरेहरू खर्च पनि त्यसरी नै गर्थे । विस्तारै लाहुरेहरूले उतै बस्ने सुविधा पाए । त्यसपछि धेरैजसो उतै गए । पाउण्ड आउने क्रम घट्यो ।

दश वर्षअघिसम्म पनि लाहुरेहरू गए पनि धेरै छोराछोरीले बेलायत जाने अवसर पाएका थिएनन् । त्यतिबेलासम्म यहाँको बजार चलेकै थियो । लाहुरेका सन्तानले किनमेलमा राम्रै खर्च गर्थे । तर जब लाहुरेका छोराछोरीले पनि बेलायत जाने र उतै बस्ने अवसर पाए त्यसपछि बेलायतबाट पाउण्ड आउने क्रम ओरालो लाग्यो ।

अहिले अधिकांश लाहुरे परिवार र उनका सन्तान बेलायत गइसकेका छन् । तर, धरानको महँगी भने घटेन । अहिले पनि धरानमा नजिकैको इटहरी, तरहराको बजार भन्दा तरकारी, खाद्यान्न अनि लत्ताकपडा सबै महँगो छ ।

जबकि धरानमा कृषि बजार छ, पहाडका तरकारी पनि पहिला धरान नै आइपुग्छन् । तर अहिले पनि धरानको तरकारी बजार इटहरी, विराटनगर भन्दा महँगो छ । इटहरीका तुलनामा बाहिरबाट आएर बस्नेलाई कोठा भाडा पनि महँगो छ ।

लाहुरेहरूले त्यसबेला धरानमा महँगो दाम हालेर जग्गा किने, धेरै खर्च गरेर ठूल्ठूला घर बनाए । अहिले ती धेरैजसो घरमा पहाडबाट आएर आफन्तहरू बसेका छन् । घरमुली नभएपछि ती घरहरूको चमक पहिला जस्तो छैन । कतिपयले बिक्री पनि गरिसकेका छन् ।

जग्गा पनि कतिले त्यतिकै छाडिराखेर गएका छन् । व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन बनाइएका घरका कोठा अहिले आर्थिक मन्दीका कारण सटरहरू बन्द छन् ।

त्यसै पनि देशव्यापी आर्थिक मन्दीले आक्रान्त भएका बेला धरानमा महँगो कोठा भाडा तिरेर व्यापार गर्न व्यापारीहरू हच्किएका छन् । त्यसमाथि यहाँका धेरै सहकारीहरू डुबेका छन्, तिनले धेरै बचतकर्ताको पैसा फिर्ता दिन सकेका छैनन् । त्यस्ता कारणले धरानको आर्थिक अवस्था दिनानुदिन खस्किंदो छ ।

धरानमा ठूला उद्योगधन्दा छैनन् । व्यापार व्यवसाय चौपट छ । महँगी उस्तै छ । यी कारणहरूले धरानमा गरिखाने वर्गका मानिस टिक्न मुश्किल छ । त्यसै पनि धरानलाई पहिलादेखि नै लाहुरेको शहर, महँगो ठाउँ, हुने–खाने बस्ने ठाउँ भनिन्छ ।

अहिले त यो बाहिरबाट पैसा पठाउन्जेल बसेर खाने शहरका रूपमा विकास भएको छ । धरान आर्थिक हिसाबले जर्जर भइसकेको छ । सामान्य मान्छेलाई बस्न गाह्रो छ, यहाँ ।

शैक्षिक रूपमा भने अझै पनि धरानको छवि राम्रो छ । यति सानो ठाउँमा ठूला सरकारी र प्राइभेट कलेजहरू फस्टाएका छन् । पहाडी क्षेत्रबाट झर्ने विद्यार्थी पहिला धनकुटामा पनि रोकिन्थे तर अहिले धरानै आउँछन् । तर यो अवस्था पनि लामो समय रहने देखिंदैन ।

इटहरी, विराटनगर लगायतका शहरमा राम्रा कलेजहरू खुल्ने क्रममा छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कारण पहाडी भेगबाट उपचार गर्न आउने बिरामी पनि पछिल्लो समय विराटनगरतिर खुलेका ठूला र आधुनिक अस्पतालतिर सीधै जान थालेका छन् । धरानमा एउटा दाँतको एक्सरे गर्न गयो भने समेत विराटनगर पठाउँछन् । जबकि एउटा सानो कोठामा एक्सरे गर्न सकिन्छ ।

कला, साहित्यको अवस्था पनि खस्किंदो छ । बौद्धिक गतिविधि अत्यन्त कम हुन थालेका छन् धरानमा । यहींका मान्छे बाहिर गएर राम्रो साहित्यकार, कलाकार बन्न सक्ने तर यहाँ गर्न नसक्ने अवस्था बढिरहेको देख्छु । यहाँको कला, साहित्य विकास हुनुको साटो किन खस्किंदै गयो ? यहाँको बौद्धिक वर्गले चिन्तन मनन् गर्नुपर्ने विषय छ ।

धरानमा पर्यटनको सम्भावना देखिए पनि यहाँको वातावरण पर्यटकमैत्री छैन । राम्रा होटल छैनन्, भएका सामान्य होटल पनि अति नै महँगा छन् । यसो भन्दै गर्दा धरान त खत्तमै छ भन्ने चाहिं होइन । यहाँ समस्याहरू छन् र तिनलाई सुधार गर्न सकिने ठाउँहरू पनि छन् ।

