+
+
सूर्यदर्शन ठगी आरोपीको बयान :

सहकारीको पैसाबाट टिभीदेखि सञ्चालकका घरघडेरीसम्म लगानी

अमृत सुवेदी अमृत सुवेदी
२०८० पुष २१ गते २०:४२
जीबी राई र सूर्यदर्शन सहकारी ।

२१ पुस, पोखरा । बचतकर्ताको डेढ अर्ब रुपैयाँ ठगी आरोपमा पोखराको सूर्यदर्शन सहकारीका १९ जनामध्ये उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर पुर्पक्षका लागि कास्की कारागारमा छन् ।

प्रहरीले गरेको अनुसन्धान र जिल्ला अदालतमा दिएको बयानका क्रममा उनीहरुले पूर्वअध्यक्ष तथा संरक्षक गितेन्द्रबाबु (जीबी) राईकै योजना र निर्देशन अनुसार काम गरेको बताएका छन् ।

सहकारीका पूर्व सञ्चालक तथा लेखा समिति सदस्यसमेत रहेका शिवबहादुर गुरुङले ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया प्रालिलाई सहकारीले ३० करोड रुपैयाँ तमसुक गरेर दिएको बयान दिएका छन् ।

जिल्ला अदालतमा दिएको बयानमा गुरुङले पोखरा लेकसाइडमा ओजन डिस्को, ट्रेजर लाउञ्ज बार र ओजन एक्सपिडिसन ट्राभल सञ्चालनमा रहेको र नेक्सस म्युजिक बार सञ्चालनको तयारी भइरहेको पनि बयान दिएका छन् । उनले सहकारीमार्फत आफ्नो नाममा देखिएको घर पनि जीबीसँग नै किनेको बताएका छन् ।

थुनामै रहेका कोषाध्यक्ष कुमार रम्तेलले भने उक्त घर सहकारीकै पैसाले किनिएको बयान दिएका छन् । पोखरा महानगरपालिका–४ मा सूर्यदर्शन सहकारीको कार्यालय रहेको घर अहिले पनि शिवबहादुर गुरुङकै नाममा छ । कोषाध्यक्ष रम्तेलले सहकारी संस्थाको कार्यालय रहेको घर सहकारीकै लगानीमा जीबीको नाममा जग्गा खरिद गरी बनाइएको बयान दिएका छन् ।

शिवबहादुर (महेन्द्र भोटे) को नाममा नामसारी गरेर उक्त जग्गा बैंकमा धितो राखी ऋण लिएर घर बनाइएको र हालसम्म बत्ती, पानीको पैसा जीबीकै नाममा सहकारीले नै भुक्तानी गरिरहेको रम्तेलले बयान दिएका छन् ।

रम्तेलले २०६२/०६३ सालतिर आफू गोर्खा आयुर्वेदिक कम्पनीको मार्केटिङ अफिसरको रुपमा पोखरा आएर काम गर्न थालेपछि जीवीसँग भेट भएको र उनले बोलाएर सहकारुीमा आवद्ध गरेको र २०७४ सालमा कोषाध्यक्ष बनेको बताएका छन् । सहकारीको कोषाध्यक्ष हुँदा आफूले वित्तीय पाटोमा ध्यान दिन नसकेको उनले बयानमा स्वीकार गरेका छन् ।

रम्तेलले प्रहरीलाई दिएको बयानमा सहकारीकै पैसाले चितवनमा भूपेन्द्र राई, भक्तपुर र गोदावरीमा देवेन्द्रबाबु राई, पोखरा महानगरपालिका–४ मा शिवबहादुर गुरुङको नाममा घरजग्गा रहेको बयान दिएका छन् । त्यस्तै रुपन्देहीमा स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्रालि (जीबी राईसमेत सञ्चालक), सोही कम्पनीको नाममा मकवानपुर–७ ठिगनमा र कर्मचारी अलि सिद्धिकीको नाममा हेटौंडा–९ मकवानपुरमा जग्गा रहेको पनि रम्तेलले बयान दिएका छन् ।

रम्तेलले सहकारीको मूल धन घर जग्गासमेत बेचेर बचतकर्ताको रकम फिर्ता दिन थालेको पनि बयान दिएका छन् । सहकारीको साधारण सभाले बचतकर्ताको रकम फिर्ता दिन ४ महिनाको समय दिएको र त्यतिबेलासम्म पनि ठूला बचतकर्ताको रकम फिर्ता दिन नसकेको रम्तेलले बताएका छन् ।

