+
+

प्राधिकरणले लाइन काटेको विरोधमा रूपन्देहीका १९ उद्योग बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १५:४१

२२ पुस, बुटवल । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा रुपन्देहीका उद्योगीले उद्योग नै बन्द गराएका छन् । लाइन काटिएका उद्योगमा पुनः बिजुली जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिने उद्देश्यले उनीहरूले १९ वटा उद्योग नै बन्द गराएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले ट्रंक लाइन महसुल नतिरेको भन्दै १३ पुसमा बुटवल–भैरहवा करिडोरका घराना फुड र सिद्धार्थ पेट प्लास्ट उद्योगको लाइन काटिदिएको थियो ।

२० पुससम्म ती उद्योगमा काटिएको लाइन निःशर्त जडान गर्न माग गर्दै उद्योगीहरुले प्राधिकरणको भैरहवा र नयाँ मिल वितरण केन्द्रमा १८ पुसमा ज्ञापनपत्र बुझाएका थिए ।

उद्योगीका मागप्रति प्राधिकरणले बेवास्ता गरेकाले करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिनु परेको अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका अग्रवालले विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको निर्देशन समेत अटेर गरी विना प्रमाण ट्रंक लाइन महसुल तिराउन खोजेर उद्योगमाथि ज्यादती गरेको आरोप लगाए ।

‘हामीले माग पनि नगरेको र प्रयोग पनि नगरेको ट्रंक लाइनको महसुल तिराउन खोज्नु अन्यायपूर्ण भएकाले कानुनी उपचारमा गएको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला लाइन काटिनु उद्योगमाथि ज्यादति हो,’अग्रवालले भने, ‘उद्योगहरुले माग गरेको र प्राधिकरणले आपूर्ति गरेको टीओडी मिटरको प्रमाण भए महसुल तिर्न तयार छौं, तर टीओडी मिटरविना छुट महसुल भन्दै ४ वर्षपछि ट्रंक लाइनको बिलिङ गर्नु सरासर गलत र गैरकानुनी छ ।’

प्राधिकरणको एकलौटी निर्णयका कारण उद्योग व्यवसायमा ठूलो असर परेको र सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन समेत प्रभावित हुने अग्रवालले बताए ।

उद्योगमाथि प्रयोग नै नगरेको महसुल तिराउन खोज्ने र लाइन काट्ने परिपाटीले आयात र निर्यातको असन्तुलन झनै बढ्ने अग्रवालले बताए ।

उद्योगीहरुले प्राधिकरणको भैरहवा वितरण केन्द्रलाई आइतबार पुनः ज्ञापनपत्र बुझाउँदै अदालतको फैसला नआउँदासम्म काटिएका उद्योगको लाइन जडान गर्न र थप उद्योगको लाइन नकाट्न माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउनुअघि उद्योगी र मजदुरले कार्यालय अगाडि प्लेकार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए । लाइन जडान नभएसम्म करिडोरका १९ वटा उद्योग बन्द रहने र यसले तीन हजार मजदुरको रोजगारी प्रभावित हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

ट्रंक लाइन उपभोग गरेको भए टीओडी मिटर दिएको हुनुपर्ने र लकसिटमा खपत भएको परिमाण उल्लेख हुनुपर्नेमा त्यो दुवै नभएकाले उद्योगीहरुले उपभोग नगरेको लाइनको महसुल तिर्न नसक्ने पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

विरोध प्रदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा,रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष माधव पौडेल, उद्योगी विनय अग्रवाल लगायतले सरकारले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धन गर्नुको साटो निरुत्साहित बनाएको गुनासो गरे ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले उद्योगीको माग केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रबाट आउने निर्देशन उद्योगीलाई जानकारी गराउने बताए ।

प्राधिकरणले यस क्षेत्रका उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंक लाइनमार्फत बिजुली उपयोग गरेको भन्दै ४ वर्षपछि २०७६ फागुनमा ६६.६७ प्रतिशत बढी महसुल भुक्तानी गर्न भनेको थियो ।

यी हुन् बन्द भएका १९ उद्योगः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?