+
+

५ दिनदेखि पोखराको फोहोर बाटोमै

व्यक्तिको जिद्दी अगाडि निरीह महानगर !

विकास रोकामगर विकास रोकामगर
२०८० पुष २५ गते २०:००

२५ पुस, पोखरा । पोखरा महानगरको फोहोर नउठ्दा शहरी क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएको ठेकेदारले भुक्तानी नपाएको भन्दै काम रोकेपछि ५ दिनदेखि फोहोर उठ्न छोडेको हो ।

महानगरको अस्थायी ल्यान्डफिल साइट व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुद्धिमान गुरुङले त्यहाँ प्रयोग भएको आफ्नो एस्क्काभेटरको भाडा र इन्धनको इन्धन रकम नपाएको भन्दै फोहोर फाल्न रोक लगाएका हुन् ।

महानगर सरसफाइ शाखा प्रमुख कल्पना बरालका अनुसार गुरुङलाई एस्क्काभेटरको भाडा र इन्धनको मूल्यवापत करिब १२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । उनले महानगरबाट प्रक्रियागत रुपमा जाँदा भुक्तानी दिन ढिलाइ हुने भएकाले भुक्तानी रोकेको भन्न नमिल्ने दाबी गरिन् ।

‘हामीले भनेरमात्रै हुँदैन । सरकारी प्रक्रिया पूरा गरेरमात्रै भुक्तानी दिने हो’, उनले अनलाइनखबरसँग भनिन्, ‘नियमको कुरा हो । लेनदेनको पनि आफ्नै प्रक्रिया हुन्छ । ढिलोचाँडोको कुरो हो ।’

बरालले फोहोर छिटो उठ्न सक्ने गरी आन्तरिक प्रक्रिया सुरु गरिसकेको बताइन् । ‘फोहोर रोक्यो भने माग पूरा भइहाल्छ भन्ने बुझाइ बन्दै गएको छ । फोहोर व्यवस्थापन महानगर एक्लैले गर्न सक्दैन सबैले साथ सहयोग गर्नुपर्ने हो,’ उनले भनिन् । उनका अनुसार पोखरामा दैनिक २०० टनभन्दा बढी फोहोर संकलन हुँदै आएको छ ।
किन पटकपटक उठ्न छोड्छ पोखराको फोहोर ?

गतवर्षदेखि पोखरा ३२ लामेआहालमा अस्थायी ल्यान्डफिल साइट सञ्चालनमा आएको थियो । स्थानीयबासिन्दासँग १६ बुँदे सहमति गरेर सेती किनारमा फोहोर फाल्ने सम्झौता भए पनि एक वर्षको बीचमा दर्जनौं पटक फोहोर फाल्न अवरोध भइसकेको छ ।

लामेआहालमा फोहोर फाल्न अवरोध पु¥याउने पहिलो कारक हुन्, बुद्धिमान गुरुङ । उनी लामेआहाल अस्थायी फोहोर व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । उनी आफैंले लामेआहाल व्यवस्थापन गर्ने ठेक्का लिएका छन् ।

अस्थायी ल्यान्डफिल साइट व्यवस्थापन गर्ने ठेक्का लिएका उनै गुरुङको कारण पोखराको फोहोर उठ्न छाडेको यो पहिलो पहिलो घटना भने होइन । यही वर्षमै पनि उनकै कारण पटकपटक फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ ।

यसअघि जेठ अन्तिम साता पनि अस्थायी ल्यान्डफिल साइट व्यवस्थापनको जिम्मा लिएका गुरुङले भुक्तानी नपाएको भन्दै काम रोकेका थिए । उनले त्यतिबेला फागुनदेखि वैशाखसम्मको भुक्तानी नपाएको दाबी गरेका थिए । गुरुङ नेपाली कांग्रेसका नेतासमेत हुन् ।

गुरुङले यसरी भुक्तानी नभएको कारण देखाउँदै पटकपटक महानगरको फोहोर फाल्न रोक्दै आएका छन् । तर, महानगर विवश छ । महानगरले गुरुङसँग ०७९ पुसदेखि पोखरा ३२, लामेआहाल सेती किनारमा फालेको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार महानगरले एस्क्काभेटरको मासिक ४ लाख भाडा तिर्ने र इन्धन घन्टाको हिसाबले दिने उल्लेख छ ।

यसअघि पोखरा महानगरले पोखरा १४, बच्छेबडूवामा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएसँगै नजिकै रहेको ल्यान्डफिलमा उड्ने चराका कारण दुर्घटना जोखिम हुने भन्दै लामेआहाललाई अस्थायी ल्यान्डफिल तोकिएको हो ।

सुरुमा महानगरले लामेआहालमा ६ महिनामात्रै फोहोर फाल्ने र त्यसपछि विकल्प खोजेर स्थायी ल्यान्डफिल बनाउन स्थानीयबासिन्दासँग महानगरले मौखिम सहमति गरेको थियो । तर, ६ महिना बित्दा पनि महानगरले नयाँ ल्यान्डफिल साइटको विकल्प नखोजेको र लिखित सम्झौता पनि पूरा नगरेको भन्दै स्थानीयबासिन्दा आन्दोलित बने ।