सबैको रकम फिर्ता दिन नसकेपछि पोखरा महानगरसमेतमा उजुरी परेको र संस्था बन्द गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ । सहकारीको बिभिन्न संस्थाहरुमा लगानी रहेको र सो लगानी उठाउँदा बचतकर्तालाई फिर्ता दिन पुग्ने पनि बताएका छन् ।

‘यसमा सहकारीका पहिले पहिलेका सञ्चालक समितिले आफ्नो नाममा एडभान्स राखेको रकम उठाउन नसक्नु नै सहकारीमा समस्याको रुपमा रहेको छ’, रम्तेलले बयानमा भनेका छन् । बयानमा उनले पोखरा महानगरपालिकाले सहकारी बन्द गर्ने निर्णय गरेपछि वचकर्ताको रकम फिर्ता दिन नसकेको पनि दाबी गरेका छन् ।

सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीले २०७४ सालमा गृहमन्त्रालयको सचिवालय कार्यरत हुँदा तत्कालिन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशमार्फत जीबीलाई चिनेको र पछि जीबीले आफूलाई सहकारीको सञ्चालकमा राखेको बयान दिएका छन् ।

दर्लामी हाल रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्षसमेत हुन् । उनले जीबीसहिति सञ्चालक र पूर्वसञ्चालक मनोमानी हिसाबले चल्दा बचतकर्ताको पैसा डुबेको बयान दिएका छन् ।

दर्लामीले २०७४/०७५ भन्दा पछि आफ्नो बसेको सहकारीको सञ्चालक समितिको बैठकमा आफू उपस्थित नभएको र माइन्युटमा आफ्नो हस्ताक्षर किर्ते गरिएको दाबी गरेका छन् । उनले माइन्युटमा भएको आफ्नो हस्ताक्षर परीक्षण गर्न पनि माग गरेका छन् ।

सहकारी डुब्नुमा प्रमुख भूमिका अध्यक्ष, व्यवस्थापक र कोषाध्यक्षलगायतले पारदर्शी ढंगले काम नगर्नु रहेको दर्लामीले बताएका छन् ।

पूर्वसञ्चालक भविश्वर अर्यालले २०७२ साल चैत १० गतेदेखि सफ्टवेयर निर्माणको लागि गोर्खा वेभ लिंक प्रालिमा नियुक्त भएको र त्यसैका सिलसिलामा तालिम दिन पोखरा आएको जिल्ला अदालतमा बयान दिएका छन् ।

उनले गोर्खा वेभ लिंकमार्फत सफ्टवेयर डेभलपरका रुपमा २०७९ असोजसम्म पूर्ण रुपमा काम गरेको र त्यही बेला आफूलाई डमी सञ्चालक सदस्य बनाइएको बयान दिएका छन् । जीबी र अहिलेका अध्यक्ष थानबहादुर बुढामगरको मिलेमतोमा आफूलाई सदस्य बनाइएको र आफूले प्रहरीमा उजुरी परेपछि मात्र त्यसबारे थाहा पाएको दाबी गरेका छन् ।

‘म सो संस्थामा सफ्टवेयर डेभलपरको हैसियतले भन्दा जम्मा भएका निक्षेप सहकारीको संरक्षण गितेन्द्रबहादुर राई र हालका अध्यक्ष थानबहादुर बुढामगरको संलग्नतामा पेश्की ऋण, पेश्की मिलानसमेत गरी ग्यालेक्सी टेलिभिजन, होटल, रेस्टुरेन्टसमेतमा लगानी भएको सफ्ठवेयरमा देखिन्छ’, अर्यालले बयानमा भनेका छन् ।

पुर्पक्षका लागि जेल चलान भएकाहरुले दिएको बयान र जिल्ला प्रहरी कार्यालयमार्फत पोखरा महानगरले गराएर वित्तीय विश्लेषणले पनि छिटो पैसा कमाउने हेतुले सहकारीको रकम गैरकानुनीरुपमा प्रयोग गरेको देखाएको छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा लगानी गरेको देखिएको छ ।

जीबी राई समूहले नेटवर्किङ कम्पनीदेखि मिडियामा लगानी गरेको पाइएको छ । नेचर हब्स इन्टरनेसनल, नेचर नेष्ट, स्प्रिङउड, ग्रिजी स्पोन, गोर्खा ग्रुप अफ कम्पनीजस्ता सहायक कम्पनीमार्फत यो समूहले सहकारीको रकम चलाएको पाइएको छ ।

सहकारीको बचत रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा जीवी राईसहित १५ जना अझै फरार छन् । जीबीको समूहले पोखरामा २०६५ साल असार १ गते तदर्थ समिति गठन गरी सूर्य दर्शन सहकारी खोलेको थियो ।

सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङलाई पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ । त्यस्तै सञ्चालकहरुलाई ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?