सबै दलहरूका सिद्धान्त राम्रै छन् तर दलमा हुने व्यक्तिको व्यवहार राम्रो छैन । धरानमा दलहरूभित्र देखिएको ठूलो समस्या के छ भने, आफ्नै पार्टीको मान्छेको रिसले उसलाई हराउन अर्को पार्टीमा जानेहरूको लहर छ ।

कला, साहित्य होस् या पर्यटन अथवा अन्य कुनै पनि क्षेत्रको विकास राजनीतिसँग जोडिन्छ नै । यसरी हेर्दा धरान सधैं परिवर्तनको पक्षमा देखिन्छ । विद्रोही शहरका रूपमा चिनिन्छ पनि । तर मेरो बुझाइमा धरानको विद्रोह वा परिवर्तन जनताले बुझेर, परिवर्तन ल्याउनुपर्छ भन्ने सोचेर, योजनाबद्ध रूपमा भएको होइन । एक किसिमको लहडबाट भएको देख्छु म । यो एक खालको अस्थिरता हो, तर यो अस्थिरता पनि अर्थपूर्ण चाहिं छ ।

धरानमा कुनै पनि कुराको स्थायित्व देखिंदैन । यहाँ पहाडबाट झरेर बस्ने मान्छे, केही समयपछि कि त काठमाडौंतिर लाग्छन् कि विदेशतिर । यहाँको बसोबास नै स्थायी छैन । यहाँ राजनीति गर्ने मान्छे पनि स्थायी छैनन् । कार्यकर्ता समर्थक पनि स्थायी छैनन् ।

धरानमा कतिपय गरिखानका लागि मात्र बसेका छन्, कतिपयले यसलाई अन्यत्र जाने ‘प्लेटफर्म’ मात्र बनाएका छन् । यहाँका बहुसंख्यक मान्छे स्थायी नहुँदा उनीहरूको विचार पनि स्थायी हुँदैन । धेरै पहिला बाहिरबाट आएका मान्छेको जमातको मनस्थिति एउटा हुन्छ, उनीहरू गएपछि आएकाहरूको मनस्थिति अर्कै हुन्छ । त्यसैले यहाँ विगतदेखि अहिलेसम्मको राजनीति अस्थिर छ ।

नयाँ ठाउँ र नयाँ सोचमा नयाँ मान्छे थपिए पछि स्यालहुइयाँ जस्तो जता करायो मान्छे त्यतै लाग्छन्, धरानमा पनि भएको त्यही हो । तर सबै राजनीतिक परिवर्तनलाई यो अस्थिर सोच मात्रै हो भनेर बेवास्ता गर्न मिल्दैन ।

कतिपय बेला मतदाता सचेत भएर नै परिवर्तनको पक्षमा देखिएका पनि छन् । राजनीतिक दलहरूका गलत गतिविधि, अक्षम, व्यक्ति केन्द्रित जस्ता कारणले विकल्प खोज्ने प्रवृत्ति पनि छ । बेलाबखत ती निर्णायक रूपमा प्रकट भएका पनि छन् ।

सबै दलहरूका सिद्धान्त राम्रै छन् तर दलमा हुने व्यक्तिको व्यवहार राम्रो छैन । धरानमा दलहरूभित्र देखिएको ठूलो समस्या के छ भने, आफ्नै पार्टीको मान्छेको रिसले उसलाई हराउन अर्को पार्टीमा जानेहरूको लहर छ । ठूला पार्टीहरूमा आफ्नैभित्रबाट अन्तर्घात भएर हो अहिलेको अवस्था आएको ।

जतिसुकै सिद्धान्त छाँटे पनि दलहरूको राजनीतिक व्यवहार सुधार नभएसम्म धरानको अवस्थामा सुधार हुन मुश्किल छ । यहाँ राज्यको आँखा नपरेसम्म केही हुँदैन । त्यसकारण धरानको राजनीतिमा राम्रा मान्छे, भिजन भएका मान्छेहरू नेतृत्वमा आउन आवश्यक छ ।

प्राकृतिक रूपमा धरान एकदम राम्रो ठाउँ हो । माथि भेडेटार उक्लियो भने बेग्लै वातावरण छ, तल तरहरा, इटहरी गयो भने अर्कै हावापानी छ । धरानमा न धेरै गर्मी हुन्छ, न धेरै जाडोे । बसोबासका लागि पनि यो उचित ठाउँ हो । यस्तो ठाउँको विकास गर्न दल र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर यहाँका लागि सोच्ने नेता आवश्यक छ ।

नेतृत्व गर्ने मान्छे मैमत्त भएपछि विकासको गति अघि बढ्न सक्दैन । यहाँ आफू आफू तेरो र मेरो भन्दाभन्दै भएका कार्यालयहरू सबै सरेर अन्यत्र गए । जति उफ्रिए पनि नेताहरूले न प्रदेश राजधानी धरान बनाउन सके, न कुनै संरचना ल्याउन सके । नेताहरू तँ–तँ, म–म गर्दा गर्दै धरान विकासमा पर छुटिसक्यो ।

अहिले यहाँ रोजगारीका अवसरहरू छैनन्, आर्थिक समस्या छ, महँगी छ । अनि मान्छेहरू किन धरान आउने ? धरानमा राजनीति गर्नेहरूले यसको जवाफ दिन सक्नुपर्छ ।

(महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनरत राईसँग अनलाइनखबरका लागि गोपाल दाहालले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?