आन्दोलित स्थानीयले सम्झौताबमोजिम काम नभएको भन्दै साउन दोस्रो साता १२ दिनसम्म महानगरको फोहोर बोक्ने गाडी चल्नै दिएनन् । ६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोक लगाएका थिए ।

लामो समयसम्म सडकमा थुप्रिएका फोहोर नउठेको र वर्षातले गर्दा दुर्गन्ध झनै फैलिएको भन्दै सर्वत्र विरोध हुन थालेपछि महानगरले मुख्य बजार क्षेत्रको फोहोर उठाउँदै पोखरा ९, शान्तिवनमा रहेको दमकल कार्यालयमा खाल्डो खनेर पुर्न सुरु गरिसकेको थियो ।

यसबीचमा महानगर मेयर, उपमेयरसहित आन्दोलित स्थानीयसँग पटकपटक बसेको बैठक सहमतिमा पुग्न सकेन । पछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा अध्यक्षतामा सरोकारवाला निकायसँग बैठक बसेर नै बल प्रयोग गरेरै भए पनि लामेआहालमै फोहोर फाल्ने निष्कर्षमा महानगर पुग्यो ।

पछि महानगरले बल नै प्रयोग गर्ने भएपछि आन्दोलित स्थानीय केही लचक बने । उनीहरुसँग महानगरले साउन २५ गते पुनः १४ बुँदे सहमति गर्दै लामेआहालमै फोहोर फाल्न दिन राजी भए ।

नयाँ सम्झौताअनुसार फोहोर व्यवस्थापन गरिएको क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गर्ने, फोहोरका गाडीहरु बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ल्याडफिलमा प्रवेश गरिसक्नुपर्ने र त्यसपछि तत्कालै माटोले फोहोर पुर्ने, फोहोर विसर्जन स्थलबाट दुर्गन्ध नआउने गरी कीटाणुनाशक औषधि छर्किनुपर्ने, फोहोर वर्गीकरणबिनै व्यवस्थापन गर्ने र कवाडीजन्य पदार्थ संकलन गर्न रोक लगाउने, प्रभावित क्षेत्रका स्थनीयको स्वास्थ्य बिमा गरिनेलगायत बुँदा उल्लेख छन् ।

फोहोर बोकेका गाडी नै रोक लगाएर आन्दोलित हुनुको पछाडि भने ल्यान्डफिल व्यवस्थापनको जिम्मा लिएका उनै बुद्धिमान गुरुङ थिए । उनकै छविका कारण फोहोर व्यवस्थापन विवाद गिजोलिएको थियो । महानगरले सुरुमा लामेआहालमा अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न २ जना स्थानीयलाई रोजगार दिनुपर्ने सहमति गरेको थियो ।

तर, उक्त सहमतिअनुसार स्थानीयलाई रोजगार दिनुको साटो लामेआहाल फोहोर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनै गुरुङले आफ्नो छोरा र सालो नाता पर्ने २ जनालाई भर्ती गरेको भन्दै स्थानीय रुष्ट थिए । समिति गठन गर्दा पनि आफूखुसी गरेको र समितिलाई महानगरले दिने रकम पनि हिनामिना गर्दै आएको स्थानीयको आरोप थियो ।

आफ्नै अगुवाइमा लामेआहालमा अस्थायी ल्यान्डफिल बनाउन भूमिका खेलेका गुरुङले आफ्नै नेतृत्वमा व्यवस्थापन समिति बनाएका छन् । त्यसकै बलमा फोहोर व्यवस्थापन गर्न पनि उनकै स्काभेटर महानगरले भाडामा प्रयोग गरिरहेको छ । त्यसवापत तेलको मूल्यबाहेक मासिक ४ लाख रुपैयाँ पाउँछन् ।

पोखराको फोहोर व्यवस्थापनमा अवरोध भएको बारेमा कुराकानी गर्न लामेआहाल फोहोर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङ सम्पर्कमा आउन चाहेनन् ।

एस्क्काभेटरको भाडा र इन्धनमै करोड खर्च !

अस्थायी ल्यान्डफिल व्यवस्थापनको नाममा पोखरा महानगरले ०७९ पुसदेखि ०८० असारसम्ममात्रै एस्क्काभेटर भाडावापत गुरुङलाई ७१ लाख ८२ हजार रुपैयाँ बुझाइसकेको छ ।

अनलाइनखबरलाई उपलब्ध कागजातअनुसार हालसम्म ल्यान्डफिल व्यवस्थापनका लागि इन्धनमा २१ लाख २१ हजार रुपैयाँ खर्च गरिसकेको देखिन्छ । त्यसबाहेक अस्थायी ल्यान्डफिल साइटमा माटो पुर्न पनि हालसम्म ५४ लाख ७० हजार रुपैयाँ भुक्तानी दिइसकेको छ ।

‘अघिल्लो आर्थिक वर्षमा माटो प्रयोग भएको थिएन । तर, यो आर्थिक वर्षदेखि फोहोर माटोले पुर्न थालेदेखि त्यसमा पनि खर्च हुन थालेको छ,’ महानगर लेखा शाखाका एक अधिकृतले भने, ‘यो वर्ष सबैभन्दा बढी खर्च नै एस्क्काभेटरको भाडामा हुन जाने देखिन्छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?