२४ पुस, काठमाडौं । नेपालमा पहिलोपटक राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप हुने भएको छ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा वागमती प्रदेश बेसबल संघको सहआयोजनामा दुई दिने प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता बुधवार र बिहीवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ । सो प्रतियोगिताको तयारी पनि पूरा भएको संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिनुभयो ।
नेपालमा सन् २०२३ देखि खेल्न सुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो । पहिलो संस्करणमा सात वटा प्रदेशका टिमहरूले प्रतिष्पर्धा गर्नेछन् ।
प्रत्येक टिममा आठ जना खेलाडी र दुई अफिसियल गरी कुल १० जना सदस्य रहनेछन् । सो टिममा दुई जना महिला खेलाडी अनिवार्य हुनुपर्नेछ । पाँच जनाको प्लेइङ सेटमा भने एक महिला खेलाडी अनिवार्य गरिएको संघले जनाएको छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ । डब्लुबिसिएसीको नियमअनुसार पाँच इनिङको खेल हुनेछ ।
प्रत्येक समूहका दुई वटा टोलीलाई सुपर राउण्ड रोविनका गराइनेछ । त्यहाँबाट सेमिफाइनल र फाइनल खेलाइने संघले उल्लेख गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन् ।
संघका अध्यक्ष दीपक न्यौपानेले सात वटै प्रदेशको टोलीलाई प्रदेश छनोटबाट राष्ट्रिय प्रतियोगितामा समावेश गरिएको बताए ।
प्रतिक्रिया 4