+
+

पोखरामा कृषि यान्त्रिकीकरण प्रदर्शनी, बाँदर धपाउने मेसिनमा भीड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १८:०५

२० पुस, पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा आज शुक्रबारदेखि सुरु भएको प्रथम प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनीमा आएका विनोद गुरुङको पहिलो नजर नै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको स्टलमा पर्‍यो ।

स्टलमा एउटा लाम्चो आकारको सामग्री प्रर्दशनीमा राखिएको थियो । त्यहाँ लेखिएको थियो– बाँदर धपाउने मेसिन ।

स्याङ्जाका गुरुङको परिवार पछिल्लो समय बाँदरले बालीनाली सखापै पार्न थालेपछि हैरानै छन् । कराउने, चिच्याउने, खाली भाँडा बजाउने गर्दा पनि बाँदर नभाग्ने भएपछि उनी आजित छन् । तर, शुक्रबार प्रदर्शनीमा राखिएको मेसिनले भने उनको ध्यान खिच्यो ।

‘जे गर्दा पनि भाग्दैभाग्दैनन् । पहिले पहिले पनि बाँदर नआउने होइन । तर, यस्तो विधि दुख दिँदैन थिए । भगाउँदा भाग्थे’, गुरुङले बाध्यता सुनाए, ‘अहिले त के भएका हुन् ? न मान्छे हेरेर तर्सिन्छन्, न बाली राख्छन् ।’

बाँदर धपाउने मेसिन राम्रोसँग नियालिसकेपछि गुरुङ त्यसलाई किन्ने मनस्थितिमा छन् । गाउँमा गएर वडाको सिफारिस लिने र मेसिन किनेर बाँदर धपाउने ‘अन्तिम उपाय’मा लाग्ने उनको अबको योजना छ ।

प्रदर्शनी केन्द्रमा राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र बाँदर धपाउने मेसिन प्रदर्शनीमा राखेको हो । बाँदर धपाउने मेसिनमा गुरुङमात्रै होइन, बाँदरदेखि आजित भएका अधिकांशले रुचिका साथ मेसिनबारे सोधपुछ गरिरहेका थिए ।

बन्दुक आकारमा तयार रएको उक्त मेसिनमा निश्चितमात्रामा कार्बाेहाइड र पानी हालेपछि रसायनिक घुलनले चर्को आवाजसहित पड्किँदा बाँदर तर्सिएर भाग्ने केन्द्रका इन्जिनियर प्रवेश यादव दाबी गर्छन् ।

यादवका अनुसार पछिल्लो समय बाँदरले आक्रान्त भएका मध्यपहाडी भेगमा सबैभन्दा बढी माग हुन थालेको छ । ‘परीक्षण सफल भएपछि बजारमा ल्याएका थियौं । अहिले धेरैतिर माग बढेको छ । कुनैकुनै पालिकाले त एकैचोटि ३००/४०० वटा मागिराख्नुभएको छ,’ उनले भने ।

उक्त मेसिनको मूल्य १ हजार ८०० रुपैयाँ तोकिएको छ । मेसिन व्यक्तिगत र संस्थागत रुपमै वितरण गरिरहेको भए पनि स्थानीय तहको सिफारिस अनिवार्य गरिएको अनुसन्धान केन्द्रले जनाएको छ ।

इन्जिनियर यादवले मेसिनको ट्रेमा ४ ग्राम कार्बोहाइड र पानीसँग १० सेकेन्ड जति राखेपछि रसायनिक प्रक्रिया सुरु हुन्छ । कार्बोहाइड र पानीबीचको रसायनिक प्रतिक्रियाले गर्दा एसिटिलिन ग्यास उत्पन्न हुने र त्यसलाई आगो लगाउँदा मेसिनबाट ठूलो आवाज निस्किन्छ ।

‘साधारण भूइँमै राखेर पड्काउन मिल्ने र प्रयोग गर्न पनि एकदमै सजिलो हुने भएकाले धेरैले मन पराइरहनु भएको छ’, इन्जिनियर यादवले भने, ‘यो मेसिन अरु मेसिनभन्दा सस्तो पनि भएकाले सबै वर्गका किसानले प्रयोग गर्न सक्छन् ।’

नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा एक हजारभन्दा बढी कृषि यन्त्र प्रदर्शनीमा राखिएको छ ।

कृषि औजार, उपकरण, यन्त्र तथा सेवाहरुको जानकारी दिँदै उत्पादक र उपभोक्तालाई एकै ठाउँमा जोड्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको पोखरा महानगर कृषि तथा पशु विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

२२ गतेसम्म चल्ने प्रदर्शनीमा पोखरा महानगरले किसानहरुलाई सघाउन करिब ८५ लाख रुपैयाँबराबरको अनुदानको व्यवस्था पनि गरेको छ । प्रदर्शनीमा राखिएका कृषि यन्त्र खरिद गर्दा किसानले ५० प्रतिशतसम्मको अनुदानको व्यवस्था गरेको छ ।

महानगरले विभिन्न ११ सय जना आवेदनबाट करिब २०० जना किसान छनोट गरेको थियो । प्रदर्शनीमा राखिएका दजनौं कम्पनीका मिनी टिलर, प्लास्टिकका टनेल किसान आफैंले छान्ने र त्यसमै महानगरले अनुदान प्रदान गर्ने कडरियाले बताए ।

‘यहाँ प्रदर्शनमा राखिएका कतिपय सामग्री त यहाँका वास्तविक किसानले कहिल्यै पनि देख्नु भएको थिएन । प्रदर्शनीले ती सामग्री चिन्ने अवसर दिएको छ’, कडरियाले भने, ‘यहाँको मिनिटिलर र प्लास्टिकका टनेल खरिद गर्ने किसानलाई अनुदानको पनि व्यवस्था गरेका छौं । यसले उहाँहरुलाई सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

प्रदर्शनीमा आएका पोखरा विरौटाका माधव पौडेलले किसानसँग सम्बन्धित यस्ता प्रदर्शनी भइरहनुपर्ने प्रतिक्रिया दिए । ‘आज प्रदर्शनीमा धेरै आउनु भएको छ । धेरै सामानबारे जानकारी पनि लिन पाइयो । यो अझै वास्तविक किसानसँग पुग्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?